२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलाइसेन्सको परीक्षामा जुम्ला प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

लाइसेन्सको परीक्षामा जुम्ला प्रतिष्ठानका शतप्रतिशत विद्यार्थी उत्तीर्ण


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिपिएच पहिलो ब्याच अध्ययनरत विद्यार्थीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका छन् ।  जनस्वास्थ्य विषयको लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षण वातावरण, शिक्षकहरूको अध्यापन र विद्यार्थीको मेहनतले राम्रो प्रतिफल प्राप्त भएको उपकुलपति डा. मंगल रावलले बताए । उनले भने प्रतिष्ठानले अध्यापन गर्दै आएको अरू विषयमा पनि यस्तै प्रतिफल प्राप्त गर्नका लागि हाम्रो कुशल प्रयास रहने छ ।

प्रतिष्ठानका रजिस्ट्रार निपेन्द्र महतका अनुसार १७ जना विद्यार्थीले लाइसेन्सको परीक्षा दिएका हुन् । १७ जनै उत्तीर्ण भएका छन् । बिपिएच तहका देशभर आधा जसो ५४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । तर प्रतिष्ठानका शतप्रतिशत उत्तीर्ण भएका छन् । प्रतिष्ठानलाई बजेट अभावले समस्या पारिरहेको छ,’ रजिस्ट्रार महतले भने, ‘विगत दुई वर्षदेखि पुँजीगत बजेट शून्य छ ।’ कोरोनाले विश्व थलिएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निकै महत्त्वपूर्ण भूमिका रहेको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनापछि दुर्गमका बिरामीले विशेषज्ञ सेवा पाइरहेका छन् । कालीकोट, जुम्ला, मुगु, हुम्लालगायत विकट जिल्लामा विशेषज्ञ डाक्टरले सेवा दिइरहेका छन् । सुर्खेत, नेपालगञ्ज र राजधानीका ठुला अस्पतालले दिने विशेषज्ञ सेवा जुम्लामै पाउने हुँदा नागरिकलाई ठुलो राहत मिलेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लक्ष्य विकट बस्तीमा उपचार गराउने, त्यहीँबाट जनशक्ति उत्पादन गर्ने र अध्ययन अनुसन्धान गर्ने वातावरण मिलाउनु थियो । तर, सुगममा बसेर स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि व्यापार गर्न खोज्ने मानसिकताका कारण प्रतिष्ठानले स्वभाविक गति लिने विषयमा समस्या आइरहेका छन् ।

विकटका सबैजसो अस्पतालमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरसहित अन्य उपकरण सहयोग गरिरहेको छ । कालीकोट जिल्ला अस्पताल, रास्कोट र तिलागुफा नगर अस्पतालमा डाक्टर खटाइरहेको छ । दैलेखको राकममा स्थापना हुन लागेको ट्रमा सेन्टरका लागि जनशक्ति खटाइएको छ । मुगु र हुम्ला अस्पतालमा एक÷एक जना एमजीडीपी खटाएर सेवा दिँदै आएको छ । सुदूरपश्चिम प्रदेशमा पर्ने दुर्गम जिल्ला बाजुराको कोल्टी अस्पतालमा पनि स्त्री रोग विशेषज्ञ र नर्स खटाइएको छ ।

विकटको स्वास्थ्य सेवाको भाष्य बदलेको प्रतिष्ठान यति बेला स्नातक तह र स्नातकोत्तर तहका जनशक्ति उत्पादनमा लागेको छ । प्रतिष्ठानले हाल एमडी, एमएड, एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएच र बी फर्मा लगायतका कक्षा सञ्चालन गरेर जनशक्ति उत्पादन गरिरहेको छ । स्वास्थ्य सेवा र जनशक्ति उत्पादनमा लागेको प्रतिष्ठानप्रति सरकार र सम्बन्धित क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिसमेत अनुदार रहेको देखिन्छ ।
प्रतिष्ठानले २०७१ सालमा सेवा सुरु गरेपछि हालसम्म ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरङ्ग सेवा लिएका छन् । ३२ हजार ७ सय ४० जनाले अन्तरंग सेवा (भर्ना भएर उपचार गराउने) लिएका छन् । ४८ हजार ३ सय बिरामीले आकस्मिक सेवा लिएका छन् ।

त्यस्तै ७ हजार १ सय १९ गर्भवती महिलाले प्रसूति सेवा लिएका छन् भने मेजर अपरेसन ४ हजार ३ सय ८५ वटा गरिएको छ । सुरुका वर्षहरूमा जुम्लाका सेवाग्राहीले मात्रै सेवा लिने गरेकोमा बिस्तारै मुगु, कालीकोट, बाजुरालगायत जिल्लाका बिरामीले उपचार सेवा लिँदै आएको प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले बताए ।

तीन सय बेडको अस्पताल, ल्याब, पुस्तकालय, होस्टेल, कर्मचारी प्रशासन छ । दैलेखको राकममा ट्रमा सेन्टर सहितको सय बेडको अस्पताल निर्माणको डीपीआर तयार हुँदैछ । १४ वटा घर भाडामा लिएर प्रतिष्ठान सञ्चालन भइराखेको छ । जुम्लाको चेरे चौरमा शैक्षिक भवन, कलेज होस्टेल, स्टाफ क्वाटर, प्रशासनिक भवन, आवासी भवन, स्पोट अडिटोरियम सबै निर्माणका निम्ति झन्डै साढे ६ अर्ब बजेट आवश्यक पर्ने रजिस्ट्रार महतले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ