२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपुरुषमा स्तन क्यान्सरको समस्या बढ्दै

पुरुषमा स्तन क्यान्सरको समस्या बढ्दै


भक्तपुर- मध्यपुर थिमी नगरपालिका-६ का ५६ वर्षीय श्याम श्रेष्ठको स्तन अन्य पुरुषको भन्दा फरक थियो । बाल्यकालदेखि नै आफ्नो स्तन अन्य पुरुषमा भन्दा फरक पाए पनि उनले खासै वास्ता गरेका थिएनन् ।

श्यामलाई अनुभव भएअनुसार करिब ११-१२ वर्षको उमेरमा आफ्नो स्तनमा एउटा सानो डल्ला थियो । कहिलेकाही त्यही स्तन दुख्ने तथा चस्किने गथ्र्यो । उमेर र ताकत हुँदा सानोतिनो दुखाईको वास्ता नगर्ने उनलाई उमेरले पाँच दशक काटेपछि ठूलै समस्या आइपर्यो । यसको अर्थ उनलाई ५१ वर्षको उमेरमा स्तन क्यान्सर रोगको पहिचान भयो ।

लामो समयदेखि श्यामले ग्यारेज व्यवसाय गर्दै आएका थिए । पाँच वर्षअघिको कुरा हो काम गर्ने क्रममा एक दिन उनको स्तन असामान्य रुपले चिलायो । चिलाउने क्रममा उनको स्तनबाट निप्पल झर्यो । निप्पल झरेपछि उनको स्तनबाट रगत र पीप जस्तो तरल पदार्थका धारा बग्न थाले ।

स्तनबाट रगत र पीप बग्न नरोकिएपछि परिवारका सदस्यले उपचारका लागि श्यामलाई भक्तपुर क्यान्सर अस्पतालमा पुर्याए । उपचारका क्रममा उनलाई स्तन क्यान्सर पुष्टि भयो । ‘मैले थाहा पाउँदादेखि नै मेरो स्तन अरु पुरुषको तुलनामा अर्कै थियो । स्तनमा सानो गिर्खा थियो । विस्तारै बढ्दै गयो,’ उनी भन्छन्, ‘स्तन क्यान्सर भएको होला भन्ने त कल्पनासमेत गरेको थिइनँ, न त यो रोगबारे कुनै ज्ञान नै थियो । महिलामा स्तन क्यान्सरको समस्या हुन्छ भन्ने सुनेको थिएँ । तर, आफूमा पहिचान भइसकेपछि पनि पुरुषमा हुन्छ होला भन्ने विश्वास समेत लाग्दैन थियो ।’

स्तन क्यान्सर भएर निको भएका भक्तपुरका श्याम श्रेष्ठ

सिन्धुपाल्चोकका ६६ वर्षीय हर्कबहादुर तामाङले पनि स्तन क्यान्सरलाई जितेर नयाँ जीवन पाएका छन् । आजभन्दा १३ वर्षअघि उनलाई स्तन क्यान्सरको लक्षण देखा परेको थियो । उनको स्तन वरपर सानो गिर्खा देखिएको थियो । जसलाई उनले सामान्य लिएका थिए ।

उनलाई अनुभव भएअनुसार चार महिनादेखि भने उनको छातीमा भएको सानो गिर्खा एक्कासी बढ्यो र दुःख्न थाल्यो । दिनदिनै आफ्नो स्तन असामान्य रुपले चिलाउने र गिर्खाको आकार बढ्दै जान थालेपछि उपचारका लागि उनी भक्तपुर क्यान्सर अस्पताल पुगे । अस्पतालमा स्किनिङ्ग, म्यामोग्राम गराइसकेपछि उनलाई स्तनमा क्यान्सर पुष्टि भयो । त्यसपछि उनको स्तनको पूरै भाग निकाल्नुपर्याे ।

श्रेष्ठ र तामाङ एक प्रतिनिधिमूलक पात्र हुन । पछिल्ला केही वर्ष यता उनीहरु जस्ता अन्य केही पुरुषहरु स्तन क्यान्सरको शिकार बनेका छन् ।
क्यान्सर रोग विशेषज्ञका अनुसार पुरुषको स्तन क्यान्सर एक दुर्लभ क्यान्सर हो जुन पुरुषको स्तनको तन्तुमा हुन्छ । पुरुष स्तन क्यान्सर जुनसुकै उमेरमा हुनसक्ने भएता पनि वृद्ध पुरुषहरूमा बढी हुने गर्छ ।

हर्कबहादुर र श्याम दुवैको उपचार भक्तपुर क्यान्सर अस्पतालका अंकोलोजी विभाग प्रमुख तथा स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठ पछिल्लो समय नेपालमा पुरुषमा पनि स्तन क्यान्सर देखिइरहेको बताउँछन् । ‘विश्वमा एक प्रतिशत पुरुषलाई मात्र क्यान्सर भएको तथ्यांक छ तर, पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको संख्या भने बढ्दो छ,’ डा.श्रेष्ठले भने ।

स्तन क्यान्सर सम्बन्धि चेतना बढाउँदै जाने क्रम पनि पछिल्लो समय बढ्दै गएको छ । चिकित्सकको अध्ययन र अनुसन्धानअनुसार सय जना महिला बराबर एक जना पुरुषमा स्तन क्यान्सर फेला पर्ने गरेको भक्तपुर क्यान्सर अस्पतालका कन्सल्टेन्ट अन्कोलोजिस्ट विभागीय प्रमुख तथा स्तन क्यान्सर रोग विशेषज्ञ डाक्टर उत्सवमान श्रेष्ठ बताउँछन् ।

पुरुषहरुमा स्तन क्यान्सर विशेषगरी हर्मोनका कारण हुने उनको भनाई छ । डाक्टर श्रेष्ठका अनुसार हालसम्मको अवस्था हेर्दा करिब ३५ वर्ष देखि ७० वर्षका पुरुषहरुमा स्तन क्यान्सर देखिने गरेको छ । डा. श्रेष्ठका अनुसार अस्पतालले १० वर्षमा १८ जना पुरुषको स्तन क्यान्सरको अप्रेसन गरेको छ । यो तथ्यांकले पुरुषमा स्तन क्यान्सरको संकेत बढ्दो क्रममा रहेको देखाउँछ ।

भक्तपुर क्यान्सर अस्पतालका अंकोलोजी विभाग प्रमुख तथा स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठ

अस्पतालले वार्षिक ३०० जना महिला र तीन देखि चार जना पुरुषको शल्याकृया गर्ने गरेको डा. श्रेष्ठले बताए । उनले भने,‘यो त भक्तपुर क्यान्सर अस्पतालको मात्रै तथ्यांक हो । देशभरका अस्पतालका रिपोर्ट हेर्ने हो भने स्तन क्यान्सर पीडित पुरूषहरूको संख्या बढेको देखिन्छ ।’
विगतमा स्तन क्यान्सर सम्बन्धि चेतना नहुँदा धेरैजसो पुरुषहरु अन्तिम अवस्थामा पुगेपछि मात्रै अस्पताल पुग्ने गर्थे । स्तन क्यान्सर सम्बन्धि चेतनाको विकाससँगै पछिल्लो समय आफैँ सचेत भएर परिक्षण गराउन अस्पताल धाउने पुरुषको संख्यामा वृद्धि भएको डा. श्रेष्ठ बताउँछन् ।

त्रिवि शिक्षण अस्पतालकी कसल्ट्यान्ट वेस्ट अंको सर्जन डा. सुजिता हिराचन आफूले वर्षमा दुई तीन वटा जति स्तन क्यान्सर भएका पुरुष बिरामीहरुको उपचार गर्ने गरेको अनुभव सुनाउँछिन् । ‘एक प्रतिशत पुरुषहरुमा मात्रै यस्तो क्यान्सर देखिन्छ । वर्षमा १ देखि ३ जनासम्म पुरुष स्तन क्यान्सरका बिरामी हामी कहाँ पनि आइपुग्छन् ।’

पुरुषमा देखिने स्तन क्यान्सरका लक्षणहरु

स्तन क्यान्सरको सुरुवाती चरणमा खासै लक्षण देखा पर्दैन । दोस्रो चरणमा पुग्दा स्तन वरपर सामान्य लाग्ने गिर्खा देखा पर्छ, तर दुखाइ भने खासै महशुस हुँदैन । तेस्रो चरणमा पुगिसकेपछि भने गिर्खाको आकार बढ्दै जाने, दुखाई महशुस हुने, निप्पल पाक्ने, घाउ खटिरा आउने र एक ठाउँबाट सर्दै काखी, घाँटीलगायत शरीरको अन्य भागसम्म फैलन सक्ने सम्भावना रहने डा. श्रेष्ठ बताउँछन् ।

सामान्यतयाः स्तन क्यान्सरका लक्षण महिला र पुरुषमा उस्ता–उस्तै हुने गर्छन् । महिलाको तुलनामा पुरुषको स्तनको आकार सानो हुने भएका कारण लक्षण देखिनासाथ परीक्षण गर्न सके पुरुषमा शतप्रतिशत पूर्ण रुपमा निको हुने उनी बताउँछन् ।

पुरुषहरूमा स्तन क्यान्सरको लक्षण वा शंका लागेमा समयमै चिकित्सकलाई देखाउनुपर्छ । पहिलो चरणमा खासै असर नपर्ने हुँदा कतिपय पुरुषहरु अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गर्छन् जसले गर्दा क्यान्सर एक ठाउँबाट अर्को फैलिन सक्छ । डा.  श्रेष्ठका अनुसार शल्यक्रिया, केमोथेरापी, हर्मोन थेरापी, रेडियोथेरापी यसका उपचार पद्धति रहेका छन् ।

कस्ता पुरुषहरुमा हुन्छ स्तन क्यान्सरको सम्भावना

डा. श्रेष्ठका अनुसार विशेषगरी पुरुषमा हर्मोनको गडबडीका कारण स्तन क्यान्सरको जोखिम बढ्ने गर्छ । त्यस्तै, कलेजोमा आउने समस्याले पनि स्तन क्यान्सर को जोखिम बढाउँछ ।

धुम्रपान सेवन गर्ने पुरुष, मोटोपन भएका पुरुषमा एस्ट्रोजन उच्च हुने सम्भावना हुन्छ, जसले गर्दा पुरुषमा स्तन क्यान्सरको जोखिम बढ्छ ।

ग्लोबोक्यानको पछिल्लो तथ्यांकअनुसार, विश्वमा सन् २०२० मा मात्र एक करोड ९३ लाख क्यान्सरका नयाँ बिरामी थपिएका छन् । २०२० मा क्यान्सरबाट मात्रै विश्वका एक करोड बिरामीले ज्यान गुमाएका थिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले गरेको पछिल्लो अनुसन्धान (नेपाल वर्डन अफ डिजिज स्टडी, २०१९) को विभिन्न अनुसन्धानले देखाएअनुसार नेपालमा प्रति एक लाख व्यक्तिमा एक सय दुई जनालाई क्यान्सर देखिएको छ । जसमध्ये सबैभन्दा बढी फोक्सोको क्यान्सर र दोस्रोमा स्तन क्यान्सर रहेको स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

नेपाल स्वास्थ अनुसन्धान परिषदका अनुसन्धान अधिकृत उमा काफ्लेका अनुसार परिषद्ले गरिरहेको जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको पछिल्लो रिपोर्टअनुसार काठमाडौं उपत्यकासहित देशका नौ जिल्लामा मात्रै सन् २०१८ मा तीन हजार तीन सय ४९ र सन् २०१९ मा तीन हजार दुई सय ९५ जना क्यान्सरका नयाँ बिरामी दर्ता भएका छन् ।

यस्तै, ग्लोबोक्यान नेपालका अनुसार, सन् २०२० मा देशभरका २० हजार पाँच सय आठ जना क्यान्सरका नयाँ बिरामी देखिएका छन् भने १३ हजार ६ सय २९ जनाले क्यान्सरका कारण ज्यान गुमाएका छन् । ‘नेपालको पछिल्लो अवस्था हेर्ने हो भने स्तन क्यान्सर फर्स्ट टपमा छ । जुन सबैभन्दा बढी महिलामा देखिएको अवस्था छ । होल क्यानसरको पहिलोमा फोक्सो र दोस्रो नम्बरमा स्तन क्यान्सर छ ।’ उनले भनिन् ।

अनुसन्धान अधिकृत काफ्लेका अनुसार पछिल्ला केही वर्षको अनुसन्धानका आधारमा हेर्दा नेपालमा पुरुषमा पनि स्तन क्यान्सरको समस्या बढ्दो देखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले निकालेको तथ्यांक अनुसार नेपालका नौ जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर, सिराहा, सप्तरी, धनुसा, महोत्तरी , रुकुम पूर्व र रुकुम पश्चिम ) सन् २०१९ मा स्तन क्यान्सर भएका सात जना पुरुष रजिस्ट्री भएका छन् । यो एनएचआरसीले ४९ स्वास्थ संस्था तथा समुदायमा खोज अनुसन्धान गरि जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री हो । त्यसैगरी सन् २०१८ मा नौ जिल्लाबाट १४ जना स्तन क्यान्सर पीडित पुरुष रजिस्ट्री भएका थिए । यो तथ्यांक हेर्दा पुरुषमा हुने स्तन क्यान्सर बढ्दो देखिन्छ ।

एनएचआरसीले २०२०, २०२१, २०२२ र २०२३ तथ्यांक सार्वजनिक भने गरेको छैन । २०१९ पछि हालसम्मको तथ्यांक एकमुष्ट सार्वजनिक गर्ने तयारी भइरहेको अनुसन्धान अधिकृत काफ्ले बताउँछिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कमला भुसाल, #डा. उत्सवमान श्रेष्ठ, #डा. सुजिता हिराचन, #पुरुषमा स्तन क्यासर, #भक्तपुर क्यान्सर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ