२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशछाउ किशोरी विद्यालय आउँदैनन्

छाउ किशोरी विद्यालय आउँदैनन्


(ताजाकोट) हुम्ला— जिल्लाको विकट ताजाकोट गाउँपालिका वडा नम्बर—३ मा रहेको धर्मोदय माविमा दैनिक २० प्रतिशत छात्रा अनुपस्थित हुन्छन् । अनुपस्थित हुने कारण हो—महिनावारी अर्थात स्थानीय भाषामा छाउ । सुगममा अध्ययन गर्ने विद्यार्थीहरुलाई यो सुन्दा अचम्म लाग्न सक्छ—महिनावारी हुँदा पनि अनुपस्थित । विडम्बना यहाँको विद्यालयको सबैभन्दा ठूलो समस्या नै यही रहेको छ ।

पर्याप्त पानी नभएका कारण विद्यालयका शौचालय फोहोर हुने र सरसफाइमा गर्न नपाइने हुँदा अधिकांश छात्रा महिनावारी हुँदा विद्यालय जादैनन् । विद्यालयको तथ्यांकअनुसार कक्षा ६ देखि कक्षा १० सम्म जम्मा तीन सय ११ जना विद्यार्थी रहेका छन् । जसमा १ सय ९२ छात्रा रहेका छन् । दैनिक सरदर ७० जना विद्यार्थी अनुपस्थित हुने गरेको विद्यालयका शिक्षक राकेश कर्ण बताउँछन् । अनुपस्थितमा पनि ७५ प्रतिशत छात्रा हुन्छन् । ‘अधिकांश छाउ (महिनावारी) भएका छात्रा विद्यालय आउदैनन् । अझ पहिलो महिनावारी छ भने त घरबाटै पठाउँदैनन् ।

विद्यालयले केही समयअघि छात्रा अनुपस्थित हुने कारणबारे एक हप्ता लगाएर अध्ययन गरेको थियो । सो अ्रध्ययनमा सहभागीमध्ये ५० प्रतिशत बढी छात्राले विद्यालयमा सरसफाइका लागि पानी नहुने हुँदा महिनावारीको समयमा अनुपस्थित हुने गरेको बताएको प्रधानाध्यापक गंगा दत्त जोशी बताउँछन् । पानीको समस्या प्रमख भएता पनि यस क्षेत्रका अभिभावकको चेतनास्तर पनि कम भएको हुँदा छाउ भएको बेला विद्यालय पठाउन हिचकिचाउने गरेको उनको भनाइ छ ।

विद्यालय क्षेत्र रहेको मैला गाउँलाई एक वर्षअघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेतापनि अझै ५० प्रतिशत घरहरुमा शौचालय नभएको स्थानीय बुद्धीजिवी कृष्ण भक्त जोशी बताउँछन् । स्थानीय छत्रछाया प्राविका शिक्षक समेत रहेका जोशीकाअनुसार बनेका शौचालय पनि पानीको अभावमा प्रयोग नहुने अवस्थामा छन् ।

ताजाकोट गाउँपालिका मैला स्वास्थ्य चौकीका इन्चार्ज अहेब धनराज ढकाल स्वास्थ्य चौकीमा आउने अधिकांश विरामी पानीजन्य रोगहरु रुघाखोकी, झडापखाला, टाइफाइट साथै पिसाबको संक्रमणका विरामी रहेको बताउँछन् । ‘विशेष गरी रुघाखोकी, झाडापखालाका विरामी बढी आउँछन्,’ उनी भन्छन्, ‘रजस्वला भएका महिलामा पिसाब संक्रमण (युटीआई) पनि अत्याधिक देखिने गरेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ