काठमाडौं—स्वयम्भुस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका बिरामीको मृत्युपछि क्षतिपूर्तिको माग गर्दै बिरामीका आफन्तले प्रदर्शन सुरु गरेका छन् । मंगलबार विहान सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धादिङका तारा लामिछानेको उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतक लामिछाने सोही अस्पताल कार्यरत कर्मचारी (ड्राइभर) समेत हुन् । उनी घरायसी कामको सिलसिलामा घर पुगेर फर्कने क्रममा धादिङमा सोमबार राति दुर्घटना परेर गम्भीर घाइते भएका थिए ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. एन शर्माले गम्भीर सडक दुर्घटनामा परेर सक अवस्थामा लामिछानेलाई ढिलो अस्पताल पुर्याइएको जानकारी दिए । ‘उहाँ (लामिछाने) हाम्रै अस्पतालको कर्मचारी हुनुहुन्छ, काम विशेषले घर जानुभएको रहेछ,’ उनले भने, ‘फर्कदा सोमबार राति गम्भीर दुर्घटनामा पर्नुभएछ । उहाँलाई अस्पतालमा ल्याउँदा ६ घण्टाभन्दा बढी समय भइसकेको थियो ।’
डा. शर्माकाअनुसार अस्पताल पुर्याउँदा लामिछानेको गम्भीर हेड इन्जुरी थियो भने करङ (रिब्स) २४ वटा हड्डी भाच्चिएर फोक्सोमा क्षति पुगेको थियो । ‘उहाँको गम्भीर हेड इन्जुरी थियो, चेष्टमा २४ वटा करङ (रिब्स) भ्याच्चिएर फोक्सोमा क्षति पुगेको थियो,’ उनले थपे, ‘यस्तो अवस्थामा सकमा आएको बिरामीलाई संसारका जहाँ भएपनि बचाउने सकिने सम्भावना एकदम कम हुन्छ । अस्पताल ल्याउन पनि निकै ढिलो भइसकेको थियो ।’ उनले यस्तो अवस्थामा बिरामीलाई आधा घण्टामा अस्पताल पुर्याइसक्नुपर्नेमा ६ घण्टापछि ल्याइ पुर्याइएको थियो।
जसका कारण अस्पतालले घाइते लामिछानेलाई बचाउन नसकेको उनले जानकारी दिए । तर, मृतकका आफन्तले भने अस्पतालमा डाक्टर आएर समयमा उपचार सुरु नगरेको लगायतका कारण देखाउँदैं क्षतिपूर्ति माग गरेर प्रदर्शन सुरु गरेका छन् ।
डा. शर्माले भने बिरामीका आफन्तभन्दा पनि बाहिरका मानिसहरु आएर प्रदर्शन गरिरहेको बताए ।