२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमहानगरको कमाण्ड लिन तम्सिएका रक्तदाता प्रेमसागर, भन्छन्, ‘वृद्ध-वृद्धालाई घर घरमा उपचार, नि:शुल्क रगत’

महानगरको कमाण्ड लिन तम्सिएका रक्तदाता प्रेमसागर, भन्छन्, ‘वृद्ध-वृद्धालाई घर घरमा उपचार, नि:शुल्क रगत’


काठमाडौँ – काठमाडौंमा रगत चाहिएमा सबैभन्दा पहिले सम्झने नाम हो—प्रेमसागर कर्माचार्य । जुनसुकै परिस्थितीमा पनि आवश्यक रगत जोहो गरिदिने र झन्झट नमान्ने उनको शैली उपत्यकामा निकै लोकप्रिय छ । रक्तदाताको रुपमा परिचित तिनै-प्रेमसागर आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मदेवार बनेका छन्। देशको कुनाकाप्चामा गएर रक्तदान गर्ने र अरुलाई पनि गराउन प्रेरित गर्ने उनले धेरैको मन जितेका छन् ।

सामजिक कार्य गर्दागर्दै राजनीतिमा प्रवेश के-का लागि भन्ने प्रश्नमा उनी भन्छन्, ‘समाजसेवा हामीले निरन्तर गरिरहेका छौं। म राजनीति पनि एउटा समाजसेवा गर्ने थलोको रुपमै बुझ्छु।’ आफूले विश्वास गरेर बनाएको मेयरहरुबाट काम नभएकोले आफै जिम्मेवारी लिने दाैडमा लागेको उनले बताए।

‘राजनीति गर्नेहरुलाई हिजोका दिनमा हामीले साथ सहयोग गरेर पठाएको थियौं। विश्वास जगाएर काम गर्छु भनेर गएकाहरुमा उद्देश्य विपरित काम गर्नेहरुको हावी भयो। त्यसकारण सबैमा अब तपाइँ हामी नै मिलेर त्यस निकायसम्म पुग्नुपर्छ,’ उनले भने, ‘जनप्रतिनिधि भएर गएका व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न मात्रै लागिरहेको अवस्थामा अब हामीलाई यो स्वीकार्य छैन । विसंगति, विकृति रोक्न र महानगरपालिका कस्तो हुनुपर्छ भनेर देखाउनका लागि साथीभाइको सुझाव, समर्थनमा चुनावमा मेयरमा आफ्नो उम्मेद्वारी दिएको छु ।’

आफू उम्मेद्वार भएपछि कल्पना नै गर्न नसक्ने हौसला, साथ र सहयोग पाएको उनी बताउँछन्। फेसबुक अकाउन्ट आफ्नो नभएपनि सामाजिक सन्जालमा समर्थन गरेको देख्दा झनै आत्मविश्वास बढेको उनको भनाइ छ।  ‘प्रचारले मात्रै हो भने त म विजय नै भैसकेको जस्तो लाग्छ। यस्तो सहयोगले म आधिकारिक ठाउँमा पुगे भने म मेयर हैन आम नगरवासी सबै मेयर भएको अनुभूति दिलाउन सक्छु,’ उनी भन्छन् ।

मेयर नहुँदा पनि रक्तदानमा के कस्तो सकिन्छ भनेर लागि रहेको हुँदा मेयर पदमा पुगे रक्त व्यवस्थापन गरेरै छाड्ने उनले बताए। स्वास्थ्यको तर्फमा महानगरवासीहरुलाई उपचारका क्रममा आवश्यक रगत र रक्त तत्वहरुको नि:शुल्क गर्ने, सिंगो महानगरलाई स्वस्थ बनाउन योग, व्यायाम स्थल बनाउने, नि:शुल्क स्वस्थ पिउने पानीको व्यवस्था गराउने र दीर्घरोगका बिरामीको परीक्षण घर-घरमै पुगेर गर्ने जस्ता कुराहरु आफू मेयर भएपछि गर्ने उनी दावी गर्छन्।

रक्तदाता कर्मचार्य इच्छुमती टोल उपभोक्ता समितिको आध्यक्ष पनि हुन्। उनले अहिलेसम्म १६९ पटक ठाउँ-ठाउँमा पुगेर रगतदान गरिसकेका छन्। प्रेमसागर रगत दिएकै कारण स्वस्थ भएको बताउँछन् । ‘पटक-पटक रगत दिने गरेको कारणले नै म अहिलेसम्म सिटामोलसमेत खान परेको छैन। म आफूलाई यसैकारण स्वस्थ महसुस गर्छु। स्वास्थ्यले साथ दिएसम्म रगत दिने सोच छ,’ उनले भने।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ