काठमाडौं—झण्डै ४ अर्ब बढी लगानीमा सञ्चालनमा आएको फ्रन्टलाइन हस्पिटलको सिओओमा भारतीय नागरिक सुरेशकुमारलाई ल्याइएको छ । पूरानो बानेश्वर ओरालोमा रहेको २ सय शैय्याको फ्रन्टलाइन अस्पतालको अध्यक्षका रुपमा समग्र कमाण्ड नवराज पाण्डेले गरेका छन् भने मेडिकल नेतृत्वमा चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेजका रुपमा बरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डे छन् ।
तर, अस्पतालको समग्र आन्तरिक अप्रेशन हेर्ने गरी सिओओमा सुरेशकुमारलाई नियुक्त गरिएको हो । ‘अस्पतालका अप्रेशनको सम्पूर्ण जिम्मेवारी हेर्ने गरी उहाँलाई ल्याइएको छ,’ अस्पताल सञ्चालक समिति स्रोतले भन्यो, ‘यसबाट अस्पताललाई अन्तर्राष्ट्रियस्तरबाट सञ्चालन गर्न र गुणस्तरीय सेवा प्रवाह गर्न टेवा पुग्ने विश्वास लिएका छौं ।’ अत्याधुनिक भौतिक पूर्वाधारसहित २६ वटा विभागबाट सेवा सञ्चालन गर्ने तयारी गरिरहेको फ्रन्टलाइनमा अन्य केही प्रमुख प्रशासनिक तथा प्राविधिक पोष्टहरुमा पनि भारतीय नागरिकहरु ल्याइएका छन् ।
अस्पतालको अप्रेशन थिएटर (ओटी) इन्चार्जमा अखिलेसकुमारलाई ल्याएको छ । सिएफओ भने जनकपुरका सिए आलम नियुक्त गरिएको छ । सिनियर बायोमेडिकल इन्जिनियर सुनिता भारती नियुक्त भएकी छन् भने मानव संशाधन (एचआर), नर्सिङ सुपरिटेन्डेन्टलगायतमा पनि भारतीय नागरिकलाई मुख्य जिम्मेवारी दिइएको बताइएको छ ।
‘अस्पतालको अप्रेशन हेर्न सुरेशकुमारको टिमलाई जिम्मेवारी दिइएको छ,’ अस्पतालका द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज डा. पाण्डेले भने, ‘अस्पतालको फाइनान्सियल पक्ष सञ्चालक समिति र क्लिनिकल लिडरसीप मेरो रहन्छ । उहाँहरुको टिमले अस्पतालको अप्रेशन हेर्नेछ ।’ डा. पाण्डेले उक्त टिमबाट आफूहरुले केही सिक्ने र आफूहरुले जानेको कुरा उक्त टिमलाई सिकाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
८ रोपनी क्षेत्रफमा रहेको फ्रन्टलाइन अस्पतालमा चिकित्सा शिक्षा र स्वास्थ्यका क्षेत्रमा दुई दशक बढी सक्रिय अध्यक्ष नवराज पाण्डेसहित पाँच जनाको लगानी छ । यही समूहले यसअघि सिनामंगलमा नोबेल अस्पताल सञ्चालन गरिरहेको थियो । उक्त अस्पताललाई नाम परिवर्तन गरेर नयाँ भवनमा सरेसँगै फ्रन्टलाइन बनाइएको हो ।
डाक्टर, नर्सिङ स्टाफ र कर्मचारी गरी अस्पतालमा झण्डै ५ सय बढी जनशक्ति रहने यसअघि अस्पतालका चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज डा. पाण्डेले हेल्थआवाजलाई जानकारी दिएका थिए । उनकाअनुसार अस्पतालमा ३० वेडको आईसीयु र ४ वटा शल्यक्रिया कक्ष सञ्चालन हुनेछन् । अस्पतालबाट लगभग सबै किसिमका विशेषज्ञ सेवाहरु प्रवाह हुनेछन् ।
यसअघि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको व्यवस्थापनको जिम्मेवारी पनि भारतीय समूह ‘लोसान्ते’ले सम्हालेको थियो । तर, दुई पटक ग्राण्डीको व्यवस्थापन सम्हालेको भारतीय समूह लामो समय टिक्न नसकेपछि ग्राण्डीबाट बाहिरिइसकेको छ । नेपालमा प्रमुख अस्पतालहरुमा सुरुवाती समयमा भारतबाट अनुभवी जनशक्ति ल्याएर अस्पतालको अप्रेशन अगाडि बढाउने चलन छ ।