२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९ महिनापछि एनएमए चुनाव : प्यानलकाे आधिकारिक उम्मेदवार हुन रस्साकस्सी

९ महिनापछि एनएमए चुनाव : प्यानलकाे आधिकारिक उम्मेदवार हुन रस्साकस्सी


काठमाडौं—नेपालकै सबैभन्दा पूरानो पेशागत संगठन नेपाल मेडिकल एशोसियसन (एनएमए)को निर्वाचन घोषणा हुन अझै बाँकी छ । वर्तमान पदाधीकारीका अनुसार अब बस्ने एसोसिएसनको बैठकले निर्वाचन समिति घोषणा गर्दैछ । सो समितिले आगामी माघमा निर्वाचन घोषणा गर्ने सम्भावना रहेको अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ बताउँछन् ।

माघमा चुनाव हुने चर्चासँगै आकांक्षीहरुले निर्वाचन केन्द्रीत चहलपहल सुरु गरिसकेका छन् । स्वास्थ्यसँग सम्बन्धी नीति नियम बनाउने तहमा स्वतः प्रतिनिधित्व, संस्थाकाे प्रशस्त आर्थिक स्रोतजस्ता कारण आकर्षक मानिने एनएमएमा चुनाव लड्नका लागि आकांक्षीहरुले आफ्नो पक्षमा लबिङ समेत सुरु गरिसकेका छन् । अहिले चुनावका प्रतिनिधीहरुसँग भन्दा पनि प्यानलको आधिकारिक उम्मेद्वारको टिकट पाउने लविङमा चिकित्सक नेताहरु लागिसकेका छन् ।

लोकतान्त्रिक विचारधाराका चिकित्सकहरुको बाहुल्य रहेको सो संघमा गत चुनावमा वामपन्थी समर्थक चिकित्सकहरुले छुट्टै प्यानल बनाएर लडेका थिए । आगामी चुनावमा पनि यी दुई प्यानलका साथै छुट्टै स्वतन्त्र समूहको पनि कसरत भइरहेको चिकित्सक नेताहरु बताउँछन् ।

लोकतान्त्रिक प्यानलबाट डा. भूपेन्द्र बस्नेत र डा. लोचन कार्कीबीच टिकट पाउनै लागि कडा टक्कर छ । त्यसो त वर्तमान अध्यक्ष डा. श्रेष्ठ पुनः अध्यक्ष हुने दौडबाट पछि हटिसकेका छैनन् । सार्वजनिक रुपमा आकांक्षा नदेखाएता पनि, प्यानलबाट सर्वसम्वत प्रस्ताव आएमा अगाडि बढ्ने मनसाय व्यक्त गर्छन् । ‘साथीभाइहरुले पुनः दोहोरिनुपर्छ भनिरहेका छन्, मैले विचार गर्नुपर्छ भनेको छु,’ उनले भने ‘समय निकै बाँकी नै छ, सबैको इच्छा भएमा नहोला भन्न सकिदैन ।’

अध्यक्षका लागि अर्का प्रतिस्पर्धी डा. बस्नेत आफूले एनएमएको निर्वाचनमा अध्यक्षमा लड्ने विषयको पुष्टि गरे । ‘अध्यक्षमा पदमा मेरो स्वभाविक दाबेदारी हो,’ उनले नेपहेल्थसँग भने, ‘अब तयारी पनि थाल्नुपर्छ, अझै समय छ ।’ अघिल्लो कार्यकालका महासचिव रहेका उनी वीर अस्पतालको निर्देशक भइसकेका हुन् । पुराना चिकित्सकहरुले रुचाएका र नेपाली कांग्रेसका नेताहरुसँग सहज राजनीतिक पहुचमा रहेका भुपेन्द्र पनि लोकतान्त्रिक प्यानलबाट प्रमुख दाबेदार हुन् । सो प्यानलबाट अध्यक्षको टिकट पाउन उनले आफ्नै जिल्लाका सहकर्मी डा. लोचन कार्की भन्दा आफू अब्बल रहेको दलील पेश गर्नुपर्ने हुन्छ ।

अहिलेको कार्यसमितिको महासचिव रहेका डा. लोचन पनि कम पहुँच भएका डाक्टर नेता मानिदैनन् । हक्की स्वभावका कारण पछिल्लो पुस्ताले उनलाई रुचाएको छ । नेपाली कांग्रेसका पछिल्लो पुस्तासँग उनको राम्रो पहुँच रहेको छ । प्रजातान्त्रिक प्यानलबाट दाबी गरिरहेका डा. भुपेन्द्र र डा. लोचनको दुवैको गृहजिल्ला एकै भएको कारण टिकट वितरणमा केही सहजता हुने देखिन्छ । महासंघको इतिहासमा अहिलेसम्म नेतृत्व प्रजातान्त्रिक समूहले नै गर्दै आएको हुँदा चुनावमा लडेर जित्न भन्दा सो समूहबाट आधिकारिक उम्मेद्वार हुन बढी मेहनत गर्नुपर्ने वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ बताउँछन् । ‘पहिले त लोकतान्त्रिक प्यानलको विकल्प नै नभएजस्तो थियो, टिकट पाउनु नै जित्नु बराबर मानिन्थ्यो,’ उनी भन्छन्, ‘तर अहिले पहिलेजस्तो छैन् ।  चिकित्सकहरुले प्यानल हेर्न छोडेका छन्, गत चुनावमा पनि राम्रो प्रतिस्पर्धा भएकै हो ।’ अघिल्लो निर्वाचनमा भने प्रगतिशील प्यानलले नसोचेको मत ल्याएपछि प्रजातान्त्रिक समूह केही चनाखो भने भएको छ ।

नेकपा निकट भनिएको प्रगतिशील समावेशी अध्यक्षमा डा. विदुर वस्ती र डा. रमेश ढकाल आकांक्षी देखिएका छन् । डा. वस्ती पुराना कम्युनिष्ट कार्यकर्ताका साथै अहिले किष्ट मेडिकल कलेजका डाक्टर हुन् । डा. वस्तीले साथीहरुले अध्यक्षमा उठ्नका लागि आग्रह गरेको र अहिलेसम्म आफूले ब्यक्तिगत रुपमा निर्णय लिइनसकेको बताए । ‘तर, संगठनमा लागेको मान्छे संगठनले जिम्मेवारी दियो भने मैले नमान्ने कुरा हुँदैन्,’ डा. वस्तीले थपे । डा. ढकाल नेकपा निकट राष्ट्रिय चिकित्सक संघका महासचिव हुन् । त्यसैगरी शंकरापुर अस्पतालका संचालक समेत हुन् । डा. ढकाल अधिल्लो पटक अध्यक्षमा उठेर पराजित भएका थिए । डा. ढकालले भने, ‘संगठन हाँकेकाले पनि मेरो प्रबल दाबेदारी हो ।’

स्वतन्त्रतर्फ डा. पुष्णमणि खराल र डा. सतिस देवको चर्चा रहेको छ । खराल मेट्रोमा कार्यरत चिकित्सक हुन । उनी अघिल्लो चुनावमा महासचिवमा प्रतिस्पर्धा गरेका थिए भने नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा पनि उपाध्यक्षमा थोरै मतले पराजित भएका थिए । डा. खरालले भने, ‘कुनै पनि पार्टी निकट नभएका साथीहरुले मलाई अध्यक्ष उठ्नका लागि प्रेरित गरिरहनु भएको छ । यस विषयमा म सोचिरहेको छु ।’

लामो समय मेडिकल काउन्सिलको सदस्य भएका डा. देव शिक्षण अस्पतालका चिकित्सक हुन् । हाल उनी सरकारको स्वास्थ्य सम्बन्धी महत्वकांक्षी कार्यक्रम स्वास्थ्य बिमा बोर्डको सदस्य समेत रहेका छन् । डा. देवले कुनै पार्टीको नजिक नभै जित्न पनि गाह्रो हुने र स्वतन्त्र रुपमा पेशागत हकहितका लागि निर्वाचन नलडी नहुने भएकाले यस विषयमा आफूले साथीभाईसँग गहन छलफल रहेको उल्लेख गरे ।

यस्तै, स्वतन्त्रतर्फका सम्भावित प्रभावशाली दाबेदारका रुपमा हेरिएका डा. ढुण्डीराज पौडेलले भने आफू निर्वाचन नलड्ने बताए । चिकित्सकसँगै बौद्धिक व्यक्तिको परिचय बनाएका उनले पार्टीको पुच्छर नभै नेतृत्वमा पुग्न नसकिने हुँदा त्यो रेसबाट बाहिर बसेको बताए । ‘म निर्वाचन लडदैंन,’ नेपहेल्थसँग भने, ‘म अब छुट्टै अभियानमा लाग्छु ।’

महासचिवमा ११ आकांक्षी

महासंघमा अध्यक्षपछि शक्तिशाली मानिएको महासचिव पदको लागि लोकतान्त्रिक समुहबाट ६ जना आकांक्षी देखिएका छन् । जसमा डा. प्रकाश बुढाथोकी, डा. बद्री रिजाल, डा. अनिल कार्की, डा. शिवजी पौडेल, डा. विश्व दवाडी र डा. अभिमन्यु झा लबिङमा छन् । आफू सदस्य हुँदैं कोषाध्यक्ष भएकोले अब महासचिवमा स्वभाविक आफ्नो दाबेदारी रहने डेन्टल चिकित्सक समेत रहेका डा. बुढाथोकीको भनाइ छ । अर्का प्रतिस्पर्धी डा कार्कीकाे दावी भने काठमाडौंपछिको मेडिकल हब चितवन बन्ने क्रममा रहेकाले महासचिवमा चितवनलगायत मोफसलबाट हुनुपर्ने छ । उनले आफू एक व्यक्ति एक पद सिद्धान्त लागु गराउन पनि महासचिवको प्रत्यासी भएको बताए । त्यस्तै महासंघकै अर्का सदस्य डा. विश्व दवाडी पनि पेशागत हक हितको लागि प्रजातान्त्रिक समूहबाट महासिचवमा आफ्नो उमेदवारीको लागि दावी रहेको बताउँछन् ।

प्रजातान्त्रिक प्यानलबाट महासचिवमा ६ जना आकांक्षी देखिएका बेला प्रगतशीलतर्फ भने तीन जनाको नाम चर्चामा रहेको छ । चर्चामा रहेकामा कर्णाली प्रदेश अस्पतालका रेडियोलोजिष्ट डा. रविन खड्का र दन्त शल्यचिकित्सक डा. प्रेनित पोखरेल । एनएमएकी वर्तमान कोषाध्यक्ष रहेकी डा. रक्षा श्रेष्ठ हाल अंकोलोजी अध्ययनका क्रममा भारतमा रहेको र उनी भदौंमा नेपाल आउने हुँदा उनको सम्भावना पनि त्यतिकै रहेको प्रगतिशील चिकित्सक निकट संगठन राष्ट्रिय चिकित्सक संघका अध्यक्ष सन्तोष पौडेल बताउँछन् ।

यस्तै, स्वतन्त्रबाट महासचिवमा सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दिपेन्द्र पाण्डे र मेडिकल काउन्सिलका सदस्य डा कालुसिंह खत्रीको नाम अगाडि आएको छ ।  सुसुप्त अवस्थामा रहेकाे गाेदानलाई क्रियाशील बनाएको हुदा धेरै चिकित्सकले एनएमएकाे महासिचवमा चुनावमा उत्रन हाैस्याइरहेकाे बताउछन् । उनले भने, ‘सिनियर, समकक्षी र युवाहरुले तपाईजस्तो क्रियाशील युवा आउनुपर्छ भनेका छन्, म त्यस विषयमा छलफलमा छु ।’ स्वतन्त्रबाटै एमडिजिपी डा. मनोहर प्रधान पनि अध्यक्ष वा महासचिव मध्ये कुनै एकमा पदमा आकांक्षी रहेको चर्चा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ