२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा छैनन् सेवाग्राही, पश्चिमाञ्चलको ल्याबमा थेगी नसक्नु भीड

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा छैनन् सेवाग्राही, पश्चिमाञ्चलको ल्याबमा थेगी नसक्नु भीड


पोखरा—पोखरास्थित गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय प्रायः सुनसान देखिन्छ । वि.सं. २०७६ सालमा स्थापना भएको प्रयोगशालाबारे आम नागरिकलाई जानकारी नभएकाले प्रयोगशालामा सेवाग्राही पनि जाने गरेका छैनन् ।

जसका कारण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा बिरामीको चाप थेगी नसक्नु छ । बिरामीले प्रयोगशालामा जाँच गराउनका लागि बिलिङ, आवश्यक सिरिन्जलगायत सामग्री लिन र स्याम्पल कलेक्सन र रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यता हुन्छ ।

तर, पश्चिमाञ्चल अस्पताल नजिकै रहेको प्रदेश प्रयोगशाला भने सुनसान छ । आखिर किन ? प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र भन्छन्, ‘आम नागरिकलाई जानकारी कम भएकाले कम आउने गरेका छन् । अर्काे कुरा हामीसँग डाक्टर त हँदैनन् । डाक्टरले जाँच गरेकै अस्पतालमा ल्याब पनि छन् । त्यही कारण सेवाग्राही कम भएका हुन् ।’

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ल्याबमा सेवाग्राही

मिश्रकाअनुसार वि.सं. २०८० वैशाख अन्तिमसम्म ८/९ जनामात्रै सेवाग्राही आउने गरकोमा अहिले दैनिक ३०/३५ हाराहारीमा आउने गरेका छन् । ‘पहिले सिंगल डिजिटमा आउने गरेकोमा अहिले डबल डिजिटमा पुगेको छ । सेवाग्राही आउँदै नआएको भन्ने चाहिँ होइन्,’ उनी थप्छन् । उनका अनुसार आफ्नै भवन र आवश्यक सामग्री नहुँदा क्षमताअनुसार सेवा दिन प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सकेको छैन ।

प्रदेश प्रयोगशालामा अहिलेको जनशक्तिले दैनिक १ सय हाराहारीमा सेवा दिन सक्ने भएपनि सेवाग्राहीको उपस्थिती भने निकै कम छ । ए वा बी ग्रेडको सेवा दिनुपर्ने भएपनि ल्याबका लागि उपयुक्त भौतिक संरचना छैन । संरचनाअनुसार २ जना जनशक्ति थप्नुपर्नेमिश्र बताउँछन् । उपकरण भने थप्ने क्रममै रहेको उनले जानकारी दिए ।

ब्रोसर, क्यालेन्डरलगायत मार्फत् जानकारी पनि वृद्धि भइरहेको उनको भनाइ छ । प्रदेश प्रयोगशाला पूर्णरुपमा सञ्चालन हुने र सेवाग्राहीलाई जानकारी हुने हो भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको चाप गर्न सकिने उनी तर्क गर्छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सरकारी ल्याबका कर्मचारीका लागि तालिम सञ्चालन गर्नुका साथै सी ग्रेडका ल्याब वर्गीकरण, अनुगमन र नियमन गर्ने महत्वपूर्ण जिम्मेवारी छ ।

सुनसान प्रदेश जनस्वास्थ्य प्रयोगशाला

प्रयोगशालामा २ जना मेडिकल ल्याब टेक्नोलोजिस्ट हुनुपर्ने भएपनि १ जना अध्ययनका लागि गएकाले १ जनामात्रै कार्यरत छन् । १ जना एमडी बायोलोजिस्ट हुनुपर्नेमा रिक्त छ । टेक्नोलोजिस्ट अस्थायी ३ जना, १ जना एमडी प्याथोलोजिस्टले सेवा दिएका छन् । पहिले कोभिड—१९ मात्रै जाँच हुने गरेकोमा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने जाँच थप भएको छ भने एचआईभीको भाइरल लोड जाँच गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय प्रयोगशाला टेकुकै दरमा प्रयोगशाला शुल्क निर्धारण गरिएको छ । स्रोतसाधन थप गर्नेबारे थप छलफल पनि भइरहेको उनले जानकारी दिए । सरकारी प्रयोगशाला भएपनि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य बिमा कार्यक्रमसमेत सञ्चालनमा छैन । यसबारे पहल भइरहेको मिश्र बताउँछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ