२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगु जिल्ला अस्पतालमा इन्जेक्सनसमेत अभाव

मुगु जिल्ला अस्पतालमा इन्जेक्सनसमेत अभाव


जुम्ला – १५ शय्याको जिल्ला अस्पतालमा चैत १५ गते देखि इन्जेक्सन एसिलकसमेत अभाव रहेको छ । इन्जेक्सन अण्डेम इन्जेक्सन क्याटोलक्स, इन्जेक्सन टोमडोल, इन्जेक्सन प्यान्टप र इन्जेक्सन डिएनएसको अभाव भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्टोर फाँटमा कार्यरत किशोर भामले बताए ।

जिल्ला अस्पतालको स्टोरमा औषधि अभाव भएपछि त्यहाँ उपचार गर्न आउने सर्वसाधारण बिरामीहरू मर्कामा परेका हुन् । लामो समयदेखि बिरामी भएर शरीर कमजोर भएको महसुस भएपछि जिल्ला अस्पतालमा उपचार गर्न आउँदा आफूलाई आवश्यक पर्ने निःशुल्क पाउने औषधि डिएनएस डाक्टरले लेखिदिएको भए पनि फार्मेसीमा उक्त औषधि सकिएको भन्दै अस्पताल नजिकको मेडिकलबाट किनेर ल्याउनु परेको छायाँनाथ रारा नगरपालिका—३ का ६१ वर्षीया जुनकला विकले बताइन् ।

दुई दिनसम्म बेलाबेलामा आफ्नो तीन वर्षीया छोरीले बान्ता गर्न थालेपछि उपचार गर्न जिल्ला अस्पताल पुग्नु भएकी मुगुम कार्मारोङगाँउपालिका-१ की छेजुम टोमा तामङ्गले छोरीलाई चाहिने अण्डेम नामक औषधी नपाएपछि मेडिकलबाट किनेर सेवन गर्ने सल्लाह डाक्टरले दिएको बताए ।

जिल्ला अस्पतालको लागि आवश्यक औषधि खरिद गर्न यो आर्थिक वर्षका लागि १० लाख रुपियाँ बजेट आएको भए पनि औषधि खरिद गरेर यो रकम मङ्सिर महिनामा खर्च भइसकेको छ ।

अरू औषधि प्रदेश आपूर्ति शाखा र क्षेत्रीय मेडिकल स्टोरबाट आपूर्ति हुने भए पनि केही औषधि अभाव हुनु सक्ने स्वास्थ्य सेवा कार्यालयका लेखा प्रमुख रामबहादुर केसीले बताए ।

वार्षिक १० लाख रुपियाँको औषधि खरिदले पुग्दैन छाँयानाथ रारा नगरपालिकालाई औषधि खरिदका लागि आवश्यक रकम विनियोजित गर्न अस्पताल व्यवस्थापन समितिबाट रकम मागका लागि निर्णय सहित अनुरोध गरिएको भए पनि हालसम्म माग भएको रकम उपलब्ध नहुँदा समय समयमा औषधीको अभाव हुने गरेको लेखा प्रमुख केसीले बताए ।

जिल्ला अस्पतालमा सबै भन्दा बढी ग्यास्ट्रिक बिरामी हरेक दिनमा १५ देखि २० जना आउने गर्छन् । यो रोगका बिरामीहरूका लागि चाहिने एसिलक औषधि अभाव छ ।

शरीर कमजोर वा शरीरमा पानी कम भएका बिरामीहरूका लागि आवश्यक पर्ने डिएनएस सलाईन पानी समेत अभाव हुँदा बिरामीहरूलाई मेडिकलबाट औषधि किनेर ल्याउनु परेको डाक्टर अर्जुन भामले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ