२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दैं विद्य ल्याबका सञ्चालक भण्डारी विरुद्ध मुद्धा दायर

६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दैं विद्य ल्याबका सञ्चालक भण्डारी विरुद्ध मुद्धा दायर


काठमाडौं-स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका झापाका पूर्व वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्धा दायर भएको छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धानले विद्य ल्याबका सञ्चालक समेत रहेका भण्डारी विरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

भण्डारी विरुद्ध ६ करोड २४ लाख ४ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ । भण्डारी विरुद्ध गैरकानुनी सम्पत्ति गरेको उजुरीपछि अख्तियारले उनीमाथि छानविन गरेको थियो ।

२०७३ असोज २१ मा वरिष्ठ व्यवस्थापन सहायक पदबाट सरकारी सेवा प्रवेश गरेका उनले १ साउन २०७७ सालमा स्वेच्छिक अवकास लिएका थिए ।

सरकारी जागिरमा प्रवेश पूर्वको सम्पत्ति, सेवामा प्रवेश गरेदेखि २०७८ पुससम्म भण्डारीले कमाएको सम्पत्तिमाथि, उनकी श्रीमतीको पारिश्रमिक वचत, कर्मचारी संचय कोषबाट लिएको ऋणसमेत गरी उनले २६ लाख ६१ हजार ३ सय ३६ रुपैयाँ कमाएको अख्तियारले जनाएको छ ।

तर, भण्डारीले यो अवधिमा जग्गा खरिद, विभिन्न बैक तथा हाइडोपावर कम्पनीको शेयर खरिद र विभिन्न बैंकमा समेत रहेको नगद मौज्दात गरी ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।

अख्तियारले भण्डारीले कमाएको २६ लाख ६१ हजार ३ सय ३६ रुपैयाँ उनको कुल सम्पत्ति ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ बाट घटाउँदा आउने रकम ६ करोड २४ लाख ४ हजार ६ गैरकानुनी रुपमा आर्जन गरेको ठहर गरेको छ । सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीबाट ६ करोड २४ लाख ४ हजार बिगो तथा कैद सजायको माग गर्दै मुद्धा दायर गरेको हो ।

हेर्नोस अख्तियारको विज्ञप्ति

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीउपर बिगो रु. ,२४,०४,००६।४४ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

प्रेस विज्ञप्ति:- मिति २०७९।०३।०३ गते ।
—————————————————-

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भिमकान्त भण्डारी मिति २०७३/०६/२१ मा रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरी मिति २०७७/०४/०१ मा स्वेच्छिक अवकाश भएको र सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा निज भिमकान्त भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा रु.२६,६१,६३६।०९ आय आर्जन गरेको, निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा रु. ६,५०,६५,६४२।५३ खर्च तथा लगानी गरेको तथा निजको कुल आय आर्जन रु. २६,६१,६३६।०९ मा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) रु.६,५०,६५,६४२।५३ घटाउँदा हुन आउने रु. ६,२४,०४,००६।४४ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको हुँदा निज भिमकान्त भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले निज भिमकान्त भण्डारीलाई बिगो रु. ६,२४,०४,००६।४४ (छ करोड चौबीस लाख चार हजार छ रूपैयाँ चौवालीस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद एवं बिगो बमोजिम जरिवाना हुन र त्यसरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफततर्फ ऐ. ऐनको दफा ४७ बमोजिम बिगो रु.६,२४,०४,००६।४४ निजको नाममा रहेको सम्पत्तिबाट रु.६,०६,४१,८१३।९१ र अपुग बिगो निजकै एकल स्वामित्त्वको कम्पनीहरूको बैंक मौज्दातबाट रु.१७,६२,१९२।५३ समेत जम्मा रु. ६,२४,०४,००६।४४ जफत गर्न मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ