२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमा काण्डः नर्सिङ काउन्सिलकी पूर्व सदस्य जिता बरालको नर्सिङ लाइसेन्स खारेज

ट्रमा काण्डः नर्सिङ काउन्सिलकी पूर्व सदस्य जिता बरालको नर्सिङ लाइसेन्स खारेज


काठमाडौं—दुई वर्षअघि ट्रमा भएको एक घटनामा विवादित बनेकी नर्स जिता बरालको नाम नर्सिङ काउन्सिलले दर्ता किताबबाट हटाएको छ । ९ बैशाखमा नर्सिङ काउन्सिलले जारी गरेको सूचनाअनुसार नर्स बरालको दर्ता नं. ८८९४ परिषद्को दर्ता किताब हटाइएको छ ।

नर्सिङ काउन्सिलको सदस्य रहेकै बखब २०७७ असोज ६ मा ट्रमा सेन्टरमा बरालले जथाभावी गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएसँगै ट्रमा सेन्टरका तत्कालीन नि. प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले काउन्सिललाई आवश्यक कारवाहीका लागि पत्र पठाएका थिए ।

डा. पौडेलको उक्त पत्रपछि काउन्सिलले छानविन प्रक्रिया अगाडि बढाएको थियो । छानविनका क्रममा व्यवसायिक आचारसंहिता उल्लंघन गरेको पाइएको थियो । सोही छानविनलाई आधार मानेर काउन्सिलको १३ चैत २०७८ मा बसेको बैठकले उनको दर्ता किताबबाट नाम हटाउने निर्णय गरेको हो ।

के भएको थियो घटना ?

६ असोज २०७७ नेपाल नर्सिङ काउन्सिलकी तत्कालीन सदस्य बरालले राष्ट्रिय ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हंगामा गरेकी थिइन् । बराल जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याएपछि उनको समर्थन गर्न ट्रमा सेन्टर पुगेकी थिइन् ।

त्यहाँ उनले  इमर्जेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याकेर फुटाउने गरेकी थिइन् ।

उनको इमर्जेन्सी कक्षमा गीत गाउने, नाच्ने, अश्लील शब्द प्रयोग गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गर्नेलगायतका अभद्र व्यवहार गरेको भिडियो बाहिरिएको थियो ।

बरालले हंगामा गरेको खबरसँगै पुगेको प्रहरी टोलीलाई उनले बलात्कारी भनेर पटक-पटक भनेकी थिइन् । सो घटनालाई लिएर छानविन माग गर्दै ट्रमा सेन्टर नर्सिङ काउन्सिललाई पत्र पठाएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ