काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी एवं निजी अस्पतालहरुमा जडान भएका मेडिकल उपकरणहरुको अध्ययन गर्ने भएको छ । २७ चैतमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले देशभरका सरकारी एवं निजी अस्पतालहरुमा जडान भएका मेडिकल उपकरणहरुको विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्न दुई जनालाई जिम्मेवारी दिएको छ ।
समितिमा वीर अस्पतालका मेडिकल फिजिसिष्ट डा. कञ्चनप्रसाद अधिकारी र वीर अस्पतालकै रेडियोलोजिष्ट डा. हरिओम जोशी छन् । उनीहरुलाई देशभरका सरकारी एवं निजी अस्पतालहरुमा जडान भएका एमआरआई मेसिन, सिटी स्क्यान मेसिन, क्याथ ल्याब मेसिन, पेट स्क्यान मेसिनलगायतका उपकरण सम्बन्धमा स्थलगत अनुगमन गरेर १० दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्न भनिएको छ ।
डा. अधिकारी र डा. जोशीलाई ती मेसिनहरुको प्रयोग एवं गुणस्तरको अवस्था, विकिरणको क्षेत्रमा काम गर्ने जनशक्तिले विकिरण निगरानी उपकरण प्रयोग गरे/नगरेको, उपकरणलाई नियमित परीक्षण गरे/नगरेको अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।
यसैगरी, एक्स—रे, सिटी स्क्यानलगायतका विकिरण उत्सर्जन गर्ने कोठाको वरिपरी मापदण्डअनुसार विकिरण सर्वेक्षण गरे/नगरेको, विकिरणबाट बिरामी एवं कर्मचारी सुरक्षित राख्नका लागि के कस्ता सुरक्षा उपायहरु अवलम्बन गरिएको छ भन्ने अध्ययन गर्न भनिएको छ । साथै, अन्य सुझावहरु पनि दिन भनिएको छ ।