२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअर्बौको व्यवसायिक साम्राज्य भागबण्डाको तयारीमा डा. जैनुद्दीन-बसुरुद्दीन

अर्बौको व्यवसायिक साम्राज्य भागबण्डाको तयारीमा डा. जैनुद्दीन-बसुरुद्दीन


काठमाडौं—नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा कहलिएको व्यापारी समूहमा पर्ने वीरगन्जस्थित नेशनल मेडिकल कलेज संचालक समूहमा आन्तरिक विवाद चुलिएको छ । तीन महिनाअघिबाट दाजु डा. जैनुद्दीन अन्सारी र भाइ बसुरुद्दीन अन्सारीकाबीच चुलिएको विवाद उनीहरुको अर्बौको व्यापारिक साम्राज्य भागबण्डाको तहमा पुगेको हो ।

यससँगै २४ वर्षदेखिको दाइ डा. जैनुद्दीन र भाइ बसुरुद्दीनको व्यवसायिक सहकार्य पनि लगभग टुट्ने पक्का भएको हो । वि.सं. २०५६ सालअघि डा. जैनुद्दीन पर्सामा ‘वीरगन्ज नर्सिङ होम’ संचालन गरिरहेका थिए भने भाइ बसुरुद्दीन काठमाडौंमा अलग्गै व्यवसायमा थिए । तर, वि.सं. २०५६ सालमा नेशनल मेडिकल कलेज संचालनको गृहकार्यदेखि दुवै दाजुभाइ चिकित्सा शिक्षा व्यवसायमा सँगसँगै अगाडि बढेका हुन् ।

तर, डा. जैनुद्दीन—बसुरुद्दीनले मिलेर चलाइरहेको व्यवसायमा दोस्रो पुस्ता (छोराछोरीहरु)को इन्ट्री भएसँगै उनीहरुबीच विवाद चुलिएको हो । करिब तीन महिना लामो चर्को विवाद, प्रहरी र प्रशासनको हारगुहारपछि उनीहरू अन्ततः सम्पत्ति भागबण्डामार्फत विवाद टुंगाउन राजी भएका छन् । तर, विवाद कसरी टुंग्याउने भन्ने विषयमा दुई दाजुभाइबीच ठोस सहमति भने बनिसकेको छैन् । ‘यसका लागि पहलहरु भइरहेका छन् । छलफल सकारात्मक दिशामा अगाडि बढेका छन्,’ अन्सारी दाजुभाइ निकट स्रोतले भन्यो, ‘अब केही समयमै उहाँहरुबीच सम्पत्ति भागबण्डा हुनेछ ।’

केही समयदेखि चुलिएको विवादलाई मत्थर पार्ने गरी भित्री रुपमा उनीहरुबीच छलफल समेत अगाडि बढेको छ । छलफलमा डा. जैनुद्दीनले भाइ बसुरुद्दीनलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको सम्पत्ति दिने प्रस्ताव गरेका छन् । तर, उक्त प्रस्तावमाथि बसुरुद्दीनले सहमति जनाएका छैनन् । उनी बराबर भागबण्डा हुनुपर्नेमा छन् ।

विवाद गर्नुको साटो अलग हुने मनसायमा भने दुवै एकै ठाउँमा छन् । तर, बसुरुद्दीनले नेशनल मेडिकल कलेज वा नेपाल मेडिकल कलेजमध्ये एउटा मेडिकल कलेज आफूलाई दिनुपर्ने वा सबैं सम्पत्ति आधा—आधा पाउनुपर्ने माग गरिरहेका छन् । तर, व्यवसायमा आफ्नो अधिक स्वामित्व भएकाले जैनुद्दीन आधा—आधा सम्पत्ति बाँड्नका लागि भने तयार छैनन् । दुवैलाई छलफलमा जोडिरहेका सुत्रहरुकाअनुसार यसका लागि अर्को मेडिकल कलेज किनेर बसुरुद्दीनलाई दिएर सहमति खोज्ने मध्यमार्गी बाटोका बारेमा पनि छलफल भइरहेको छ । तर, अहिलेसम्म अर्बौको व्यवसायिक साम्राज्य भागबण्डा भने निश्चित भएपनि कसरी गर्ने भने बाटो भने टुंगिसकेको छैन ।

कत्ति छ सम्पत्ति ?

वीरगन्जको प्रसौनीका आशिक हुसेन अन्सारीका चार छोरा हुन्- जेठा डा. जैनुद्दीन, माइला नसरुद्दीन, साइला बसुरुद्दीन र कान्छा ताजुद्दीन । पारिवारिक रुपमा उनीहरुले बुवा जीवितै रहँदा भाइहरुबीच अंशबण्डा गरिसकेका छन् ।

माइला नसरुद्दीन र कान्छा ताजुद्दीन दुवै औषधीको रिटेल कारोबारमा लागे । अहिले पनि उनीहरु दुवै जना त्यही व्यवसायमा जमिरहेका छन् । जेठा डा. जैनुद्दीन सर्जन भएकाले उनले वीरगन्जमै ‘वीरगन्ज नर्सिङ होम’ संचालन गरे । बसुरुद्दीन भने केही समय काठमाडौं व्यवसाय गरेपछि वीरगन्ज फर्किए ।

डा. जैनुद्दीनको मेडिकल कलेज स्थापना गर्ने सपना थियो । वीरगन्ज फर्किएपछि त्यही सपनामा जोडिए—साइला भाइ बसुरुद्दीन । वि.सं. २०५६ सालमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई पर्सा—१ बाट आम निर्वाचन लडे । भट्टराईसँग चुनावी अभियानमा सघाउँदा आफूहरुले मेडिकल कलेज स्थापनाका गर्नका लागि सहयोगको आग्रह गरेको बसुरुद्दीन बताउँछन् ।

भट्टराईले चुनाव जितेर प्रधानमन्त्री भएपछि उनीहरुले मेडिकल कलेज संचालनको अनुमति पाए । त्यसपछि उनीहरुले एउटा थ्रीस्टार होटल मासिक २५ हजार रुपैयाँमा भाडामा लिए । तत्कालीन नारायणी उपक्षेत्रीय अस्पताल (हाल नारायणी अस्पताल)लाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न वार्षिक १ लाख ५० हजार रुपैयाँ तिर्ने सम्झौता गरे । ‘सबै गरी हामीले नेशनल मेडिकल कलेज १ करोड ९६ लाख रुपैयाँ ऋण लिएर सुरु गरेका हौं,’ बसुरुद्दीन भन्छन् ।

सन् २००१ मा नेशनल मेडिकल कलेजले एबीबीएसको पहिलो ब्याचमा ६० जना विद्यार्थी भर्ना लिएर पठनपाठन सुरु गरेको हो । १६ वर्षसम्म उसले १५० विद्यार्थीसम्म एमबीबीएसमा भर्ना लियो । कतिसम्म भने एक सत्रमा १५० जना भर्ना लिँदा नेशनलले १२० जना अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत पढायो । जसका कारण अन्सारी दाजुभाइले कुस्त आर्थिक लाभ प्राप्त गरे । ‘त्यतिबेला त हामीले पिजीमा पनि भारतीय विद्यार्थी पढायौं,’ बसुरुद्दीन सम्झन्छन् ।

त्यही जगमा उनीहरुले वि.सं. २०७० सालमा काठमाडौं नेशनल मेडिकल कलेज चलाउनका लागि अनामनगरमा ५ क्षेत्रफल रोपनी जग्गासहितको हाउजिङ किने । तर, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएपनि मापदण्ड नपु¥याएको भन्दैं त्यो संचालनमा आउन दिइएन् । त्यसपछि उनीहरुले वि.सं. २०७८ असारमा अत्तरखेलस्थित मेडिकल कलेजको ५१ प्रतिशत शेयर किने ।

अर्बौको व्यवसायिक साम्राज्य

१ करोड ९० लाख रुपैयाँ सुरुवाती लगानीबाट गरेर नेशनल मेडिकल कलेजबाट व्यवसायिक यात्रा थालेका अन्सारी दाजुभाइको सम्पत्ति अहिले अर्बौको छ । उनीहरु तीन वटा मेडिकल कलेजमा लगानी छ भने ठाउँ—ठाउँमा सयौं रोपनी जग्गामा समेत लगानी गरेका छन् ।

नेशनल मेडिकल कलेज, वीरगन्ज
वीरगन्जस्थित नेशनल मेडिकल कलेज २४ वर्षदेखि संचालनमा छ । ५५० शैय्याको यो शिक्षण अस्पतालमा औसतमा दैनिक ओपीडीमा १२०० बिरामी हुन्छन् ।

३ सय ९० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो मेडिकल कलेजमा एमबीबीएस, बिडिएस, नर्सिङ, बीएमएलटी, एमएन, डिएमलगायतका चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम संचालनमा छन् । यसबाहेक यो मेडिकल कलेजकै ३० विगाहा जग्गा छ ।

यो मेडिकल कलेजको ९० प्रतिशत शेयर डा. जैनुद्दीनका नाममा छ । जो अहिले उनले छोरा र छोरीलाई बाँडफाँड गरिसकेका छन् । बसुरुद्दीनका नाममा भने १० प्रतिशत शेयर छ । बसुरुद्दीनको यो मेडिकल कलेजमा दाजु र आफ्नो बराबर हक भएको दावी गर्दै आएका छन् ।

नेपाल मेडिकल कलेज, अत्तरखेल
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा ५१ प्रतिशत लगानी अन्सारी दाजुभाइको कम्पनी कोहिनुर इन्भेष्टमेन्टको छ । नेपाल मेडिकल कलेजमा रहेको अन्सारी दाजुभाइको ५१ प्रतिशत सेयरमा ७० प्रतिशतका हकवाला दाजु डा. जैनुद्दीन हुन् भने र ३० प्रतिशतका हकवाला बसुरुद्दीन ।

९ वटा भवनसहित १ सय ७२ रोपनी जग्गा नेपाल मेडिकल कलेजको स्वामित्वमा छ । कलेजमा जैनुद्दीन—बसुरुद्दीनबाहेक ४९ जना अन्य सेयर होल्डर छन् । जसमध्ये अध्यक्ष डा. भोला रिजाल र उनकी पत्नीको १२ प्रतिशत शेयर छ । ५५० शैय्याको यो शिक्षण अस्पतालमा औसत दैनिक ओपीडीमा ११०० सय बिरामी हुने गर्छन् ।

काठमाडौं नेशनल मेडिकल कलेज, अनामनगर
अनामरनगरस्थित ५ रोपनी क्षेत्रफलमा काठमाडौं नेशनल मेडिकल कलेज छ । वि.सं. २०७४ सालमा उनीहरुले यो मेडिकल कलेजका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका थिए ।

तर, मापदण्ड पूरा नगरेको भन्दैं डा. गोविन्द केसी अनशन बसेपछि उक्त मेडिकल कलेज संचालनमा आउन सकेन् ।

त्यसबाहेक नलुनमा १०० सय रोपनी र छैमलेमा ११२ रोपनी जग्गा छ । काठमाडौं नेशनल मेडिकल कलेजमा २५ प्रतिशत बसुरुद्दीन र बाँकी सेयर डा. जैनुद्दीनको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ