काठमाडौं—सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत स्वास्थ्य बिमा बिमा कम्पनीमार्फत सञ्चालन गर्ने व्यवस्था राख्न खोजेपछि त्यसको व्यापक विरोध भएको छ । स्वास्थ्य बिमाको आधारभूत पक्ष नै नबुझेर बिमा कम्पनीमार्फत सञ्चालन गर्ने भन्ने आपत्तिजनक भएको बताएका छन् ।
सरोकारवालाहरुलाई स्वास्थ्य बिमामा निजी कम्पनी घुसाउने अर्थमन्त्रीको उक्त प्रयासको विरोध गरिरहेकै बेला तीन जना पूर्व स्वास्थ्यमन्त्रीहरुले पनि त्यसको विपक्षमा उभिएका छन् । बिहीबार बजेटबारे छलफलमा भाग लिदैं तीन जना पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, गगनकुमार थापा र गिरिराजमणि पोखरेलले बजेटमा राखिएको उक्त विषयको विपक्षमा उभिएका छन् ।
पूर्व स्वास्थ्यमन्त्री अधिकारीले आफू स्वास्थ्य मन्त्री हुँदा कार्यक्रमका रुपमा ल्याइएको स्वास्थ्य बिमामा प्राइभेट कम्पनी पोस्न खोजेको भन्दैं विरोध गरे । ‘हामीले स्वास्थ्य बिमा कार्यक्रम ल्यायौं । अर्थमन्त्रीले कानुन ल्याउन नदिएर स्वास्थ्य बिमा कार्यक्रममार्फत सुरु गरियो,’ उनले भने, ‘आज स्वास्थ्य बिमालाई के गरिदैंछ भने प्राइभेट कम्पनीमा दिइदैछ ।’
उनले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको भन्ने अर्थमन्त्रीको भनाइ पनि गतल रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७८÷७९ संघ, प्रदेश र स्थानीय तह गरी १ खर्ब ३३ अर्ब १ करोड (कुल बजेटको ८.१ प्रतिशत बिनियोजन) भएको बताउँदै आगामी आर्थिक वर्षका लागि तीन तहका लागि १ खर्ब ३ अर्ब ८ करोड बिनियोजन भएको बताए । ‘कुल बजेटको ५.७ प्रतिशत (२२ अर्ब ५२ करोड) कमी भएको छ,’ उनले भने । अधिकारीले जनताको स्वास्थ्यमा खेलवाड गर्दै सामाजिक कार्यक्रमका रुपमा रहेको स्वास्थ्य बिमामार्फत प्राइभेट लिमिटेड पोस्ने जनतामारा काम गर्न खोजेको आरोप लगाए ।
पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थ मन्त्रालय सुपर मिनिष्ट्री हो भनेर प्रश्न गरे । ‘अन्य मन्त्रालयले ल्याएको कार्यक्रमको आधारभूत कुरा नै अर्थ मन्त्रालय चलाउन पाउँछ ? अर्थ मन्त्रालय सुपर मिनिष्ट्री हो ?,’ उनले प्रश्न गर्दै भने ।
थापाले स्वास्थ्य बिमामा सामाजिक कार्यक्रम भएको बताए । ‘वर्षौ लगाएर हामीले स्वास्थ्य बिमाको एउटा अवधारणा बनाएका हौं । यही संसदमा मैले उभिएर प्रस्तुत गरेको कार्यक्रम हो,’ उनले भने, ‘हामीले त्यसका थुप्रै कामहरु गर्नुपर्नेछ । तर, यस पटक अर्थ मन्त्रालयले स्वास्थ्य बिमालाई बिमा कम्पनीमार्फत चलाउने भनेर ल्याइदियो ।’ थापाले कम्पनीमार्फत चलाउनु भनेको नेपालले अहिलेसम्म लिएको स्वास्थ्य बिमाको सामाजिक सुरक्षाको दृष्टिकोण नै नबुझ्नु भएको बताए ।
पूर्व स्वास्थ्यमन्त्री गिरिजाजमणि पोखरेलले स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरा कुनै कोणबाट हेर्दा पनि बुझ्न नसकेको बताए । ‘कम्पनीलाई दिने भन्ने कुरा कुनै कोणबाट हेर्दा पनि मैले बुझ्न सकेको छैन,’ उनले भने, ‘म पुनरावलोकन गर्न पनि आग्रह गर्छु । किनभने, यो युनिभर्सल कभरेजको कन्सेप्टबाट आएको हो । नाफा र नोक्सानको कोणबाट आएको होइन् ।’
उनले डब्लुएचओसँग गाँसिएर बनाइएका संरचना त्यससँग पनि मेल नखाने उनको भनाइ थियो । सामाजिक उत्तरदायित्वसँग गाँसिएको कुरा भएको बताउँदैं उनले यसको लाइन मिनिष्ट्री स्वास्थ्य मन्त्रालय भएको बताए । ‘यसलाई अर्थ मन्त्रालयतिर लान खोजेको जस्तो देखिएकोले यसले छलफलको माग गरेको छ,’ उनले भने ।