२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमका जनप्रतिनिधीमा बिरामी बोक्ने एम्बुलेन्स होइन्, डोजर मोह

सुदूरपश्चिमका जनप्रतिनिधीमा बिरामी बोक्ने एम्बुलेन्स होइन्, डोजर मोह


कैलाली —बाजुराको स्वामी कात्तिक गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएकै वर्ष डोजर खरिद गरेको थियो । एक करोड १८ लाख खर्च गर्दै दुई वर्ष अगाडि नै डोजर खरिद गरेको गाउँपालिकासँग अहिले पनि एम्बुलेन्स छैन् ।

एम्बुलेन्स नभएकै कारण गम्भीर प्रकृतिका बिरामी एवं प्रसुती महिलाले पनि सार्वजनिक सवारी साधनकै प्रयोग गरी अस्पताल धाउनुपर्ने बाध्यता छ ।

गाउँपालिकाका अध्यक्ष चिरन्जिवी शाहीले पालिकामा सडक सञ्जाल नपुगेका कारण डोजरलाई पहिलो प्राथमिकतामा राखेर खरिद गरिएको बताए । ‘गाउँपालिकाको आन्तरिक रकमसमेत बाहिर नजाओस भन्ने उद्देश्यले पनि हामीले पहिलो वर्षमै डोजर हालेका हौं,’ शाहीले भने ।

कर्णाली नदीमा पुल नभएका कारण एम्बुलेन्स प्राथमिकतामा पर्न नसकेको उनी बताउँछन् । ‘हामीले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यसो हुँदा पनि सडक नै विकास निर्माणको मुख्य आधार भएका कारण डोजर खरिद ग¥यौं,’ उनी भन्छन् ।

डोटीको केआईसिंह गाउँपालिकाले पनि जनप्रतिनिधि आएकै वर्ष डोजर खरिद गरेको छ । तर, गाउँपालिकासँग एम्बुलेन्स सेवा छैन् । चालु वर्षमा समेत एम्बुलेन्स खरिदको कुनै योजना पालिकाले बनाएको छैन् । गाउँपालिकाकी उपाध्यक्ष मीनादेवी विष्टले पहिलो वर्षमै डोजर खरिद गरेपनि एम्बुलेन्स नभएको बताइन् ।

एम्बुलेन्स सेवाको अभावमा समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा ज्यान गुमाउने बाध्यतामा स्थानीयवासी भएका बेला स्थानीय पालिकाले भने करोडौं खर्च गर्दै खरिद गरिएको डोजरले मापदण्ड विपरित ज्यानमारा सडक निर्माणको कामलाई तीव्रता दिएका छन् ।

स्वामी कात्तिक र केआईसिंह गाउँपालिका मात्र नभएर सुदूर पहाडका अन्य जिल्लाका स्थानीय तहले पनि डोजर खरिदलाई नै प्राथमिकतामा राखेको देखिन्छ । बैतडीको पञ्चेश्वर गाउँपालिकामा पनि जनप्रतिनिधि आएकै वर्ष डोजर खरिद गरिएपनि एम्बुलेन्स सेवा विस्तारको कुनै योजना छैन् ।

यद्यपी अहिले प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेको एम्बुलेन्स प्रयोगमा ल्याइसकेको खरिद गर्नु नपर्ने दावी गरिएको छ । पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले तत्कालीन समयमा गाउँपालिका सडक सञ्जालसँग नजोडिएका कारण डोजर प्राथमिकतामा परेको दावी गरिन् ।

बैतडीकै पाटन नगरपालिकाले पनि एम्बुलेन्स सेवाको कुनै योजना बनाएको छैन् । गाउँपालिकाले अहिले पूरानै एम्बुलेन्सले काम चलाइरहेपनि थोत्रो भैसकेकाले फेर्नुपर्ने आवश्यकता महसुस गरेको छ तर त्यसका लागि दाता खोज्नुपर्ने मुडमा नगरपालिका देखिएको छ ।

पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले नयाँ एम्बुलेन्स खरिद गर्नुपर्ने भएपनि बजेट अभावले समस्या भएको दावी गरे । उनले कुनै दाता जुटेमा खरिद गरिने बताए । तर, अनियमित र मापदण्ड विपरितका काममा वर्षेनी ठूलो बजेट खर्च गरिरहेका स्थानीय तहले इच्छा शक्ति नभएकै नागरिकलाई अति आवश्यक सेवा नपाएको गुनासो गरिएको छ ।

खासगरी पालिका आफैले बजेट व्यवस्थापन गर्न सक्ने भएपनि आनाकानी गरिएको छ । स्थानीय तहहरु स्वास्थ्य सेवा व्यवस्थापनमा गम्भीर नबन्दा समस्या भएको महसुस पनि गरिन थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओम जोशीले एम्बुलेन्स नभै नहुने सेवा भएको बताए ।

उनले स्थानीय तहहरुले पनि बजेट व्यवस्थापन गरी खरिद गर्न सक्ने भएपनि इच्छाशक्ति र तत्परता देखाउन आवश्यक भएको जनाए । सुदूर पहाडमा एम्बुलेन्स सेवाको अभावकै कारण कतिपय बिरामीले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता अहिले पनि कायम छ । हुन त पालिकाहरुले स्वास्थ्य संस्थाहरुका लागि आवश्यक पर्ने समान्य औषधिको समेत व्यवस्थापन गर्न नसकेको आरोप लाग्दै आएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ