काठमाडौं—अक्सिजेनेटरको अभाव भएपछि मुटुका शल्यक्रिया प्रभावित भएका छन् । नेपालको प्रमुख मुटु अस्पताल गंगालाल हृदय रोग केन्द्रले अक्सिजेनेटर अभाव भएपछि इमर्जेन्सीबाहेकका मुटुका शल्यक्रिया स्थगन गरेको छ ।
‘नेपाल र भारतमा नै अक्सिजेनेटरको सर्टेज छ,’ गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भने, ‘यो हामी कहाँ मात्रै अभाव भएको होइन् ।’ डा. अधिकारीले अहिले अस्पतालले इमर्जेन्सीका लागि २÷३ वटा स्टकमा राखिएको बताए । बच्चाको लागि प्रयोग हुने अक्सिजेनेटर भने १५० वटा गंगालालसँग मौज्दात छ । अक्सिजेनेटर ओपन हार्ट सर्जरीमा प्रयोग हुन्छ ।
महमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले अक्सिजेनेटरको अभावको समस्या विश्वव्यापी भएको बताए । ‘अहिले संसारभर नै यसको अभाव भएको हो,’ सेन्टरका कार्यकारी निर्देशक डा. श्रेष्ठले भने, ‘हामीले भारतबाट ल्याउने हो । अहिले भारतमा पनि यसको अभाव छ । प्रोडक्सन नै कम भएर बजारमा अभाव देखिएको हो ।’ उनले सेन्टरमा भने तत्काल अभाव नरहेको जानकारी थिए ।
अक्सिजनेटर के हो ? किन यो महत्त्वपूर्ण छ ?
- ‘ओपेन हार्ट सर्जरी’को प्रक्रियामा मांसपेशीको भल्व तथा धमनी उपचारका लागि छाती चिरेर हार्ट–लङ(मुटु–फोक्सो) मेसिन राखिन्छ ।
- मेसिनलाई ड्रेनेज ट्युबहरूद्वारा मुटुसँग जोडिएको हुन्छ जसले रक्त प्रणालीलाई भेनस प्रणालीबाट अक्सजेनेटरतर्फ लैजान्छ।
- अक्सिजनेटरले कार्बन डाइअक्साइड हटाउँछ र रगत संचारमा अक्सिजन थप्छ, त्यसपछि धमनीहरूमा फर्किन्छ।
टाइम्स अफ इण्डियाले ८ दिनअघि प्रकाशित गरेको एक समाचारमा अहमदावादमा अक्सिजेनेटर अभावका कारण मुटु शल्यक्रिया प्रभावित भएको उल्लेख छ । समाचामा जनाइएअनुसार विज्ञहरुले रुस—युक्रेन युद्धका कारण रअ म्याटरिअलको कम सप्लाईका कारण अहिले यी सामाग्रीहरुको अभाव बढेको हो । भारतमा यसको सप्लाई अमेरिका र युरोपियन देशहरुबाट हुने गरेको छ ।
अन्य डिस्पोजेबल सामाग्रीहरु इन्ट्रो ओर्टिक बेलुन पम्प र क्याथरेटरको पनि अभाव छ । अक्सिजेनेटर, इन्ट्रो—ओर्टिक बेलुन पम्प र क्याथरेटर अन्य बेलामा पनि कम उपलब्ध हुने सामाग्रीमा पर्छन् ।
गंगालालले अक्सिजेनेटरको अभाव देखाउँदैं शल्यक्रियाका लागि भर्ना भएका बिरामी फिर्ता गरिदिएपछि अहिले त्यसको तीब्र बहस भइरहेको छ । तर, अस्पताल प्रशासन भने आयात गर्ने ठाउँमै अभाव भएका कारण यो समस्या आएको जनाएको छ ।