२०८१ कात्तिक ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएमए निर्वाचनः प्यानलवाइज भोटिङ भएन, मतदान आँकलनभन्दा आधा कम

एनएमए निर्वाचनः प्यानलवाइज भोटिङ भएन, मतदान आँकलनभन्दा आधा कम


काठमाडौं–नेपाल चिकित्सक संघ (एनएमए)को कार्यकारिणी समितिको निर्वाचनमा दोस्रो चरणको मतदानको दोस्रो दिन सबैभन्दा बढी मत खस्ने आँकलन गरिएको थियो । उम्मेदवार तथा र्वतमान कार्यकारिणी समितिका पदाधिकारीहरु पनि त्यही आशामा थिए । तर, शनिबार विदाको दिन परेको भएपनि सोचेजस्तो मत नखसेको वर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ बताउँछन् ।

‘हामीले आज १ हजार ५ सयभन्दा बढी मत खस्ने आँकलन गरेका थियौं,’ उनी भन्छन्, ‘तर झण्डै आधा मात्र खस्यो ।’ संघका अध्यक्ष श्रेष्ठका अनुसार उपत्यकामा ६ हजार बढी सदस्य रहेका छन् । तिनीहरुमध्ये ४ हजारले मतदान गर्ने आशा गरिएको उनको भनाइ छ ।

दोस्रो चरणअन्तर्गतको काठमाडौंमा शुक्रबारबाट सुरु भएको मतदानमा पहिलो दिन ३ सय २६ मत खसेको थियो भने शनिबार ८ सय ३० मत खसेको छ । पहिलो र दोस्रो दिनको मतदानको अनुपात हेर्दा ५ सयभन्दा केही बढी मतदान भएको छ । यहि अनुपातमा अबका तीन दिनमा मत खसे अब १ हजार ५ सय देखि १ हजार ८ सय मत खस्न सक्नेछ । यस हिसाबले उपत्यकामा २ हजार ७ सयदेखि ३ हजारसम्म मत खस्न सक्ने अनुमान गरिएको छ ।

उपत्यकामा सोचेअनुसारको मतदान नहुनुमा एकै ठाउँमा मात्र मतदान केन्द्र रहनु प्रमुख कारण रहेको अघिल्लो पटक प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका डा. रमेश ढकाल बताउँछन् । ‘हामीले कम्तीमा उपत्यकाका ठूला अस्पतालहरुमा मतदान केन्द्र राखांै भनेका थियौं, उहाँहरुले मान्नुभएन्,’ उनी भन्छन्, ‘चिकित्सकहरु अस्पतालमै व्यस्त हुन्छन्, लामो समय लाइनमा बसेर भोट हाल्न रुचाउँदैनन् । धेरै ठाउँमा मतदानस्थल भएको भए धेरै भोट खस्ने सम्भावना हुन्थ्यो ।’ उनको यो कुरालाई शनिबार मतदान गर्न संघको कार्यलय पुगेर लाइन देखेर फर्किएका चिकित्सकको संख्याले पनि पुष्टी गर्छ ।

उपत्यकामा कम मतदान हुँदा कुन समुहलाई असर गर्छ त ? ‘उपत्यकामा जति कम मतदान भयो त्यति लोकतान्त्रिक समुहलाइ असर गर्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘अझै तीन दिन बाँकी छ, अहिल्यै आँकलन गर्न गाह्रो छ ।’

कस्तो छ मतदानको अनुपात

उपत्यकाबाहिर खसेको २८ सय मतमा मिश्रित मतदान भएको जानकारहरु बताउँछन् । उपत्यकाको दुई दिनका मतदाताको मनस्थिती पनि त्यो भन्दा फरक नभएको वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष डा. ढुण्डीराज पौडेल बताउँछन् । ‘यसपटक उपत्यका बाहिरको प्याटर्न हेर्दा कुनै एक प्यानल नै आउने सम्भावना कम छ,’ उनी भन्छन्, ‘धेरैले व्यक्ति हेरेर मतदान गरेका छन् ।’

अध्यक्ष श्रेष्ठकाे पनि अधिल्ला निर्वाचनभन्दा यस पटकको निर्वाचनमा युवा मतदाता बढेका कारण प्यानलभन्दा व्यक्ति हेरेर मतदान गर्नेको प्रतिशत बढ्न सक्ने ठम्ययाई छ । ‘सबैले त भन्न सक्दिन युवा मतदाताले चाहिँ एउटै प्यानलमा भोट गर्छन भन्ने लाग्दैन ।’

प्यानलवाइज मतदान नहुँदा फाइदा कसलाई ?

अध्यक्षमा दुई जना उम्मेदवार भएका कारण प्यानलवाइज या क्रस भोटिङले त्यति खासै असर देखिदैन । वर्तमान अध्यक्ष श्रेष्ठकै शब्दमा पनि अध्यक्षका लागि मानिसले अगाडि नै मनस्थिती बनाइसकेको हुन्छ तर अन्य पदका लागि भने फरक पर्न जान्छ ।
प्यानलवाइज भोट नजादा अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिवमा भने स्पष्ट फरक पर्ने देखिन्छ । किनकी दुई महासचिव प्यानलबाट छन् भने दुई स्वतन्त्र उम्मेदवार छन् । यी चारमा भोट बाँडिदा कसले जित्छ भन्ने यकिन गर्न गाह्रो रहेको छ ।
तथापि, उपत्यका बाहिर कुनै मतदान केन्द्रमा लोकतान्त्रिक प्यानलका डा. बद्री रिजाल अगाडि र कुनै स्थानमा पेशागत समावेसीका डा. मधुर बस्नेत अगाडि भएको अनुमान गरिएको छ । १६ मतदान केन्द्रमध्ये अधिकांस मतदान केन्द्रबाट स्वतन्त्र उम्मेदवार डा. दिपेन्द्र पाण्डेलाई दोस्रो मत आएको आँकलन गरिएको छ । यस हिसाबले तीन जानबीच कडा प्रतिस्पर्धा देखिन्छ ।
उपत्यकामा शुक्रबार र शनिबारकै अनुपातमा व्यक्ति केन्द्रीत मत अबका तीन दिन पनि निरन्तरता रहेमा महासचिवमा प्यानलका दुवै उमेदवारलाई भन्दा स्वतन्त्र उमेदवार डा. पाण्डेलाई फाइदा पुग्न सक्ने देखिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ