काठमाडौं—भैसेपाटीस्थित नेपाल मेडिसिटीको गाइनो विभागका पाँच जना चिकित्सक नर्भिक अस्पतालले भित्र्याएको छ । नर्भिकले मेडिसिटीमा गाइनो विभागका १५ जना चिकित्सकमध्ये पाँच जना अनुभवी चिकित्सकलाई भित्र्याएको हो ।
नर्भिकले सिनियर कन्सल्ट्यान्ट गाइनोकोलोजिस्टहरु डा. निरा सिंह श्रेष्ठ, डा. स्विटी श्रेष्ठ र डा. जुनु बज्राचार्य, कन्सल्ट्यान्ट गाइनोकोलोजिस्ट डा. सुनिता विश्वकर्मा र सिनियर ल्याप्रोस्कोपिक सर्जन डा. विनयराज भण्डारीलाई भित्र्याएको हो ।
‘उहाँहरुले आगामी जेठ १ गतेदेखि सेवा दिनुहुनेछ,’ नर्भिक अस्पतालले भनेको छ । नर्भिकले महिलाको गुणस्तरीय स्वास्थ्य सेवामा विशेष जोड दिँदै अनुभवी पाँच चिकित्सकलाई भित्र्याएको जनाएको छ ।
‘अनुभवी चिकित्सकहरुको आगमनले नर्भिकको गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा थप सहयोग पुग्नेछ,’ अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने ।
नर्भिक अस्पतालले भित्र्याएका पाँच जना चिकित्सक लामो समयदेखि नेपाल मेडिसिटी अस्पतालको गाइनो विभागमा कार्यरत चिकित्सकहरु हुन् ।
‘अस्पताल व्यवस्थापनसँग पारिश्रमिकलगायतका विषयमा कुरा नमिलेपछि उहाँहरुले छोड्नुभएको हो,’ नेपाल मेडिसिटी अस्पताल स्रोतले भन्यो । गाइनो विभाग नेपाल मेडिसिटीका विभागहरुमा सबैभन्दा राम्रोमध्येको विभागमा पर्छ ।