जुम्ला—जिल्ला अस्पताल हुम्लामा विशेषज्ञ चिकित्सकको अभाव भएपछि जटिल अवस्थामा रहेकी सर्केगाड गाउँपालिका–३ उनापानीकी २६ वर्षीया पुष्पा डिसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
सुत्केरी व्यथाले च्यापेपछि असोज १४ गते साँझ जिल्ला अस्पताल ल्याइएकी डिसीको स्वास्थ्य अवस्था जटिलता देखिएपछि असोज १५ गते साँझ हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराले बताइन् । उनका अनुसार गर्भमा रहेको शिशुले पेटभित्रै दिसा गरेपछि अवस्था थप जटिल बनेको थियो ।
सम्भावित शल्यक्रियाका लागि बेहोस बनाउने चिकित्सक आवश्यक पर्ने भए पनि जिल्ला अस्पतालमा उक्त जनशक्ति उपलब्ध नभएकाले उपचारमा समस्या भएको डिसीका पति जगत फडेराले बताए । आवश्यक उपचार जिल्ला अस्पतालमै उपलब्ध हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट सुर्खेत पठाइएको हो ।
हुम्लामा विशेषज्ञ चिकित्सकको अभावका कारण जटिल अवस्थाका गर्भवती तथा सुत्केरीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था रहेको छ । अस्पताल प्रशासनका अनुसार बेहोस बनाउने चिकित्सक केही दिनभित्र जिल्ला बाहिरबाट आउने तयारीमा छन् । चिकित्सक आएपछि शल्यक्रियालगायतका सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
दुर्गम हिमाली जिल्लामा प्रसूति सेवाका लागि आवश्यक दक्ष जनशक्ति र उपकरणको अभावका कारण जटिल अवस्थामा रहेका महिलालाई समयमै उपचार उपलब्ध गराउन चुनौती देखिएको छ । स्थानीयले गर्भवती तथा सुत्केरीको जीवनरक्षाका लागि विशेषज्ञ चिकित्सकसहित आवश्यक स्वास्थ्य जनशक्तिको नियमित व्यवस्थापन गर्न माग गरेका छन् ।