२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययुवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन्

युवा नर्स कन्चनको फरक बाटोः जो प्रजनन स्वास्थ्य सचेतनामा रमाइरहेकी छन्


झट्ट हेर्दा मोडलजस्तै देखिन्छन्—कन्चन गौतम । तर, २५ वर्षीया उनी पेशाले नर्स हुन् । यी नर्स अस्पतालका बिरामीहरुको सेवामामात्रै सिमित छैनन्, उनको सेवाको दायर अलि फराकिलो छ । अस्पतालका वार्डहरुभन्दा पर गाउँमा प्रजनन स्वास्थ्य समस्या भोगिरहेका महिलाका पीडाहरुले उनलाई बेस्सरी चिमोटेको छ ।

त्यही कारण यी सुन्दरी नर्स ७ वर्षयता पढाइ र जागिरसँगसँगै ग्रामीण क्षेत्रका महिलाहरुमा प्रजनन स्वास्थ्य शिक्षा दिन खटिइरहेकी छन् । उनको अर्को सुन्दर काम बालबालिकालाई निःशुल्क शिक्षा दिने हो । अहिलेको नयाँ पुस्ताका धेरै युवाहरु उच्च शिक्षापछि विदेश ताक्छन् । त्यसको ठिक विपरित कन्चनले भने स्वदेशमै रहेर ग्रामीण क्षेत्रका महिलाहरुमाझ प्रजनन स्वास्थ्य सचेतना जगाउने र ग्रामीण क्षेत्रमा सेवा दिने सोच बनाएकी छन् ।

भन्छिन्, ‘भविष्यमा ग्रामीण महिलाको प्रजनन स्वास्थ्य र आधारभूत आवश्यकताबाट बन्चित बालबालिकाका लागि एउटा संगठन खोल्ने योजना बनाइरहेको छु । त्यसमार्फत यो फिल्डमा काम गर्ने सपना छ ।’ सामान्य प्रसुती कसरी गराउने, रक्तश्राप बढी भएर ज्यान नै जाने समस्यालाई कसरी कम गर्ने, सुत्केरी आमाको ज्यान कसरी जोगाउने, प्रसुतीको समयमा हुने जटिलता कसरी कम गर्ने भन्नेबारेमा नर्सिङ कर्मचारीलाई स्वास्थ्य चौकीमा पुगेर शिक्षा दिने र क्षमता अभिवृद्धि काममा उनी सक्रिय छन् ।

दैलेख नारायण नगरपालिकामा वि.स. २०५२ सालमा जन्मिएकी हुन्–कन्चन । बुबा कुशल गौतम र आमा सरस्वती गौतमका दुई सन्तानमध्ये उनी जेठी हुन् । उनकी आमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)की नर्सिङ डिन हुन् । उनका बुवाको आफ्नै पब्लिकेसन्स छ ।

काठमाडौंमै शिक्षादीक्षा हासिल गरेकी उनले रोजवर्ड स्कुलबाट वि.सं. वि.सं. २०६७ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन् । आमाबाटै नर्सिङ पेशाप्रति प्रभावित भएकी उनी त्यसपछि पिसिएल नर्सिङ पढ्नका लागि बालुवाटारस्थित गुणराज पाठक कलेजमा भर्ना भइन् । ‘म आफ्नो आमाबाट नर्सिङ पढ्न प्रेरित भएकी हुँ,’ रुकुमपश्चिमबाट हेल्थआवाजसँगको कुराकानीमा उनले भनिन्, ‘पछि आफैलाई पनि यस क्षेत्रमा रुचि जाग्यो ।’ पिसिएल नर्सिङ पास गरेपछि उनले अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल र सिद्धार्थ अस्पतालमा सेवा गरिन् ।

त्यसपछि उनी ब्याचलर इन नर्सिङ (बीएन) पढ्न थालिन् । मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेजबाट वि.सं. २०७५ मा उनले बीएन सकिन् । बीएनपछि केही समय ह्याम्स अस्पतालमा बिरामीको सेवामा बिताइन् । माष्टर्स इन क्लिनिकल साइकोलोजी तेस्रो सेमेष्टरकी विद्यार्थी उनी अहिले सेभ द चिल्ड्रेनबाट रुकुममा काम गरिरहेकी छन् ।

अस्पतालका वार्डहरुमा बिरामी सेवामा रमाइरहेकी कन्चनलाई के कारणले महिलाको प्रजनन स्वास्थ्यतिर ध्यान गयो । ‘नर्सिङ पढेदेखि नै मलाई महिलालाई प्रजनन स्वास्थ्यमा निकै रुचि थियो । रुचिको विषय भएर पनि लागेको हुँ,’ उनले सुनाइन्, ‘बच्चा जन्माउने क्रममा कति महिलाहरुको मृत्यु भैरहेको हुन्छ । यसमा कसरी आफ्नो योगदान दिन सकिन्छ भनेर म सोच्ने गर्थे । पछि व्यक्तिगत र आफू आवद्ध संस्थामार्फत पनि यसमा काम गरिरहेकी छु ।’ कञ्चनले रुकुम, नुवाकोटलगायतका जिल्लामा यो काम गरिसकेकी छन् ।

 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ