काठमाडौँ – स्थानीय चुनावका दिन अत्यावश्यक सेवाका सवारी साधनलाई पास नचाहिने निर्वाचन आयोगले जनाएको छ । आयोगले एक विज्ञप्ति जारी गरी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको दिन अत्यावश्यक सेवाका सवारी साधनलाई पास नचाहिने जनाएको हो ।
आयोगका अनुसार निर्वाचनसम्बन्धी कुनै कार्यमा प्रयोग नहुने गरी एम्बुलेन्स, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन र शववाहनलाई आवश्यक पर्ने छैन।
त्यस्तै, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, फोहरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनुनपर्ने आयोगले जनाएको छ।
त्यस्तैगरी मंगलबार राति १२ बजेदेखि चुनाव कार्यक्रम समापन नहुने समयसम्मका लागि तोकिएका क्षेत्रमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय पनि आयाेगले गरेको छ।
‘स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि २०७९ वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि तोकिएका क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य सख्त निषेध गर्ने निर्णय आयाेगले गरेको छ, ‘विज्ञप्तिमा उल्लेख छ।