काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूले दीर्घकालीन कार्यक्रममा बजेट पार्नेदेखि सबै स्थानीय तहसम्म योग ध्यान पुर्याएको दावी गरेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरेर एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले मन्त्रालयका अतिरिक्त स्रोत जुटाउन सफल भएको बताएका छन् ।
‘प्राथमिकताका कार्यक्रम सफलता पाएका छन्,’ मन्त्री पौडेलले भने, ‘दीर्घकालीन कार्यक्रममा बजेट परेको छ । जुन ऐतिहासिक हो ।’ संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुरु, आधारभूत अस्पताल सञ्चालन, डेंगी नियन्त्रणमा समन्वय, एचपीभी खोप कार्यक्रम सफल र जनस्वास्थ्य समिति गठनलाई पनि उनले उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् ।
मन्त्री पौडेलले ५ हजार जनशक्ति थप्न क्याबिनेटले दिएको सैद्धान्तिक सहमतिलाई पनि आफ्नो मुख्य उपलब्धिका रुपमा उल्लेख गरे । विधेयक संसोधन प्रस्ताव, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदमा पेश हुने अवस्थामा रहेको उनले बताए ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा ओएनएम सुरु गरिएको बताए । अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्न नसकेको बक्यौता फरफारक गर्ने उनले बताए ।
पौडेलले प्रथम स्वास्थ्य विन्दु सहज बनाएको, स्वास्थ्य बीमा १ महिनामा सुरु गरिएको, ११३ आधारभूत अस्पताल निर्माण सम्पन्न गरिएको र ५५ वटा सञ्चालनमा ल्याइएको, स्थानीय तहमा समायोजन भएका १५० एमडिएमएस चिकित्सकलाई प्रदेशमा काम गर्ने गरी व्यवस्था मिलाइएको भन्दैं त्यसलाई उपलब्धिमूलक भने ।
उनले एमआरआई, पेट स्क्यान र क्याथ ल्याबका लागि पर्याप्त बजेट ल्याइएको दावी गरे । मन्त्री पौडेलले योग ध्यान सबै स्थानीय तहमा पु¥याइएको, विद्यालय नर्स कार्यक्रम सुरु गरिएको, महामारी पूर्व तयारी गरिएको र सूर्ति नियन्त्रणका लागि सत प्रतिशत चेतावनीमूलक सन्देश छापिएको विषयलाई प्रगतिका रुपमा उल्लेख गरे ।
पौडेलले प्रदेशमा मुटु, क्यान्सर, जलनको उपचार सुरुवात र व्यवस्थित गरिएको बताए ।