२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगामा आँखाको नानी दानबाट १२ हजार बढीले प्राप्त गरे उज्यालो

तिलगंगामा आँखाको नानी दानबाट १२ हजार बढीले प्राप्त गरे उज्यालो

२७ बैशाखमा मरणोपरान्त आँखाको नानी दान गर्नेको सम्मानमा सामूहिक श्रद्धान्जलीसभा गरिदैं


काठमाडौं—तिलगंगा आँखा प्रतिष्ठानमा अहिलेसम्म १२ हजारभन्दा बढीले दानबाट प्राप्त आँखाको नानीबाट उज्यालो संसार देखेका छन् । तिलगंगाकाअनुसार नेपाल आँखा बैंकमा १ हजार बढीले आँखाको नानी दान गर्ने घोषणा गरेका छन् ।

विभिन्न कारणवश आँखाको नानी विग्रिएर दृष्टिविहिन बनेका व्यक्तिका लागि दा नगरिएका आँखाका नानी संकलन गरेर अस्पतालले नानी प्रत्यारोपण सेवा दिदैं आएको छ । सन् १९९४ देखि नेपाल आँखा बैकको स्थापना भएपछि नेपालमा यो सेवा सहज भएको हो । आँखा बैकले मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन, परीक्षण र संचयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गर्छ ।

अस्पतालले पशुपतिको आर्यघाट विद्युतीय शवदाह गृहलगायत काठमाडौंमा रहेका ४ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि.शिक्षण अस्पताल,गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैकबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम गर्दै आएको छ । यसबाट आँखा दान गर्नेको संख्या बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ । त्यस्तै गरेर स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहन, हेटौडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी संकलन केन्द्रहरु स्थापना गरेर आँखाको नानीहरु संकलन गरिदैं आइएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ धेरैभन्दा धेरै मानिसहरुलाई मृत्युपछि आँखाको नानी दान गर्न प्रेरित गर्नुपर्ने बताउँछन् । यसका लागि प्रतिष्ठानको नेपाल आँखा बैंकले समय—समयमा मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नेहरुको २७ जेठमा सम्झना र सम्मानमा सामूहिक श्रद्धाञ्जली–सभा आयोजना गर्दैछ ।

डा. गुरुङकाअनुसार दाताको परिवारलाई कृतज्ञता प्रदान गर्न, आँखाको नानी पाएका व्यक्तिहरुको अनुभव आदान—प्रदान गर्न र दिवंगत आत्माको चिरशान्तिको लागि सामूहिक श्रद्धाञ्जली गर्ने उक्त सामूहिक श्रद्धान्जली सभाको आयोजना गरिएको हो । ‘अहिले धेरै मानिसहरुको आँखा दान प्रति सकारात्मक सोचको कारणले गर्दा आँखाको नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भरतातर्फ अग्रसर हुँदैछ,’ उनले भनिन्, ‘नेपाल भरि आँखा बैंकको सेवा दिइराखेका छौं ।’

नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायना मानिसको मृत्युपश्चात जसरी धार्मिक रितीरिवाज अनुसार संस्कार गरिन्छ त्यसरी नै आँखादान लाई पनि संस्कारको रुपमा स्थापित गर्न सके दृष्टिविहिनलाई पूःन दृष्टि प्रदान गर्ने कार्य प्रभावकारी सावित हुने बताउँछन् ।

आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा,अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुने चिकित्सकहरु बताउँछन् । नेपालमा दृष्टिविहिन हुनुको दोस्रो प्रमुख कारण आँखाको नानी बिग्रिनु हो । जसको एक मात्र उपचार आँखाको नानी प्रत्यारोपण गरि पुनः दृष्टि दिलाउनु नै हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ