२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरुकुमपश्चिमको मुसिकोटमा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम 

रुकुमपश्चिमको मुसिकोटमा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम 


सुर्खेत – रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम लागु हुने भएको छ । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएसी) नेपाल र मुसिकोट नगरपालिकाको साझेदारी तथा सिबिएम ग्लोबलको आर्थिक सहयोगमा यो कार्यक्रम लागु हुने भएको हो ।

मानसिक स्वास्थ्य समस्या तथा मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका व्यक्तिहरूले स्वतन्त्र जीवनको आनन्द लिन सक्ने र समान आधारमा समुदायमा समावेश हुनसक्ने समावेशी समुदाय निर्माण गर्न योगदान पु¥याउने लक्ष्यका साथ यो कार्यक्रम लागु हुन लागेको हो ।

यस कार्यक्रम अन्तर्गत विद्यालय नर्सहरुको क्षमता अभिवृद्धि, चेतनाका लागि मिडिया, सामाजिक सञ्जाल परिचालन तथा सडक नाटक, एकद्धार संकट व्यवस्थापन केन्द्रको क्षमता विकास, आत्महत्या रोकथाम, पुर्नस्थापनामा सहयोग, मातृ मानसिक स्वास्थ्य कार्यक्रमहरू सञ्चालन हुने सिएमसी नेपालका सुपरभाइजर सुमिता मल्लले बताइन् ।

‘मानसिक स्वास्थ्य समन्वय समितिको नियमित बैठक, पालिका स्तरीय मानसिक स्वास्थ्य नीतिको विकास र कार्यान्वयन, स्वास्थ्यकर्मीको तालिम तथा सुपरिवेक्षण, स्वावलम्बन समूहको स्वपैरवी र संस्थागत विकासका लागि क्षमता वृद्धि र विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम पनि सञ्चालन हुनेछन् ।’ उनले भनिन्,‘यस कार्यक्रमका प्रत्यक्ष लाभग्राहीमा मानसिक स्वास्थ्य समस्या भएका र मनोसामाजिक अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका, अपाङ्गता भएका वा त्यसको जोखिममा रहेका व्यक्ति र बालबालिका तथा किशोर किशोरी रहने छन् ।’

कार्यक्रमका लागि मुसिकोटका ४ वटा स्वास्थ्य संस्था र तीन वटा विद्यालय छनौट गरिएको मल्लले जानकारी दिइन् । ‘स्वास्थ्य संस्थामा जिल्ला अस्पताल, साँख स्वास्थ्य चौकी, भलाक्चा स्वास्थ्य चौकी र छिवाङ स्वास्थ्य चौकी रहेका छन् ।’ उनले भनिन्,‘विद्यालयमा त्रिभुवन जनता मावि खलंगा, बालकल्याण मावि झुल्खेत र महेन्द्र मावि चौतारा रहेका छन् ।’

यो कार्यक्रमका लागि नगर प्रमुख महेन्द्र केसीको संयोजकत्वमा मानसिक स्वास्थ्य समन्वय समिति पनि गठन गरिएको छ ।
यसअघि सुर्खेत र दैलेखका ५ वटा स्थानीय तहमा सञ्चालित यो कार्यक्रम अहिले रुकुमपश्चिम र दैलेखका अन्य ५ वटा स्थानीय तहमा विस्तार भएको सिएमसी नेपालले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ