८३ वर्षीया आमाको बिहीबार करिब ३ बजेतिर भर्ना हुनुभएको थियो । उहाँमा दमको बिरामी हुनुका साथै फोक्सोमा पानी जमेको तथा मुटुमा समस्या थियो । बीचमा उहाँलाई गाह्रो भयो । बिरामीको आफन्तको कन्साइन्मेन्ट लिएर भेन्टीलेटरमा राख्ने कुरा भयो ।
म त्यो तयारी गरेर अर्को एकजना बिरामीको आफन्तसँग कुरा गर्दै थिए । एक्कासी ती वृद्ध बिरामी आमाका आफन्तले ‘खराब औषधीको डोज दिएर मेरो आमा मारिस’ भन्दै कुटपिट गरेर मेरो कपडा नै च्यातिदिनुभयो । म केही सोच्न नसक्ने अवस्थामा पुगे ।
मैले त बचाउन कोशिश गरिरहेको थिए । आमा अहिले ठिक हुनुभएको छ । यदि सो समयमा सही निर्णय नगरेको भए, अवस्था अर्कै हुन्थ्यो । अहिले भेन्टीलेटरबाट बाहिर निस्किएर मज्जाले खाना खाँदैं हुनुहुन्छ । म माथि हातपात भएपछि त्यहाँबाट हिडिहाले निर्देशककोमा गएँ । त्यहाँ उनीहरुले तथानाम बोलेर नर्सिङ स्टाफ र गार्डलाई पनि कुटपिट गरे । आकस्मिक कक्षको क्म्प्युटरलगायत तोडफोड पनि गरेका रहेछन् ।
उनीहरुलाई बेलुका पुलिसले समातेर लगेको रहेछ । फेरि एकैछिनमा छोडिदिएछ । कुन शक्तिले यस्तो गर्यो । सानोतिनो पोलिटिकल दमले यो आँट आएको पक्कै होइन । सबैभन्दा दुःखको कुरा उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ । तर, मेरो आत्मसम्मान मरेको छ ।
मैले मेरो आमा सम्झेर उपचार गर्दा यो फल पाए । आकस्मिक कक्षमा नै यस्तो हुनु मेरो आत्म सम्मान मरेको छ । पहिले उनीहरुलाई समातिएको थियो । एकैछिनमा छोडियो । राति आएर फेरि कुट्छु, अस्पताल जलाइदिन्छु भन्दै उफ्रिरहेका थिए रे । सीसीयुका नर्सिङ स्टाफहरुलाई पनि अपशब्द गर्ने थर्काउने गर्दै थिए रे । आज बिहान फेरि समातेको छ ।
अब कुन पोलिटिकल पावर लगाएर छुट्ने हुन् । म एउटा स्ट्रोङ मानिस भएको हुँदा सम्हालिएको छु । तर, अरु भएको भए अवस्था के भइसक्थ्यो । यसरी एकछिनमा निस्कन सक्नेले जे पनि गर्न सक्छन् । धम्की पनि दिइरहेका थिए । यो अस्पतालमा त्यो पनि केन्द्रको हृदय रोगको आकस्मिक कक्षमा हातपात गर्न सक्नेले जे पनि गर्न सक्छन् । हाम्रो देशमा न कानुन छ न भएको कार्यन्वयन हुन्छ । नाम सार्वजनिक भयो भने झन गाह्रो हुन्छ, कृपया हाम्रो नाम सार्वजनिक नगरी दिनुहोला ।
(कुटाइ खाने चिकित्सक सुरक्षाका कारण चिकित्सकको अनुरोधमा नाम सार्वजनिक गरिएको छैन ।)