२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?

डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ?


महिनावारी महिला स्वास्थ्यको एक महत्वपूर्ण पक्ष हो । एक उमेर आउँछ, जब महिलामा हरेक महिना मासिक धर्म हुने गर्छ । यो एक प्राकृतिक प्रक्रिया हो, जसबाट हरेक महिलामा प्रजनन क्षमता विकासको चरण सुरुवात हुन्छ । यति मात्र नभएर केही महिला वा किशोरीलाई महिनावारीको समय अति दुख्ने, उच्च रक्तस्राव र अन्य समस्याहरु देखिन्छ । तर, के तपाईलाई थाहा छ वास्तवमा महिनावारी किन हुन्छ ? के हो महिनावारी ? आउनुहोस् यसबारे केही चर्चा गरौं ।

बाल्यावस्थाबाट किशोरी अवस्थामा प्रवेश गर्दा हरेक किशोरीमा महिनावारी प्रक्रिया सुरु हुन्छ । यो महिलामा स्वतः देखिने एउटा परिवर्तन पनि हो । महिनावारीले महिलालाई गर्भाधारण गर्न अथवा आमा बन्नको लागि परिपक्व बनाउँछ । हाम्रो दिमागमा एउटा पिट्युटरी ग्रन्थी हुन्छ । जसबाट निस्किने हार्मोनले पाठेघर भनिने हाम्रो डिम्बाशय र आमाशयमा असर गर्दछ । यही हर्मोनको कारणले गर्दा पाठेघरमा तीन पत्र बन्छन् । जसभित्र भएको पत्रलाई इनोमेटियमु भनिन्छ ।

सोही पत्रभित्र भएको कोषहरु बढ्दै जाँदा गर्भमा बच्चा रहेको खण्डमा भ्रुणलाई विकसित हुनको लागि अनुकूल वातावरण सिर्जना गर्दछ । महिलाले सधै बच्चा धारण नगर्ने भएकाले त्यस्तो बेलामा बढेको पत्रबाट कोषिकाहरु छुट्टिदै जान्छ र यो छुट्टिने क्रममा बग्ने रगत नै महिनावारी हुँदा बग्ने रगत हो ।

महिला वा किशोरीमा महिनावारी सम्बन्धि देखिने समस्याहरुः

  • नियमित रुपमा महिनावारी नहुनु
  • उच्च रक्तश्राव हुनु,
  • ढाड र पेट दुख्नु,
  • मानसिक तनाव,
  • डिप्रेशनमा जाने,
  • स्तन बढ्ने र दुख्ने ।

महिनावारी नियमित नहुनुको कारण

महिनावारी सामान्यतयाः ११ देखि १६ वर्षको उमेरबाट सुरु हुन्छ । र, यो सुरुको अबस्थामा हाम्रो जुन दिमागमा हुने पिट्युटरी ग्रन्थीको राम्रोसँग विकास भएको हुँदैन । जसकारणले गर्दा सुरुको केही वर्ष महिनावारी समयमा नहुने, महिना÷महिनामा नहुने हुनसक्छ, त्यसलाई सामान्य रुपमा लिन सकिन्छ ।

तर, १८ वर्ष पूरा भएपछि पनि महिनावारी गडबड भएमा भने शरीरमा कुनै हर्मोनको गडबडीले गर्दा अथवा डिम्बासय पाठेघर वा अरु कुनै समस्याले गर्दा पनि यस्तो भएको हुनसक्छ । यस्तो बेलामा भने स्वास्थ्य संस्थामा जाँचहरु गराएर समाधान खोज्नु उपयुक्त हुन्छ ।

मानसिक तनाव तथा शारीरिक दुखाइबाट छुटकारा पाउने उपाय

महिनावारी हुँदा एकै किसिमले सही मात्रामा मात्र रगत बग्ने भन्ने हुँदैन कसै—कसैलाई धेरै रगत बग्ने हुनसक्छ । फलस्वरुपः कमजोरी हुने, शरीरमा रगतको मात्रा कम हुने, थकान महसुस हुने हुन्छ । त्यसैले महिनावारीको बेला पोषिला खानेकुरा अन्य समयमा भन्दा बढी खान आवश्यक हुन्छ । साथै पानिको मात्रा र सरसफाइमा पनि त्यतिकै ध्यान पु¥याउनुपर्ने हुन्छ ।

महिनावारीको समयमा के गर्ने ? के नगर्ने?

१. पोषणयुक्त खानेकुरा खाने/मसालेदार खानाबाट टाढै रहने

२. लगातार एउटै प्याडको प्रयोग नगर्ने/४ देखि ६ घण्टाको अन्तरमा भिजे पनि नभिजे पनि प्याड फेर्ने

३. जुन पायो त्यही कपडाको प्रयोग नगर्ने/प्याडको विकल्पमा नरम सुतीको कपडा प्रयोग गर्न सकिएतापनि उक्त कपडा मनतातो पानी र साबुनले धोएर घाममा सुकाएर मात्र प्रयोग गर्ने ।

४. सुत्नुअघि जहिले पनि नयाँ टाला फेरेर सुत्ने र प्रत्येक ३ देखि चार महिनामा फालेर नयाँ टाला बनाउने

५. हरेक दिन नुहाउने

६. एउटै भित्रीवस्त्रको प्रयोग लामो समयसम्म नगर्ने/आफ्ना दैनिक लुगाहरु फेर्ने

७. अल्छी नगर्ने/उचित र आवश्यक सरसफाइमा ध्यान दिनुका साथै सुरक्षित स्थानमा बस्ने ।

८. यस समयमा हुने शारीरिक एवं मानसिक समस्याबाट छुटकारा पाउनका निम्ति पोषिला खानाका साथै ढाड, कम्मर आदिको दुखाइ कम गर्न घरेलु उपाय तातो पानीले सेक्दा पीडाबाट राहत पाउन सकिन्छ ।

९. रगत धेरै बग्यो भने रक्तअल्पता, एनिमिया हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

१०. पोषिला खानेकुरा अन्य समयमा भन्दा बढी खाने र परिवारसँग समय बिताउने

यसबाहेक सामान्य रुपमा २ देखि ७ दिनको अवधिमा २० देखि ८० एमएलसम्म रगत बग्ने हुँदा यस समयमा किशोरी र महिलालाई उचित स्याहार र खानेकुराको आवश्यकता पर्छ । यस्तै, कतिपयमा शारिरीक समस्याका साथै मानसिक समस्या पनि देखिने हुँदा यस समयमा परिवारको साथ सहयोग निकै जरुरी हुन्छ ।

तसर्थ, उनीहरुको स्वास्थ्यको ख्याल गर्दै उनीहरुलाई भावनात्मक ढाडस दिएर, उनीरुले गर्ने घरायसी र खेतीबारीको काममा सहभागी भएर परिवारका सदस्यले सहयोग गर्नुपर्छ । यस्तै, महिनावारीका बेला महिलालाई मायाको आवश्यक पनि पर्ने हुँदा श्रीमान् अथवा घरपरिवार सबैले माया र सद्भाव दिनुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य
ट्याग : #डा. सजिप्ता पन्त, #महिला तथा प्रसुती रोग विशेषज्ञ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ