काठमाडौं–नेपाल फार्मेसी परिषदले पहिलोपटक लाइसेन्स परीक्षाको वार्षिक तालिका सार्वजनिक गरेको छ । परिषद्को ३२ असारमा बसेको बैठकले नयाँ आर्थिक वर्षको लाइसेन्स परीक्षाको मितिसहित कार्यक्रम पास गरेको हो ।
बैठकले ७ साउनबाट बीफर्मा, डीफर्माको परीक्षाका लागि आवेदन खुला गरेको छ । आवेदन खुलेकामध्ये बीफर्माको १४ भदौंमा, डीफर्माको २१ भदौंमा परीक्षा हुने उल्लेख छ । त्यसैगरी, यस वर्षको दोस्रो परीक्षा पुसमा र अन्तिम परिक्षा जेष्ठ महिनामा हुने उल्लेख छ ।
परिषद्ले यस वर्ष तीन पटक लाइसेन्स परीक्षा गराउने निर्णय गरेको हो । साथै, सोही बैठकले विभिन्न समयमा तालिम पनि आयोजना गर्ने निर्णय गरेको छ ।
परिषद्का रजिष्ट्रार संजीव पाण्डेले यस वर्षदेखि परिषद् बैठकले नै वार्षिक कार्यक्रम बनाएर परीक्षाको क्यालेन्डर बनाएको बताए । ‘यस वर्षबाट क्यालेन्डर बनाएर नै परीक्षा र अन्य कार्यक्रम तय गरिएको छ,’ उनले भने, ‘यसअघि परीक्षा भएतापनि क्यालेन्डर नै बनाएर गरिएको थिएन, यसले परीक्षाको तयारीमा रहेकाहरुलाई तयार रहन पनि सहज भएको छ ।’
