२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबाँइराका गाउँलाई नदीकै दूषित पानीको भर

बाँइराका गाउँलाई नदीकै दूषित पानीको भर


जुम्ला – तातोपानी गाउँपालिका–१ बाइराँका गाउँका मिनबहादुर शाही पाँच दशकदेखि तिला नदीकै दूषित पानी पिउँदै आएका छन् । अहिले गाउँमा लिफ्टमार्फत तिला नदीको पानी पुगे पनि पर्याप्त छैन । अझै खोलाकै पानीको भर छ, उनले भने ।

बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि खायौं । उनले भने, “बाँइराका गाउँमा पानी पु¥याउने विषय चुनावी एजेन्डा मात्र बन्यो । हाम्रो दैनिकी फेरिएन । हरेक चुनावमा हुने पानी राजनीतिले निकास दिन सकेन । तर पछिल्लो समय धौलीगाड आयोजना बन्ने कुराले उत्साहित भएका छौं ।”

बाबु बाजेदेखि हामीले दूषित पानी खायौं । अब राष्ट्रिय महत्त्वको खानेपानी आयोजना बन्ने कुराले पछिल्लो पुस्ताले स्वच्छ पानी पाउँछ कि भन्ने आशा पलाएको शाहीको भनाई छ ।

पानीले काकाकुल बाइराँका स्थानीय अहिले पनि तिला नदीको पानीको सहारामा बाँचिरहेका छन् । धन्न हामी बाँचेका छौँं । रोग लागेको छैन । बाँइराका गाउँकी स्थानीय महिला छुमकली सार्कीले भनिन्, “बाँइराकामा पानी पु¥याउने २०६४ सालदेखि अहिलेसम्मका संघीय सांसददेखि स्थानीय तहका वडाध्यक्ष आश्वासन दिए । तर पानी पुगेन । जनसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन । तीनै तहका सरकार हाम्रा समस्याप्रति अनुदार देखिएनन् । हाम्रो प्यासको कसैलाई मतलब छैन । संविधानले दिएको स्वच्छ पानी पिउने अधिकार नै कुण्ठित भएको छ ।”

तर अब केही वर्षमा खानेपानी अभावका दुःखबाट मुक्ति पाइने आशा पलाएको छ । पानी नपुगेको बस्ती बाँइराकामा चाँडै पानी पु¥याइदिनसमेत उनले आग्रह गरिन् ।

गाउँमा खानेपानी नहुँदा बाइराँका गाउँका झन्डै १२० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन् । पानी पु¥याई दिने नाममा नेताले बाँइराकाबासीलाई भोट बैंकका रूपमा प्रयोग मात्रै गर्ने गरेका छन् । स्थानीय बचन शाहीले भने, “गाउँमा पुगेको लिफ्टले प्रतिघरमा ४० लिटर मात्रै पानी भर्न मिल्छ । पर्याप्त खानेपानी, सरसफाइ गर्ने पानी छैन । हिउँद वर्षामा बग्ने तिलाकै दूषित पानी हाम्रो सहारा हो । काकाकुल गाउँको प्यास मेटाउन धौलीगाडलाई सम्पन्न गर्न सबैले सहयोग गर्नुको विकल्प छैन ।”

धौलीगाड खानेपानी आयोजनाले बाँइराकाबासीले दशकौँदेखिको हाम्रो प्यास मेटाउने आशा पलाएको उनले बताए । यद्यपि दोस्रो मेलम्चीका रूपमा परिचित आयोजना समयमै सम्पन्न होस् ।

खानेपानी, सिचाई तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराका गाउँमा तिला नदीको पानी लिफ्टमार्फत खाई रहेका छन् । त्यो पानी खान योग्य हो, होइन ल्याब टेष्ट गरिएको छैन । स्थानीयले ल्याब टेष्टको लागि माग पनि गरेका छैनन् । माग नभएर पनि हामीले छिट्टै ल्याब टेष्ट गर्ने योजना बनाएका छौँ ।

उनले भने, खानेपानीको समस्या भएपछि सौर्य ऊर्जाबाट लिफ्ट मार्फत नदीको पानी गाउँमा पुर्‍याएको हो । त्यो जेनरेटर बिग्रेर लिफ्ट प्रणाली अवरुद्ध थियो । सोलार पाता राखेर लिफ्ट प्रणाली चालु गरिएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका लेखापाल सन्तोष चौलागाईंले बृहत् धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षमा आवश्यक बजेट सुनिश्चित भएको खण्डमा र नागरिकले निर्माणमा कुनै बाधा अड्चन नल्याएमा आगामी २०८१ मै आयोजनाको काम सकिने बताए ।

आयोजनाको १ अर्ब २६ करोड ८ लाख ४९० रुपियाँ बजेट रहेको छ । चन्दननाथका १० वडा, गुठीचौरका ३ वडा र तातोपानीका ६ वडाका ८ हजार ६९५ घरधुरीका ४४ हजार १६३ जनसंख्या आयोजनाबाट लाभान्वित हुने भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ