२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचारका क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएकी भीमाको शव हप्ता दिन बित्दा पनि उठेन

उपचारका क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएकी भीमाको शव हप्ता दिन बित्दा पनि उठेन

अस्पतालको लापरवाहीले मृत्यु भएको आफन्तको आरोप


वीरेन्द्रनगर—२८ चैतमा कर्णाली प्रदेश अस्पताल सुर्खेत पाठेघर सम्बन्धी उपचारका क्रममा मृत्यु भएकी महिलाको शव एक हप्ता बित्दा पनि उठ्न सकेको छैन । दैलेख जिल्ला आठबीस नगरपालिका–५, पिपलकोट २२ वर्षीया भीमा गुरुङ पेट दुःखाइ सम्बन्धी समस्या भएपछि उपचारका लागि हिडेर कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुगेकी थिइन् ।

तर, अस्पतालको लापरवाहीले भीमाको मृत्यु भएकाले उचित क्षतिपूर्तिको माग गर्दै आफन्तहरुले हप्ता दिन बित्दा पनि शव बुझ्न मानेका छैनन् ।

अस्पतालका चिकित्सकहरुले पेटमा सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनेर अस्पताल भर्ना गरिएको थियो । उनको शल्यक्रिया गर्नुभन्दा अगाडि चिकित्कसहरुले यो केश सामान्य भएकाले चिन्ता नगर्नु भनी आफूहरुलाई भनेर शल्यक्रिया कक्षमा लगिएको भीमा बुबा गोविन्दबहादुर गुरुङले बताए ।

‘अपरान्ह ३ बजेभन्दा १० मिनेट अगाडिसम्म सबै ठिकै छ भनेर रगत चढाइरहेकोमा एक्कासी ३ बजेतिर तपाईंको बिरामी अवस्था धेरै नै जटिल भयो भनी खबर गरिएको थियो,’ उनले भने, ‘त्यसको केही समयपछि मृत्यु भएको जानकारी गराइएको थियो । शल्यक्रिया क्रममा बिरामीको अवस्थाको विषयमा बीचमा कुनै जानकारी नगराइनु र डाक्टरहरूको हाऊभाऊ हेर्दाखेरी हतास मानसिकतामा देखिनुले गम्भीर त्रुटी र लापरवाहीका कारण मृत्यु भएको हो ।’

घटनापछि बेलुका कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौंमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ आएका कारणले आफूहरुलाई संशकित बनाएको बुवा गुरुङले बताए । ‘केश निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको घर परिवारको मान्छेलाई किन जानकारी गराइएन्,’ उनले प्रश्न गरे, ‘अर्को कुरा त्यस्तो गम्भीर केश थियो भने स्त्री रोग सम्बन्धी सिनियर डाक्टरहरू उपचारमा किन सङ्लग्न हुन भएन् ।’

भीमाको गुरूङको मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने मृतक भिमा सुसुरा धनबहादुर बलामी मगरले बताए । ‘आठ महिने नाबालिका दुधे बालिकाको पालन पोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको ग्यारेण्टी र घटनाको उच्चस्तरीय छानविन समिति गठनको माग राखेका छौं,’ उनले भने, ‘शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गर्दा पनि अस्पताल प्रशासनले यस विषयलाई गम्भीरतापूर्वक नलिई गैरजिम्मेवारीपना प्रदर्शन गरेको छ ।’

सामान्य गरिब परिवारका भएकाले आफूहरु सुर्खेतजस्तो महंगो सहरमा बस्न र आन्दोलन गरिरहन नसक्ने अवस्था भएकाले मृतकको लाशलाई प्रदेश अस्पतालमै छोडेर आफ्नो घर जान लागेको ससुरा बलामी मगरले बताए ।

अस्पताल प्रशासन र पीडित परिवारबीच पटक–पटक वार्ता भएपनि सहमति भएको छैन । पीडित परिवारले उचित क्षतिपूर्ति, ८ महिने बालिकाको भरणपोषण, रोजगारीको व्यवस्था र दोषी चिकित्सकलाई कारवाही गर्नुपर्ने माग छ ।

तर, अस्पताल प्रशासनले उच्चस्तरीय छानविन समिति गठन र रोजगारी दिलाउने विषयमा सहमत भएपनि पीडित परिवारले मानेका छैनन् । ‘अस्पतालले क्षतिपूर्ति र बालिकाको भरणपोषण गर्ने सवालमा हामी सक्दैनौं,’ अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘अस्पतालबाट अप्रेशनका क्रममा कुनै त्रुटि भएको छैन । १० हजार जनामध्ये एक जनामा यस्तो समस्या हुन्छ । चिकित्सकहरुले उपचारमा कुनै कमजोरी गरेका छैनन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ