२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यसामाजिक सञ्जालको लत रक्सी र धुम्रपान जत्तिकै खतरनाक : बालबालिकामा पनि बढ्दै डिप्रेसन

सामाजिक सञ्जालको लत रक्सी र धुम्रपान जत्तिकै खतरनाक : बालबालिकामा पनि बढ्दै डिप्रेसन


रिल्स–भिडियोहरू हेर्ने होस् वा साथीहरूसँग सम्पर्कमा रहने होस्, सामाजिक सञ्जाल आजको समयमा हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तथ्यांक अनुसार १३ देखि ४७ वर्ष उमेर समूहका मानिसहरु सामाजिक सञ्जालमा दिनको औसत ३–४ घण्टा बिताउँछन् ।

स्वास्थ्य विशेषज्ञहरूले यो बानीलाई धेरै अवस्थामा स्वास्थ्यका लागि निकै हानिकारक मान्दै आएका छन्, विशेषगरी बालबालिकामा यो बढ्दो लत निकै गम्भीर हुनसक्छ ।

सामाजिक सञ्जालको लतले बालबालिकाको मानसिक विकासमा असर गरिरहेको र उनीहरुमा डिप्रेसन, चिन्ता र नकारात्मक भावना बढ्दै गएको दाबी केही रिपोर्टले गरेको छ । स्वास्थ्य विज्ञहरू भन्छन्, यो रक्सी र धुम्रपान जत्तिकै हानिकारक छ, यसमा सबै उमेरका मानिसले गम्भीर ध्यान दिन जरुरी छ ।

बालबालिकामा बढ्दो सामाजिक सञ्जालको लत र यसको साइड इफेक्टलाई ध्यानमा राख्दै अमेरिकाको एक विद्यालयले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा मुद्दा दायर गरेको छ । विद्यालयले उजुरी पत्रमा यी कम्पनीले बालबालिकालाई व्यवस्थित रूपमा पीडित बनाएको बताएको छ । बालबालिकामा यो बानी भइसकेको छ, जसका कारण धेरै किसिमका शारीरिक तथा मानसिक दुष्प्रभाव देखिन थालेका छन् ।

विद्यालयले सामाजिक सञ्जालमा मुद्दा दायर गरेको हो
न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार अमेरिकाको सिएटल पब्लिक स्कूलले सामाजिक सञ्जाललाई ’मानसिक स्वास्थ्य संकट’ भन्दै धेरै सामाजिक सञ्जाल कम्पनीहरूमाथि मुद्दा दायर गरेको छ ।

उजुरीमा भनिएको छ– सामाजिक सञ्जाल बालबालिकाको मानसिक विकासमा ठूलो बाधक बन्दै गएको छ ।बालबालिकालाई पढाइमा रुचि छैन र उनीहरुको व्यवहारमा पनि अनौठो परिवर्तन देखिन थालेको छ ।

बालबालिकाले दुर्व्यवहार गर्छन्, मनोवृत्ति जिद्दी भएको छ र यसले उमेरसँगै मानसिक विकासमा पनि असर गरिरहेको छ । यसको जिम्मेवारी कसले लिने ? यसका कारण बालबालिकामा तनाव, चिन्ता र डिप्रेसनका घटनाहरू पनि तीव्र गतिमा बढिरहेका छन् ।

बालबालिकामा निराशाको भावना बढ्दै गएको छ
विद्यालयले आफ्नो गुनासोमा सन् २००९ देखि २०१९ को बीचमा निराश र निरुत्साहित हुने बालबालिकाको संख्यामा ३० प्रतिशतले वृद्धि भएको बताएको छ । यी कम्पनीहरूले विशेष गरी बालबालिकालाई आकर्षित गर्ने सामग्री प्रसारण गर्छन्, जसले उनीहरूको हेराइको समय बढाउँछ, तर अन्यथा यसले बालबालिकामा लतको रूप लिइरहेको छ, जसले मानसिक स्वास्थ्यमा नकारात्मक असर गरिरहेको छ ।

विद्यालयले केटाकेटीमा देखिएका असामान्य व्यवहारमा आएको परिवर्तनलाई ध्यानमा राख्दै आफ्नो पाठ्यक्रम परिमार्जन गर्नुपरेको भन्दै सामाजिक सञ्जालका दुष्प्रभावलाई पनि विषयको रुपमा समावेश गरिएको बताएको छ ।

मानसिक स्वास्थ्यमा अध्ययन
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा ६९% वयस्क र ८१% किशोरहरूले सामाजिक सञ्जाल प्रयोग गर्छन् । यस्ता व्यक्तिको अधिकांश समय सामाजिक सञ्जालमा मात्रै बित्ने गर्छ । जसका कारण अस्पतालमा चिन्तित, दुःखी वा बिरामी हुनेको संख्या बढ्दै गएको छ । २०१५ को सामान्य ज्ञान सर्वेक्षणले किशोरहरूले दिनमा नौ घण्टासम्म अनलाइन खोजीमा खर्च गरिरहेका छन् भन्ने कुरा पत्ता लगायो ।

२०१७ को एक अध्ययनमा क्यानाडाली अनुसन्धानकर्ताहरूले प्रति दिन दुई घण्टा भन्दा बढी सोशल मिडिया प्रयोग गर्ने विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य विकारहरू, विशेष गरी चिन्ता–डिप्रेसनको उच्च जोखिम हुन सक्ने पत्ता लगायो । सामाजिक सञ्जालको अत्याधिक प्रयोगले बालबालिकाको दिमाग पनि खुम्चिरहेको छ ।

मनोचिकित्सक भन्छन्, बालबालिकामा बढ्दो सामाजिक सञ्जालको लत रक्सी र धुम्रपान जत्तिकै हानिकारक छ । यसले मानसिक विकासमा मात्रै असर गर्दैन, यसको कारण सानै उमेरमा डिप्रेसनका बिरामी पनि बढिरहेका छन् । बालबालिकामा असामान्य व्यवहारमा परिवर्तन देखिन थालेको छ, बालबालिकामा चिडचिडापन, रिस उठ्ने, उदासी हुने, काममा रुचि नलाग्ने जस्ता गुनासो बढ्दै गएका छन् ।

यसबाहेक सामाजिक सञ्जाल/मोबाइलको अत्याधिक प्रयोगका कारण निद्रामा पनि असर परिरहेको छ । बालबालिकामा पर्याप्त निद्रा नपुग्दा डिप्रेसन र स्मरणशक्तिसम्बन्धी समस्या बढ्दै गएको छ ।

आमाबाबु विशेष ध्यान दिनुपर्छ
डा. सत्यकान्त भन्छन्, बालबालिकाले सामाजिक सञ्जाल÷मोबाइलमा कम समय बिताउने कुरा प्रत्येक अभिभावकले सुनिश्चित गर्नु आवश्यक छ । तर, यसका लागि पहिला आफ्नो बानी सुधार्नुपर्छ ।बच्चाले देख्ने सामग्रीको प्रकारले उसको मानसिक अवस्था र व्यवहारमा प्रत्यक्ष प्रभाव पार्छ ।

बढ्दो सामाजिक सञ्जाल लतले अप्रत्यक्ष रूपमा स्क्रिनको समय बढाउँछ, यी दुवै मानसिक र शारीरिक स्वास्थ्यको लागि चुनौतीपूर्ण समस्याहरू हुन् । सबै उमेरका मानिसले मोबाइलको लत नबनोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ