दोलखा – जनतालाई स्वास्थ्यमा सहज ढंगले पहुँच पु-याउनका लागि वडा कार्यालयले स्वास्थ्य शिविर आयोजना गरिएको छ । दोलखाको विगु गाउँपालिका वडा नं. ४ बुलुङमा वडा कार्यालय र स्वास्थ्य चौकीको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
स्वास्थ्य शिविरमा बुलुङकाबासीहरुले नि:शुल्क स्वास्थ्य परीक्षण गरेका थिए । एकदिने स्वास्थ्य शिविरमा २३४ जनाले स्वास्थ्य लाभ लिएका छन् । शिविरमा भिडियो एक्सरे ३६ जना, इसीजी ३ जना, ओपीडी २१४ जना र ल्याब ४५ जनाको परीक्षण गरिएको थियो ।
शिविरमा लक्षणको आधारमा २५ जनाको क्षयरोग परीक्षण गरिएको थियो । लक्षणहरु मिल्दाजुल्दा भए तापनि कसैलाई क्षयरोग नभएको डाक्टर सुजन खड्काले बताए । शिविरमा डाक्टर सुजन खड्का, डाक्टर ऋषिकेश चौधरी, डाक्टर सुदर्शन आचार्य, स्वास्थ्य चौकी प्रमुख सरोज आचार्य र फार्मसिष्ट मार्टिन खड्काले सेवा दिएका थिए ।
आफूले चुनावमा घोषणा गरेअनुसार जनतालाई नि:शुल्क स्वास्थ्य सेवा घरदैलोमै पु-याउने वडाअध्यक्ष ढाल बहादुर तामाङले बताए।