२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमको नीति तथा कार्यक्रमः जिल्लामा विशेषज्ञ चिकित्सकदेखि सेतीमा क्यान्सर उपचारसम्म

सुदूरपश्चिमको नीति तथा कार्यक्रमः जिल्लामा विशेषज्ञ चिकित्सकदेखि सेतीमा क्यान्सर उपचारसम्म


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार सुदूरपश्चिम प्रदेशसभामा प्रदेश प्रमुख नजिर मियाँले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रदेशका अस्पताल तथा स्थानीय तहका स्वास्थ्य चौकीलाई थप स्तरोन्नती र सुदृढ गरी सबै जिल्ला अस्पताल तथा आयुर्वेद चिकित्सालयमा फिजियोथेरापी सेवा गरिने संचालन उल्लेख छ । यसैगरी, विद्यालयसँग योग र ध्यानसम्म जोड्न आवश्यक ब्यवस्था गरिने नीति तथा कार्यक्रममा छ ।

कल्पसनद चिकित्सा पद्धतिको विकास र विस्तारका लागि सम्भाब्यता अध्ययन गर्ने, सिकलसेल एनिमिया, थालसेमिया, हेमोफेलिया पहिचान, निदान र उपचारको ब्यबस्थाका लागि घोराघोरी स्वास्थ्य उपचार कार्यक्रम लागु गरिने, मुख्यमन्त्री स्वास्थ्य सेवा सुधार तथा पोषण सुरक्षा कार्यक्रमअन्तर्गत प्रदेशमा कुपोषण न्यूनीकरण केस व्यवस्थापन गर्न स्थानीय तहको समन्वय र सहकार्यमा स्वास्थ्य संस्थामा पोषण पुनःस्थापना केन्द्रको स्थापना विस्तार तथा स्तरोन्नती गरिने नीति तथा कार्यक्रममा छ ।

सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल तथा प्रादेशिक आयुर्वेद चिकित्सालय मातहतका स्वास्थ्य निकायमा जनशक्ति व्यवस्थापन गर्न संगठन तथा ब्यबस्थापन सर्वेक्षण सम्पन्न गर्ने, प्रादेशिक आयुर्वेद चिकित्सालयमा अन्तरंग सेवा संचालन गरी विशेषज्ञ आयुर्वेद सेवा प्रदान गर्ने, प्रदेश मातहत रहेका अस्पतालहरुको स्तरोन्नती र क्षमता वृद्धि गर्ने, सेती अस्पतालमा क्यान्सर रोगको उपचारका लागि आवश्यक ब्यवस्था पनि नीति तथा कार्यक्रममा छ ।

यस्तै, नीति तथा कार्यक्रममा प्रसुति केन्द्र र ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई थप सुदृढीकरण गरी थप प्रजनन स्वास्थ्य सम्बन्धी रोगहरु र रुग्णताको पहिचानका साथै रोगहरुको पहिचानका साथै गरी समयमै ब्यवस्थापन गर्ने, विशेषज्ञ सेवासहितको एकीकृत स्वास्थ्य शिविर संचालन गर्ने, प्रत्येक जिल्ला अस्पतालमा वालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ र हाडजोर्नीको विशेषज्ञ सेवा संचालनको लागि संघीय सरकारसँग आवश्यक समन्वय गर्ने, शारीरिक विकृति र अटिजम भएका बालबालिकाहरुको उचित व्यवस्थापन गर्ने, स्थानीय तहसँगको साझेदारीमा अपाङ्गता भएका ब्यक्तिहरुको पुनः स्थापनाको लागि सहायक सामाग्री वितरण गर्ने र समुदायमा आधारित पुनःस्थापनाका क्षेत्रमा आवश्यक सहयोग गर्ने उल्लेख छ ।

प्रदेश मातहतका अस्पतालहरुमा इलेक्ट्रोनिक रेकर्ड प्रणालीको विस्तार र व्यवस्थापन गर्ने, एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन प्रादेशिक प्रेषण केन्द्रलाई व्यवस्थित गर्ने, प्रदेशभित्रका अस्पतालहरुमा रहेका सामाजिक सेवा इकाईलाई थप ब्यवस्थित र सुदृढ गर्ने, संघीय सरकारको समन्वयमा स्वास्थ्य बीमालाई थप विस्तार गरी प्रभावकारी बनाउने, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारासहित नसर्ने तथा मानसिक रोग न्यूनीकरणको लागि स्थानीय तहसँगको समन्वयमा नसर्ने रोग सम्बन्धी योजना कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सुदूरपश्चिम सरकारले आफ्नो नीति तथा कार्यक्रमा नसर्ने रोग नियन्त्रण तथा रोकथामको लागि संघीय सरकारसँगको समन्वयमा प्रदेश मातहत नागरिक आरोग्य सेवा केन्द्रलाई थप ब्यवस्थित गर्ने, प्रादेशिक अस्पतालहरुमा मानसिक स्वास्थ्य इकाई स्थापनाको लागि आवश्यक ब्यवस्था मिलाउने, स्थानीय तहको समन्वयमा एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने, सडक दुर्घटनाबाट स्वास्थ्य क्षेत्रमा हुने क्षतिलाई न्यूनीकरण गर्न सुरक्षाकर्मीलाई लाइफ सपोर्ट फस्ट एडजस्ता तालिमहरु संचालन गरी आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्ने, प्रदेशस्तरमा पानी वायु र ध्वानीको गुणस्तर मापनको लागि आवश्यक औजार र यन्त्र उपकरणको व्यवस्था गर्ने, गुणस्तर नियमन र निगरानीका लागि सरोकार निकायसँग समन्वय गर्न आवश्यक प्रबन्ध मिलाउने उल्लेख गरेको छ ।

स्थानीय सरकार र संघ सरकारको समन्वयमा विपद् महामारी र किटजन्य रोगहरुको नियन्त्रण, ज्येष्ठ नागरिकहरुको स्वास्थ्य समस्याहरुका लागि स्थानीय तहसँगको समन्वयमा विशेष कार्यक्रम र चिकित्सा शिक्षा अध्यननको लागि दिइने छात्रवृत्तिलाई निरन्तरता दिइने पनि नीति तथा कार्यक्रममा व्यवस्था गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ