२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्यूनतम सेवा मापदण्डमा १७ जिल्ला अस्पताल फेल, ६ अति कमजोर

न्यूनतम सेवा मापदण्डमा १७ जिल्ला अस्पताल फेल, ६ अति कमजोर


काठमाडौं—देशभरका ८४ जिल्ला अस्पतालहरुले दिने न्यूनतम सेवा मापदण्डमा १७ अस्पताल फेल भएको पाइएको छ भने ६ अस्पताल अति कमजोर देखिएका छन् । समग्र मुल्यांकनको ३८ प्रतिशतभन्दा कम नम्बर पाउने अस्पतालको संख्या ६ रहेको छ ।

ती अस्पतालहरुमा मलंगवा अस्पताल, पाल्पा अस्पताल, लमही अस्पताल, गौर अस्पताल, इनरुवा अस्पताल र रंगेली अस्पताल रहेका छन् । परीक्षामा उनीहरुले न्यूनतम सेवासमेत दिन नसकेको देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा गरेको अध्ययनले ८४ अस्पतालहरुमै न्यूनतम सेवा नभएको पाइएको थियो । जसमा कीर्तिपुरको एक अस्पतालले भने छलफल नै बहिस्कार गरेको थियो । सबै अस्पतालहरुले ४८ प्रतिशत मात्रै नम्बर पाएका थिए ।

तर, दोस्रो र तेस्रो अध्ययनमा १७ अस्पताल मात्रै न्यूनतम सेवा मापदण्डमा कमजोर सावित भएका छन् । मन्त्रालयले विभिन्न आठ शीर्षकमा २ सय ९० प्रश्न बनाएर जम्मा ३ सय ५० पूर्णाङ्कको परीक्षा लिएको थियो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रुपमा दिने उद्धेश्यले उनीहरुको क्षमता मुल्यांकन गर्न यस्तो परीक्षा लिएको मन्त्रालयले जनाएको छ ।

१७ जिल्ला अस्पतालले भने १७५ नम्बर मात्रै ल्याउन सफल भएका छन् । ती अस्पतालहरुले दिएको सेवा ठिक छ भन्नका लागि कम्तिमा पनि ८० प्रतिशत अर्थात २८० नम्बर ल्याउनु पर्छ । त्यस्तै ५८ अस्पतालहरु पनि कमजोर देखिएका छन् । तर, ती अस्पतालहरुले दिने सेवा सुधारिदै गएको मन्त्रालयले जनाएको छ । १९ अस्पतालले भने ८० प्रतिशत माथि नम्बर ल्याएका छन् ।

त्यस्तैः ९० प्रतिशत बढी अर्थात ३१५ नम्बर ल्याउनेमा सिन्धुली अस्पताल, दैलेख अस्पताल, गुलरिया अस्पताल, मातृ शिशु मितेरी अस्पताल रहेका छन् । जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डको मुल्याङ्कन सकेको स्वास्थ्य मन्त्रालयले केन्द्रीय अस्पतालको पनि परिक्षा लिदैछ । प्रारम्भिक अध्ययनअनुसार जिल्ला अस्पतालभन्दा केन्द्रीय अस्पताल झन कमजोर देखिएका छन् । मन्त्रालयका नीति योजना तथा अनुगमन शाखा प्रमुख डा. विकास देवकोटा न्यूनतम सेवा मापदण्डमा जिल्ला अस्पतालभन्दा पनि केन्द्रिय अस्पताल कमजोर रहेको बताए । ‘सुरुवाती अनुगमन भन्दा अहिले जिल्ला अस्पतालको नतिजा सुधार भएको छ,’ उनले भने, ‘तैपनि, ६ वटा अस्पताल भने अझै कमजोर छन् ।’

जिल्ला अस्पतालहरु प्राथमिक अस्पतालका दर्जामा छन् । त्यहाँ कम्तिमा मेडिकल जेनरलिष्ट वा मेडिकल अधिकृतको नेतृत्वमा रहनेछ । सामान्यतः १५ शैय्याको तर जनसंख्याको आधारमा ५० शैय्यासम्म हुन सक्नेछ । जिल्ला अस्पतालबाट सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्रीरोग तथा प्रसुती, बाल तथा शिशु सेवा दिनुपर्ने हुन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ