काठमाडौं—स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा २२ जेठमा सार्वजनिक गरेको इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टम टेण्डर प्रक्रियामै एकमात्रै कम्पनीलाई दिने गरी टेक्नीकल स्पेसिफिकेसन बनाएको भन्दैं तीन वटा कम्पनीले उजुरी दिएका छन् । ती तीन वटा कम्पनीले दिएको उजुरीलाई पनि व्यवस्थापन महाशाखाले सुनुवाई नगरेको भन्दैं उनीहरुले स्वास्थ्यमन्त्री भवानी खापुङलाई पनि पत्र पठाएका छन् ।
‘२२ जेठमा इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्टको ठेक्काको सूचना जारी गर्दा एकमात्र कम्पनीलाई दिने गरी ठूलो आर्थिक चलखेलमा टेक्नीकल स्पेसिफिकेसन सिन्डिकेट लगाई बनाइएको छ,’ स्वास्थ्यमन्त्रीलाई सम्बोधन गरेर २० असारमा लेखिएको पत्रमा छ, ‘सो सिन्डीकेटका विषयमा महाशाखामा टेक्नीकल स्पेसिफिकेसन रिजर्भडको लागि चिठी दर्ता गराउँदा समेत कुनै सुनुवाई भएन् र उक्त आर्थिक अनियमिततालाई रोकी कानुन सम्वत प्रतिस्पर्धा गर्न मिल्ने वातावरण बनाइदिन अनुरोध छ ।’
निवेदन दर्ता गर्ने कम्पनीमध्येका एक सञ्चालकले भने, ‘एउटा मात्र कम्पनीका लागि स्पेसिफिकेसन मिलाउँदा ७ करोड बढी चलखेल भएको छ । यदि हामीलाई स्पेसिफिकेसन मिलाएर खुला रुपमा प्रतिस्पर्धा गरेर ल्याउन दिने हो भने अहिलेको क्लोज स्पेश १९ करोड भनिएको छ, त्यो भन्दा ७ करोड कममा यो सिष्टम ल्याउन सकिन्छ ।’ उजुरी गर्ने कम्पनीहरुमा सेन्टल विजनेश लिंक प्रा.लि., एमआरएस इन्टरप्राइजेज र भण्डारी सर्जिल हाउस रहेका छन् ।
व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले अहिले सिष्टमका खरिदका लागि सूचना मात्रै निस्केको र अरु प्रक्रिया अगाडि बढिनसकेको बताए । ‘नोटिस निस्केको हो, भएको केही पनि छैन्,’ उनले भने, ‘हामीले नयाँ स्पेसिफिकेसन बनाएको होइन्, स्पेसिफिकिसन पुरानै बैंकबाट हालिदिएको हो । इस्यु आएको छ । ती सम्बोधन हुन्छ ।’ डा. मरासिनीले सप्लायर्सहरुले आफ्नो कम्पनीलाई ठेक्का नपर्दा आर्थिक चलखेलको आरोप लगाउने पूरानै तरिका भएको बताए । उनले टेण्डर प्रक्रियामा प्रगति हुन म्याद थप गरेकाले केही समय लाग्ने जानकारी दिए ।
व्यवस्थापन महाशाखाले तयार पारेको स्पेसिफिकेसनअनुसार टेण्डर प्रक्रियामा अगाडि बढेमा हस्पिटेक प्रा.लि.ले मात्र उक्त खरिद टेन्डर हात पार्छ । हस्पिटेक प्रा.लि. मेडिकल उपकरण सप्लायर्स विशाल पण्डितको कम्पनी हो ।