२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेत अस्पतालका निर्देशक डा. खड्काको ‘प्राध्यापक’ पद छानविन गर्दै अख्तियार

सुर्खेत अस्पतालका निर्देशक डा. खड्काको ‘प्राध्यापक’ पद छानविन गर्दै अख्तियार


काठमाडौं—कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्कालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दिएको भनिएको ‘प्राध्यापक’ पद छानविनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतकाअनुसार डा. खड्कालाई प्रतिष्ठान ऐन विपरित ‘प्राध्यापक’ भनी दिएको भनेर उजुरी परेपछि उक्त पदमाथि छानविन सुरु भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. खड्कालाई ९ असोज २०७५ मा ‘प्राध्यापक’ पदमा मनोनयन गरेको थियो । अख्तियारमा परेको उजुरीमा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा. डा. राजेन्द्र वाग्लेले डा. खड्कालाई ‘प्राध्यापक’ उपाधि प्रदान गरिएको पत्र पठाएको उल्लेख छ ।

उक्त उजुरीमा डा. खड्काले प्रतिष्ठान ऐन विपरित ‘प्राध्यापक पद’ पाएको हुँदा सो लेख्न नपाउने र ‘प्राध्यापक’ पदको दुरुपयोग भएको हुँदा अख्तियारको कार्यविधी, २०७८ को दफा २६ अनुसार कारवाही गर्न माग गरिएको छ ।

अख्तियार स्रोतकाअनुसार डा. खड्कालाई दिइएको ‘प्राध्यापक’ पद सही हो वा होइन् भनेर प्रतिष्ठानलाई पनि पत्राचार भइसकेको छ । ‘उहाँहरुको प्राध्यापक पदमाथि अनुसन्धान अगाडि बढिसकेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘हामी यसका सबै पाटा पक्षहरु केलाउँदैंछौं । प्रतिष्ठानलाई पनि आवश्यक कागजातका माग गरिसकेका छौं ।’

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । ‘यस विषयमा मलाई जानकारी छैन,’ डा. रावलले भने ।

यस विषयमा तत्कालीन उपकुलपति प्रा.डा. वाग्लेसँग सम्पर्क गर्दा उनले आफू अहिले प्रधानमन्त्रीको कार्यक्रममा व्यस्त रहेको भन्दैं फोन काटिदिए ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध यस्तै प्रकार उजुरीमाथि अख्तियारले छानविन गरेको थियो । सो छानविनले डा. गिरीले दावी गरेको ‘प्राध्यापक पद’ प्रमाणित नभएपछि उनी विरुद्ध अख्तियार विशेष अदालत गएको छ भने डा. गिरी निलम्बनमा परेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ