२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारराष्ट्रियसभामा सोमबार जवाफ दिएपछि राजीनामा गर्ने तयारीमा स्वास्थ्यमन्त्री खतिवडा

राष्ट्रियसभामा सोमबार जवाफ दिएपछि राजीनामा गर्ने तयारीमा स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौं—सरकारबाट फिर्ता हुन पार्टीभित्रबाटै तीब्र दबाब झेलिरहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा राष्ट्रियसभामा बजेटबारे उठेका सवालको जवाफ दिएपछि मात्रै राजीनामा दिने तयारीमा छन् । आइतबार पर्यटनमन्त्री प्रेमबहादुर आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रीबाट राजीनामा बुझाएतापनि खतिवडा भने सोमबार राष्ट्रियसभामा जवाफ दिएपछि मात्रै राजीनामा गर्ने भएका हुन् ।

‘सोमबार राष्ट्रियसभामा बजेटका विषयमा उठेका प्रश्नहरुको जवाफ दिएपछि मात्रै मन्त्रीज्यूले राजीनामा दिने तयारी छ,’ मन्त्री खतिवडाका स्वकीय सचिव माधव तिमिल्सिनाले भने, ‘मन्त्रीज्यू पहिलेदेखि नै बजेट पास भएपछि मात्रै राजीनामा दिने अडानमा हुनुहुन्थ्यो । अहिले पनि त्यही अडानमा हुनुहुन्छ ।’ राष्ट्रियसभामा स्वास्थ्य मन्त्रालयका विषयमा उठेका प्रश्नहरुबारे जवाफ दिन सोमबार स्वास्थ्यमन्त्रीलाई बोलाएको छ ।

राजीनामाका विषयमा मन्त्री खतिवडासँग जिज्ञासा राख्दा उनले त्यस विषयमा बोल्न चाहेनन् ।

एकीकृत समाजवादीले ८ महिनापछि पहिलो चरणमा मन्त्री भएकाले चार जना मन्त्रीलाई फिर्ता बोलाएको छ । जसमा स्वास्थ्यमन्त्री खतिवडासहित सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ रहेका छन् ।

स्वास्थ्यमन्त्री खतिवडालाई फिर्ता बोलाएर उनको ठाउँमा हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समक्ष सिफारिस गरिसकेको छ । यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसी सिफारिस भएका छन् ।

मन्त्री खतिवडासहित समाजवादीका मन्त्रीहरु आफूसँग सल्लाह नगरी अपमानजनक ढंगले फिर्ता बोलाइएको भन्दैं पार्टी अध्यक्ष माधवकुमार नेपालसँग असुन्तष्ट छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ