काठमाडौं—स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. टंक बाराकोटीले नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार डा. बाराकोटीले आफूले एनएमए निर्वाचनमा कोशी प्रदेशको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले एनएमएको आसन्न निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिएका डा. मंगल रावलको टिमबाट उपाध्यक्षमा लड्ने घोषणा गरेका हुन् । ‘आगामी एनएमए निर्वाचनका लागि कोशी प्रदेशको उपाध्यक्ष पदमा मेरो उम्मेदवारी घोषणा गर्दछु,’ डा. बाराकोटीले भनेका छन्, ‘हाल म यही प्रदेशमा कार्यरत भएकाले यस पदका लागि मलाई स्वीकार गर्नुहुनेछ भन्ने आशा लिएको छु।’
डा. बाराकोटीले अध्यक्षका उम्मेदवार डा. रावलको कार्यसूची भनेको चिकित्सकहरूको कल्याणका लागि आफ्नो समूहले तयार पारेको ‘डा. बारकोटी प्रतिवेदन’लाई कार्यान्वयन गर्नु रहेको उल्लेख गरेका छन् ।
‘म डा. मंगल रावल र उनको टोलीसँगै छु। हाम्रो कार्यसूची कार्यान्वयन गर्न तथा सम्पूर्ण चिकित्सा समुदायको हितका लागि काम गर्न हाम्रो सम्पूर्ण टोलीलाई समर्थन गरिदिनुहुन सबैमा विनम्र अनुरोध गर्दछु,’ डा. बाराकोटीले भनेका छन् ।
उनी लामो समय मेची अस्पतालमा सक्रिय चिकित्सक हुन भने केही समय उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागको महानिर्देशकका रुपमा पनि काम गरेका थिए ।