काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल विदेश भ्रमणमा रमाउँदा महिनौंदेखि नेतृत्वबिहीन भएका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाउन अझै हप्तौ कुर्नुपर्ने भएको छ । चैतदेखि उपकुलपति रिक्त रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिसका लागि मन्त्री पौडेलको संयोजकत्व गत जेठ दोस्रो साता नै सर्च कमिटी गठन भएको थियो ।
उक्त सर्च कमिटीमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा सदस्य छन् । तर, यो समितिको काम कछुवा गतिमा छ । गठन भएको झण्डै तीन हप्तापछि मात्रै उक्त समितिले ४ असारमा उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाउँदैं आवेदन माग गरेको थियो ।
१० असारसम्म आवेदन दिने समयसीमा तोकिएका थियो । उक्त अवधिसम्म चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जना आवेदन दिएका छन् । तर, समयमै उपकुलपतिका उम्मेदवार सिफारिस गरेर निमित्तका भरमा चलिरहेका प्रंतिष्ठानलाई नेतृत्व दिने काम छोडेर स्वास्थ्यमन्त्री विदेश सयरमा निस्किए । यो बीचमा संयुक्त राष्ट्रसंघीय क्षेत्रीय बैठकका स्वास्थ्यमन्त्री पौडेल थाइल्याण्ड गए ।
मन्त्री विदेशमा भ्रमणमा रहँदा समितिले काम अगाडि बढ्न सकेन । ‘डकुमेन्टहरु हेर्ने कामहरु भइरहेको छ,’ उपकुलपति सिफारिस समितिका सदस्यसमेत रहेका स्वास्थ्य सचिव डा. विकास देवकोटाले भने, ‘विवरणहरु केलाएर हामी चाँडै काम सक्ने तयारीमा छौं ।’ उनले चार वटै प्रतिष्ठानको उपकुलपति सिफारिस छिट्टै हुने बताए ।
तर, मन्त्रीको विदेश सयरमा देखिएको रुचिका कारण चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाउन अझ केही हप्ता कुनुपर्ने अवस्था सिर्जना हुने देखिन्छ । किनभने, ८ र ९ साउनमा चीनको बेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम (जिएचएफ)–२०२५’ मा सहभागी हुन मन्त्री पौडेल चीन उड्दैंछन् । उनको चीन भ्रमणलाई क्याबिनेटले स्वीकृती प्रदान गरिसकेको छ ।