२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा

बिरामीको दुःखाइ व्यवस्थापनमा सिभिल अस्पतालमा सुलभसँगै उत्कृष्ट सेवा


काठमाडौं–मोरङ उर्लावारीकी ममता श्रेष्ठ (नाम परिवर्तन) आफूलाई ग्यास्ट्रिकजस्तो समस्या देखिएपछि पूर्वका सबै अस्पताल धाइन् । पछिल्लो एक वर्षमा उनले झण्डै आधा दर्जन पटक इन्डोस्कोपी गरिन्, त्यति नै पटक भिडियो एक्सरे गराइन् । दुई पटक त सिटी स्क्यान नै गरियो । ग्यास्ट्रिकको औषधी त नियमित नै सेवन गरिरहिन् । त्यति गर्दा पनि उनको दुःखाइ २० को १९ हुन भएन ।

रोग पत्ता नलागेपछि मीनभवनस्थित सिभिल अस्पतालको जनरल ओपीडीमा आइपुगिन् । जनरल ओपीडीमा रहेका चिकित्सकले ‘पेन क्लिनिक’मा रिफर गरिदिए । पेन फिजिसियन डा. अनुजजंग रायामाझीले श्रेष्ठका सबै रिपोर्टहरु हेरेपछि दुःखाइ व्यवस्थापन गर्ने इन्जेक्सनको माध्यमबाट थेरापी सुरु गरे । दुई पटक थेरापी गरेसँगै ममतालाई ठीक हुँदै गयो । अहिले उनको समस्या समाधान भएको छ । डा. रायमाझी श्रेष्ठको पेटको रक्तनली थिचिएको या मांसपेसीमा समस्या हुँदा त्यस्तो हुने बताउँछन् ।

नुवाकोट विदुरका ६० वर्षीय हरिबहादुर तामाङ (नाम परिवर्तन)को अनुहारको दुःखाइ यति असह्यै हुन्थ्यो । नदुःखेको बेला पनि नाकको सिगान पुछ्दा एक झमट मुर्छा पर्थे । कसैले उनलाई दाँतको समस्याले यस्तो हुन सक्छ भनेपछि दाँतको क्लिनिकमा पुगे । दन्त स्वास्थ्यकर्मीले ५ वटा दाँत नै निकालिदिए । उनको दुःखाइ झन बढ्दै गयो । मुख बाउन पनि हुन छोड्यो । पछिल्लो ६ महिनादेखि उनले पाइपको माध्यमले झोल पदार्थ मात्र सेवन गर्न थालेका थिए ।

अन्तमा सिभिल अस्पताल आइपुगे । तीन पटकको पेन क्लिनिकको फ्लोअपमा उनको ९० प्रतिशत समस्या समाधान भएको उनी आफै बताउँछन् । डा. रायामाझी तामाङको समस्या मुखको भागमा रहेको दुःखाइ लैजाने नलीमा समस्याका कारण त्यस्तो भएकोे बताउँछन् ।

धरानकी एकमाया राई (नाम परिवर्तन)लाई एक वर्षअघि निस्केको जनै खटिराले सताइरह्यो । तर, उनले त्यो जनै खटिराले हो भन्ने पत्तै भएन । उनले विभिन्न उपचार गरिरहिन् तर निको भएन । जब सिभिल पेन क्लिनिकमा आइन् र उनको उपचार भयो । त्यसपछि उनको दुःखाइ कम भयो । जनैखटिरा नसामा हुने र त्यसको इन्फेक्सनले लामो समयको दुःखाइ हुने गरेको डा. रायमाझी बताउँछन् ।

माथिका तीन घटना त प्रतिनिधी उदाहरणमात्र हुन् । जुन मानिसलाई सधैं दुःख दिने तर सामान्य ५ सयदेखि १ हजार रुपैयाँको औषधीले निको हुने रोगमा चेतनाको अभावले बिरामीले हजारौं खर्च र वर्षौदेखिको पीडाको सास्ती खेपिरहेका छन् । डा. रायामाझी यसको उपचार विधी दुःखाइको ठाउँ, अवस्था हेरेर चरणवद्ध रुपमा हुने बताउँछन ।

पेन फिजिसियन डा. अनुजजंग रायमाझी

पछिल्लो समय विभिन्न समस्याका कारण हुने उत्याधिक दुःखाइको व्यवस्थापन चिकित्सकीय क्षेत्रमा छुट्टै विधा स्थापित हुँदै गएको छ । विशेष गरी राजधानीमा दुःखाइ व्यवस्थापन (पेन म्यानेजमेन्ट)का लागि भनेर ‘पेन क्लिनिक’ संचालन भइरहेका छन् । पहिले यो विषय छुट्टै विधा थिएन् ।

व्यवस्थित रुपमा सरकारी स्वास्थ्य संस्थामा सिभिल अस्पतालले अत्याधुनिक उपकरणसहित यो सेवा प्रदान गरिरहेको छ । अन्य अस्पतालभन्दा सिभिल अस्पतालमा सुलभ रुपमा यो सेवा प्रदान भइरहेको अस्पतालका एनेस्थेसियोलोजिष्ट तथा पेन फिजिसियन डा. अनुजजंग रायामाझी बताउँछन् । ‘क्लिनिकल्ली रुपमा राम्रो प्रविधिको प्रयोगबाट यो सेवा सिभिल अस्पतालमा संचालित छ,’ उनी भन्छन्, ‘सरकारी अस्पताल भएका कारण सेवा शुल्क निजीको तुलनामा सुलभ हुनु स्वभाविक नै हो ।’

चिकित्सा विज्ञानमा लगातार तीन महिनाभन्दा लामो दुःखाइ औषधी सेवनबाट पनि ठिक नभएमा त्यसलाई इन्जेक्सन दिएर गरिने दुःखाइको व्यवस्थापनलाई ‘पेन म्यानेजमेन्ट’ भनिन्छ । विशेषगरी घुडाको दुःखाइ, ढाडको दुःखाइ, गर्दनको दुःखाइ, पेटमा हुने दुःखाइ (ग्यास्ट्रिक वा पाठेघर सम्बन्धी नभएको), जनै खटिराको दुःखाइ, अनुहार दुख्ने (ट्राइजेमिनाल नियूरोल्जिया), शल्यक्रिया गरेको स्थानमा लामो समय हुने दुःखाइ, क्यान्सर रोग हुँदा हुने दुःखाइ व्यवस्थापनको लागि यो सेवा दिइन्छ ।

घुडा, जोर्नी, ढाडलगायतका स्थानमा हुने दुःखाइमा पिआरपी विधी (आफ्नै रगतबाट प्लेटलेट्स निकालेर दिइने) प्रयोग गरिन्छ । यसको साइड इफेक्ट नहुने डा. रायामाझी बताउँछन् । शल्यक्रिया गरेपछि हुने दुःखाइ व्यवस्थापनका लागि भने आरएफआई (तताएर) या कायो (चिसो बनाएर) दिइने प्रविधी प्रचलित छन् । त्यसैगरी, इन्जेक्सनको माध्यमबाट गरिने दुःखाइ व्यवस्थापनमा शल्यक्रिया पछि ५० प्रतिशत व्यवस्थित हुने र शल्यक्रिया अगाडि नै भएमा ७० प्रतिशत दुःखाइ व्यवस्थपन हुने उनको भनाइ छ ।

धेरै मानिसले याद नगरी ठूलो खर्च गर्दा पनि समस्या समाधान नभएको (पेन म्यानेजमेन्टमा थाहा नपाएको समस्या) भनेको पेटमा हुने दुखाइ र जनै खटिराको दुखाइ भएको उनको बझाइ छ । त्यसैगरी, अनुहारको दुःखाइमा पनि मानिसहरुको ध्यान दाँत किराले खाएको भन्नेमा जाने गरेको उनी बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ