दोलखा – कम्मरमुनिको भाग सम्बन्धि सर्वेक्षण गर्दा ८० प्रतिशत मानिसलाई घुँडाको समस्या देखिएको छ । मानिसको कम्मरमुनि २६ वटा प्वाइन्टमा विभाजन गरिएर सर्वेक्षण गरिएको थियो ।
प्राय मानिसको कम्मरमुनिकै भाग बढी मात्रमा समस्या आउने गर्दछ । १८ वर्षमाथिका उमेर समूहलाई विषेश गरेर खुट्टा निदाउने, झमझमाउने, चोटपटक लाग्ने, मांसपेशी दुख्ने, घाउ हुने, खुट्टा भाँचिने, मर्र्किने, खटिरा आउने र ठोकिने गर्दछ । यसको साथै घुँडामा बढी मात्रमा समस्या आउने गरेको एक सर्वेक्षणले देखाएको छ ।
युनिभर्सिटी अफ साउथह्याम्पटन र कृपा संस्थाको सहकार्यमा दोलखाको दुईवटा पालिकाको दुईवटा वडामा सर्वेक्षण गरिएको थियो । भीमेश्वर नगरपालिका–६ र मेलुङ गाउँपालिका–२ मा उक्त सर्वेक्षण गरिएको थियो ।
एक वर्षअघिदेखि सुरु गरिएको सर्वेक्षण पाँचसय घरधुरीको प्रत्येक परिवारको एक जनामा सर्वेक्षण गर्दा प्रत्येकमा समस्या देखिएको सर्वेक्षणमा उल्लेख गरिएको छ । समस्या देखिएका व्यक्तिसँग कुरा गर्दा फरक फरक तरिकाले समस्या भोग्दै आएको बताएका थिए ।
यस्ता समस्या विशेषगरी जन्मजात, नसासम्बन्धि समस्या, हाड र मांसपेशीको कारणले हुने गरेको सहभागीले बताएका थिए । नेपालमा मसल्स सम्बन्धि सन् २०१४ सर्वेक्षण गर्दापनि एक तिहाई मानिसमा कम्मरमुनिको समस्या देखिएको थियो । त्यत्तिबेला २३ लाख मानिसमा मसल्स सम्बन्धि सर्वेक्षण गरिएको थियो । २३ लाखको एक तिहाई भनेको लगभग ८ लाख हुन आउँछ ।
कम्मरमुनिका रोगको समस्या उमेर बढ्दै जाँदा समस्या पनि बढ्दै जाने गर्दछ । अझ् ७५ वर्ष उमेर कटेपछि कम्मरमुनिका रोगमा सोही अनुसार वृद्धि हुँदै जान्छ । जसको कारण हिड्डुल गर्न, धारामा पिउने पानी लिन जान नसक्ने, चर्पी टाढा हुँदा जान गाह्रो, घरयासी सानातिना काम गर्न पनि समस्या र गाउँघरमा रहेका त्यस्ता व्यक्तिलाई बढी मात्रमा समस्या आउने गरेको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै युनिभर्सिटी अफ साउथह्याम्पटनका डाक्टर अमोस चन्नोनले बताए ।
कम्मरमुनिको समस्याको बारेमा सर्वेक्षण गरिएको नेपालमै यो पहिलो पटक हो । उक्त युनिभर्सिटीले नेपालको दोलखा, लमजुङ र दाङ जिल्लामा पाईलट प्रोजेक्टको रुपमा सर्वेक्षण गरिएको थियो । दोलखा हिमाली, लमजुङ पहाड र दाङ तराई जिल्लाको रुपमा लिएको कृपाका कोडाईरेक्टर डाक्टर महेश पुरीले बताउनुभयो । देशको तीनवटा जिल्लाको दुई हजार पाँच सय २५ घरधुरीको पाँच सय जनामा सर्वेक्षण गरिएको थियो ।
कम्मरमुनिको भागमा देखिने यस्ता समस्या अधिक मात्रमा भएकाले जिल्लामै विशेषज्ञ डाक्टरको आवश्यकता रहेको पशुपति चौलागाई स्मृति अस्पतालका मेडिकल सुपरटेन्डेन डाक्टर सञ्जय उलकले जनाए । यस खालको प्रतिवेदन जिल्लाको लागि निकै गम्भिर रहेको हुनाले आगामी दिनमा जिल्लामा फिजिओथेरापी सेवाको व्यवस्था गर्ने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनालले प्रतिवद्धता जनाए । दोलखाको दुई वटा वडामा गरिएको सर्वेक्षण त यत्ति धेरै डरमर्दो रहेछ भने जिल्लाभरनै गर्ने हो भने झन् अत्यास लाग्दो हुनसक्ने भएकाले आफ्नो ध्यान यसतर्फ तानिएको प्रमुख उत्तम खनालले बताए ।
सोही कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेतले आफ्नै कार्यकालमा स्वास्थ्यलाई उचित प्राथमिकता दिने जानकारी दिए । ‘प्रतिवेदनले आफूलाई सचेत बनाएको हुनाले यस्ता खालका समस्यालाई गम्भिरतापूर्वक लिएको छु , ‘उनले भनिन्। त्यस्तै, मेलुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले बजेट तथा कार्यक्रम ल्याउने बेला भएकाले स्वास्थ्यलाई प्राथमिकता दिने बताए । सर्वेक्षण गरिएको परिवारमा पुगेर समस्या बुझ्ने र पालिकाले गर्न सक्ने सहयोग तत्काल आफू तयार रहेको उपाध्यक्ष आचार्यले जनाइन ।
कार्यक्रम हुराडेक नेपाल दोलखाले आयोजना गरिएको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रम हुराडेक नेपाल दोलखाका अध्यक्ष उद्धव प्रसाद पोखरेलको अध्यक्षतामा र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, गैरसरकारी संस्था महासंघका पूर्वकेन्द्रीय सदस्य होम पाठकले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।