२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जको चुनावी कमाण्ड ‘तीन डाक्टर’का काँधमा

नेपालगन्जको चुनावी कमाण्ड ‘तीन डाक्टर’का काँधमा


नेपालगञ्ज–यसपटकको निर्वाचनमा नेपालगञ्जमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाबीच चुनाबी प्रतिस्पर्धा छ । गठबन्धनबाट कांग्रेसका प्रशान्त विष्ट, एमालेबाट पशुपतिदयाल मिश्रा र राप्रपाबाट नन्दलाल वैश्य चुनावी मैदानमा छन् ।

तीनै जना उम्मेदबारको चुनावी रणनीतिको मोर्चा भने तीन जना डाक्टरले सम्हालेका छन् । डाक्टरहरु यतिबेला खुबै व्यस्त छन् । उनीहरुको व्यस्तता बिरामीको उपचार गर्न होइन्, कि आफ्नो उम्मेदवारलाई जिताउनका लागि भइरहेको छ । चुनावी मोर्चा सम्हालेका तीनमध्ये दुई जना मेडिकल डाक्टर हुन् । अर्का एकजना भने राजनीतिशास्त्रका पीएचडी होल्डर डाक्टर हुन् ।

चुनावी माहोलसँगै नेपालगन्जका तीन डाक्टरहरुलाई भ्याइनभ्याइ छ । चुनावी कार्यक्रम, घरदैलो र मतदाता शिक्षादेखि चुनाबी रणनीति बनाउन उनीहरु ब्यस्त छन् । नेपाली कांग्रेसको उपमहागरको चुनावी कमाण्ड डा. सुरेशकुमार कनोडियाले सम्हालेका छन् भने एमालेको कमाण्ड डा. ओमप्रकाश मिश्राले सम्हालेका छन् ।

त्यसैगरी राप्रपाको कमाण्ड डा. धवलशमशेर राणाले सम्हालेका छन् । डा. कनोडिया र डा. राणाले बाहिरी मोर्चामा देखिएर काम गरिरहेका छन् भने डा. मिश्राले लो–प्रोफाइलमा बसेर चुनावी मोर्चा सम्हालिरहेका छन् ।

नेपालगन्ज मेडिकल कलेजका मालिक डा. कनोडिया कांग्रेसका महासमिति सदस्य हुन् । मेयरको टिकटका लागि अन्तिमसम्म लागि परेका डा. कनोडिया टिकट नदिएर नेपाली कांग्रेसले मेयरको चुनाव जिताउने कमाण्डर बनाइदिएको हो । डा. कनोडिया वि.सं. २०७४ सालको चुनावमा नेपालगन्जको मेयरका उम्मेदवार थिए । राप्रपाका डा. धवलसँग पराजित भएका थिए । पार्टीबाट संघमा पटक–पटक समानुपातिकको लिष्टमा पर्दै आएपनि उनले सांसद हुने अवसर भने पाएका छैनन् । मेयरमा प्रशान्तलाई जिताएपछि पार्टीले सांसद बनाइदिने आवश्वान दिएपछि डा. कनोडियालाई निर्वाचन परिचालन कमिटिको संयोजक बनेर चुनावी मोर्चा सम्हालिरहेका छन् ।

डा. राणा राप्रपाका महामन्त्री र नेपालगञ्जका मेयरसमेत हुन् । डा. राणा आफ्नो पार्टीको मेयरका उम्मेदवार नन्दलाल बैश्यलाई जिताउन रातदिन खटिरहेका छन् । आफ्नो विरासत जोगाउन डा. राणाको दौडधुप निकै बढेको छ । बैश्यले जित्नु र हार्नुमा डा. राणाको जीत र हारसँग जोडिएको छ । वि.सं. २०७४ सालको निर्वाचनमा डा. कनोडियालाई हराएर मेयर बनेका डा. धवल र उनका उम्मेदवारलाई चुनावी कमाण्डरको रुपमा यसपाली पनि डा. कनोडियाले टक्कर दिइ रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीबीएस गरेका डा. ओम एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रलाई जिताउने अभियानमा जुटेका छन । एमालेले चुनावी कमाण्डर पार्टीका केन्द्रिय सदस्य हारुन हलवाइलाई बनाएको भएपनि च्ुनाबी व्यवस्थापनको भित्री कमाण्ड भने डा. मिश्राले सम्हालेका छन् । डा. मिश्रा उम्मेदवार मिश्राका छोरा हुन् ।

प्रत्यक्ष रुपमा राजनीतिमा सक्रय नभएपनि डा. मिश्राले आफ्नो बुवाको च्ुनावी अभियानलाई प्रभावकारी बनाउनका लागि रातदिन खटिदै आएका छन् । यस पटकको चुनावी अभियानमा डा. मिश्राले महत्वपूर्ण भूमिका खेल्दै आएका छन । तीन ठूला पार्टीको उम्मेदवारको बाहिरी या भित्री कमाण्ड तीन डाक्टरले सम्हालेको विषयले नेपालगञ्जमा चर्चा पाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ