२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलामखुट्टे नियन्त्रण चुनावी मुद्दा

लामखुट्टे नियन्त्रण चुनावी मुद्दा


नेपालगन्ज –नेपालमै सबैभन्दा बढी गर्मी हुने सहर हो—नेपालगन्ज । गर्मी हुने सहरमा लाखुट्टेको बिगबिगी हुन्छ । यस पटकको स्थानीय तहको निर्बाचनमा नेपालगन्जमा लामखुट्टे नियन्त्रण पनि चुनावी मुद्दा बनेको छ । एमालेका मेयरका उम्मेदबार पशुपति दयाल मिश्रले लामखुट्टे नियन्त्रण पनि चुनावी मुद्दा बनाएका छन् ।

लामख्ट्टेका कारण धेरै रोग लाग्छ । मलेरिया, डेंगु, हात्तीपाइले र जापानिज इन्सेफ्लाइटिसजस्ता रोगको मुख्य कारण लामखुट्टेको टोकाइ हो । नेपालगन्जवासीका लागि यी रोगहरु जनस्वास्थ्य समस्या हुन् । यति ठूलो जनस्वास्थ्य समस्या निम्त्याउने लामखुट्टे नियन्त्रणको विषय पहिलोपल्ट चुनावी एजेन्डा बनेको हो ।

एमालेका नेपालगन्ज उप–महानगरपालिकाका मेयरका उम्मेदवार पशुपतिदयाल मिश्रले लामखुट्टे नियन्त्रणको मुद्दालाई प्राथकितामा राखेका छन् । लामखुट्टेको बिगबिगीका कारण निम्तिएको जनस्वास्थ्य समस्यालाई नियन्त्रण गर्न सके नेपालगन्जका गरिब तथा विपन्न नागरिकहरु लाभान्वित हुन सक्छन् । लामखुट्टे नियन्त्रण गर्नका लागि सरसफाइका साथै ढल निकासको राम्रो ब्यवस्था अपरिहार्य हुन्छ । नेपालगन्जलाई सफा शहर बनाउन सक्दा केही हदसम्म लामखुट्टे नियन्त्रण गर्न सकिन्छ । सफा हराभरा सहर अर्थात किलिन तथा ग्रीन नेपालगन्जको अवधारणाका साथ सहरलाई ब्यवस्थित बनाउने उनको योजना छ । मिश्र भन्छन्, ‘इच्छा भयो भने केही वर्षभित्रै नेपालगन्जलाई सफा हराभरा बनाउन सकिन्छ ।’

कुनै उम्मेदवारले नउठाएको मुद्दा उठाएपछि मिश्र चर्चामा आएका छन् । ठूल्ठूला मुद्दा उठाउने र कामै नगर्ने प्रवृत्ति बढेका बेला सहरिया गरिब जनताको प्रमुख समस्याको रुपमा रहेको लामखुट्टे नियन्त्ररणको मुद्दालाई उठाएर मिश्रले मतदाताको मन जित्ने कोसिस गरेका छन् ।

अहिले चुनावी माहोल चलिरहँदा नेपालगन्जको तापक्रम ४० डिग्रीको आसपासमा छ । गर्मी र लामखुट्टे नेपालगञ्जको परिचयजस्तै बनिरहेको छ । त्यसमा सहर अर्को उपमा जोडिएको छ । सफासहर र लामखुट्टे नियन्त्रण गर्दा नेपालगञ्जलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन सक्छ । ठूल्ठूला योजनाका गफ दिनुभन्दा सबैजसो उम्मेदवारले सानो लाग्ने तर ठूलो रहेको समस्यालाई नियन्त्रण गर्ने मिश्राको योजनालाई स्थानीय बासिन्दाले सकारात्मक दृष्टिले हेरेका छन् ।

लामखुट्टे नियन्त्रणका लागि सरसफाइलाई प्रभावकारी बनाउने ढल निकासको प्रबन्ध मिलाउने र विषादी छर्कनदेखि गरिब तथा विपन्न नागरिकलाई झुल वितरण गर्ने उनको योजना छ ।

नेपालगञ्जमा नेपाली कांग्रेस र जसपाको गठबन्धनबाट मेयरमा प्रशान्त विष्ट र उपमेयरमा कमरुद्दिन राईले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । राप्रपाबाट नन्दलाल बैश्य मैदानमा उत्रिएका छन् । पूरानो मध्येको चर्चित यो शहरको बागडोर सम्हाल्न कस्सिएका उम्मेदवारहरुले ठूल्ठूला चुनावी एजेन्डाहरु अघि सारिरहेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा नेपालगञ्जमा त्रिपक्षीय भिडन्त नै देखिन्छ । ठूला र पूरा हुने सम्भावना नै कम भएका एजेन्डा सहितका प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवारहरु घरदैलो र जनतासँग भेटघाट गरिरहेका छन् । विहानदेखि साँझसम्म नेपालगञ्जका विभिन्न वडाहरुमा उम्मेदवारहरुको घरदैलो चलिरहेको छ । प्रतिबद्धता र आश्वासन बाँड्दै उम्मेदवारहरु घरदैलोमा पुगिरहेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ