२०८२ साउन २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं

मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं


वीरेन्द्रनगर—पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मा रहेको मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं गएको छ । शल्यक्रिया गर्ने चिकित्सक अस्पतालमा उपलब्ध हुन थालेपछि शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं गएको हो ।

विगतमा सर्जनको अभावका कारण एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पायल्स, फिस्टुलाजस्ता शल्यक्रियाका लागि सुर्खेतको वीरेन्द्रनगर वा बाँकेको कोहलपुर र नेपालगञ्जसम्म जानुपर्ने बाध्यता थियो ।

तर, हाल मेडिकल सुपरिटेन्डेन्ट डा. अजय महतो आएपछि मात्र दुई महिनामा अस्पतालमै ४ वटा हर्निया, ३ वटा एपेन्डिक्स, २ वटा हाइड्रोसिल र दर्जनभन्दा बढी साना (माइनर( शल्यक्रिया सम्पन्न भएको अस्पतालका सूचना अधिकारी अप्सन चन्दले जानकारी दिए ।

चन्दकाअनुसार स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि अप्रेशनका लागि दैनिक १० देखि १५ जना बिरामी आउने गरेका छन् । डा. महतोले एपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पायल्स, फिस्टुलालगायतका शल्यक्रियासँगै आवश्यक सल्लाह–परामर्शका लागि मेहेलकुना अस्पताल पूर्ण रूपमा तयार रहेको बताए ।

उनले सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै छिट्टै विशेषज्ञ ओपिडी सेवा पनि सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

गुर्भाकोट नगरपालिकासहित भेरीगंगा नगरपालिका, लेकबेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका, सल्यानको कालिमाटी गाउँपालिका, वनगाड कुपिण्डे नगरपालिका तथा आसपासका जिल्लाबाट समेत बिरामी उपचारका लागि मेहेलकुना अस्पताल आउने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ