काठमाडौँ – स्वास्थ्य बीमा गराए वापत रकम भुक्तानी नपाएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेज, मोरङको नोबेल मेडिकल कलेज र बिराटनगरको बिराट मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने तयारी गरेका छन् ।
बुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी ३ वटै अस्पतालले सरकारबाट बीमा सेवा दिएबापत भुक्तानी नपाएको भन्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने जनाएको हो ।
अस्पतालहरुले २०७८ मंसिरपछि बीमा कार्यक्रम वापतको रकम नपाएको भन्दै गुनासो गरेका छन् । बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बीमा बापतको ४५ करोड रुपैयाँभन्दा बढी लिन बाँकी रहेको बताएका छन् ।
त्यस्तै, नोबेल अस्पतालका प्रतिनिधि भीम चन्दले ५४ करोड भन्दा बढी रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरे । स्वास्थ्य बीमाको भुक्तानी १५/१५ गर्ने सम्झौता भएपनि लामो समयदेखि भुक्तानी नपाएको उनीहरुको भनाइ छ ।
यसअघि बिमितको सेवा वापत भुक्तानी नपाएको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको थियो ।
=