काठमाडौं—नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालको पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु फेर्ने चाहना अधुरै रहेको छ । पार्टीका मन्त्रीहरु फेर्न नेपालले गरेको सिफारिस प्रधानमन्त्री शेरबहादुर देउवाले नमानेपछि स्वास्थ्यमन्त्रीसहित मन्त्री फेर्ने नेपालको चाहना असफल भएको हो ।
पार्टी विभाजनका बेला ६/६ महिना मन्त्री बनाउने आश्वासन नेपालले समाजवादीमा लागेका नेताहरुलाई दिएका थिए । आइतबार सोही आश्वासन कार्यन्वयन गर्न नेपालले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता गरेर नयाँ टिम पठाउने सिफारिस प्रधानमन्त्रीलाई पठाएका थिए ।
सरकारबाट फिर्ता हुने नेकपा एसको सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा समेत थिए । खतिवडालाई फिर्ता बोलाएको उनको ठाउँमा अहिले स्वास्थ्य राज्यमन्त्री रहेको भवानी खापुङलाई फूलमन्त्री बनाउने एसको तयारी थियो ।
तर, देउवाले मन्त्रीको टिम फेर्ने नेपालको प्रस्ताव अस्वीकार गरेपछि अब खतिवडा नै स्वास्थ्यमन्त्रीका रुपमा निरन्तरता पाउनेछन् । खापुङ भने स्वास्थ्य राज्यमन्त्रीकै रुपमा काम गर्नेछन् ।
यसैगरी, नेपालले फेर्न खोजेका पर्यटनमन्त्री प्रेमबहादुर आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, सहरी विकास मन्त्री रामकुमारी झाक्री पनि मन्त्रीकै रुपमा निरन्तरता पाउने निश्चित भएको हो । नेपालले नयाँ पर्यटमन्त्रीमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र सहरी विकास मन्त्रीमा मेटमणि चौधरी सिफारिस गरेका थिए । स्वास्थ्य राज्यमन्त्रीमामा भने हिरा केसी सिफारिस भएका थिए ।