२०८२ जेठ ३१, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला

फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला


पछिल्लो समय छिमेकी देश भारतमा कोभिड—१९ का केसहरु बढी देखिइरहेका छन् । त्यससँगै नेपालमा पनि छिटफूट रुपमा कोभिड–१९ का केसहरु देखिन थालेका छन् ।

जब कोभिड–१९ को महामारी संसारभर फैैलिएको थियो । त्यो बेलाको एउटा कमाण्डरको हैसियतमा मैले पनि काम गर्ने मौका पाएको थिए । कोभिड–१९ का बारेमा विश्व नै वेखवर भएको वेलामा विना हतियारको लडाकु भएर काम गर्नु परेको थियो ।

एकातिर अज्ञात भाइरससँग लड्नु त थियो नै अर्कोतर्फ समाजिक मनोवृत्तिसँग प्रत्यक्ष लड्नै पर्ने अवस्था थियो । यस्तो महासंकटको समयमा एउटा सामाजिक मनोवृत्तिसँग कसरी जुधियो भन्ने कुरा पुनः स्मरण गर्न खोज्दैंछु ।

भारतमा कोभिड–१९ का केसहरु बढिरहेका खबरहरु आइरहँदा म आज फेरि झस्किएँ । त्यो एउटा विपनाले सपनाझै सतायो मलाई । कुरा कोभिड–१९ को बेलाको हो । जब म लमजुङमा मैले नेतृत्व गरेको कोभिड–१९ अस्पतालमा काम गर्थें ।

मलगायत मेरा साथीहरुले त्यहाँ धेरै बिरामीहरू बचायौं । एक दिनको कुरा हो— साँझ करिब ६ बजेतिर एक जना बिरामी श्वास फेर्न गाह्रो भएर आउनुभयो । उहाँलाई रक्सी सेवन गर्ने बानी थियो सायद । उहाँसँग एक जना नातेदार पनि आउनुभएको थियो । टेस्ट गर्दा उहाँलाई कोभिड–१९ पोजिटिभ देखियो ।

भर्ना हुन इन्कार गर्दै हुनुहुन्थ्यो । तर, अन्ततः उहाँलाई कोभिड वार्डमा भर्ना गरियो । राति करिब १० बजे म आफ्नै क्वार्टरमा थिएँ । फोन आयो— ‘डाक्टर एक जना बिरामीको हृदयगति र अक्सिजन स्याचुरेसन कम भयो ।’ मैले ‘इसिजी गर्दै गर्नु’ भनेर निर्देशन दिए । र, करिब २–३ मिनेटमा अस्पताल पुगें । पीपीई लगाएर भित्र छिर्दा बिरामीको जिसिएस ३ थियो । मलगायत मेरो टिमले सिपिआर गर्यौं ।

मेरो मास्क झरिसकेको थियो । पीपीई निथु्रक्क पसिनाले भिजेको थियो । पानी नखाई, प्यारामेडिक्सको सहयोगमा निरन्तर प्रयास गर्यौं । बचाउन सकेनौं । उहाँको परिवारको खोजी गर्दा कोही थिएनन् । त्यसपछि प्रहरी प्रमुख, नेपाली सेनाका जिल्ला प्रमुखलाई फोन गरेर जानकारी दिएँ ।

परिवारलाई खबर गरेपछि केहीबेरमै आउनुभयो । रुवावासी सुरु भयो । अस्पताल र हामी मेडिकल टिमलाई दोष दिन थाल्नुभयो । प्रहरीलाई क्वार्टर बाहिर राखेर हामी भित्र बस्नुपरेको थियो । त्यसपछि त गाउँ नै उल्टियो, आक्रोशित स्थानीय नेता र सबै जना आएँ । सिसिटिभी फुटेज देखाउनू भन्दैं स्थानीयहरु आक्रोश पोख्न थाले ।

हामी (स्वास्थ्यकर्मी)ले मारेको भन्ने आरोप लाग्न थाल्यो । खैलाबैला भयो । धन्न मलगायत मेरो टिम जोगियौं । कोभिड–१९ को बेला यस्तो पनि झेल्नुप¥यो । म र मेरो टिम आफैं कोभिड–१९ भाइरससँग एक्स्पोज भयौं । तर, कसैले देखेन, भगवानले देख्नुभयो । हामीलाई केही भएन् । नेपालमा यस्तो महामारीमा काम गर्न कति गाह्रो थियो—झन अरू बेला के होला ! डाक्टर र मेडिकल प्रोफेसनलको बारेमा कसैले सोच्दैन् ।

यहाँ मैले किन यो प्रसंग जोडिरहेको छु भने त्यो बेला कोभिड–१९ को महासंकटकालमा चिकित्सक, स्वास्थ्यकर्मीहरुले कस्ता—कस्ता परिस्थितीको सामना गर्नुपरेको थियो । अबका दिनमा चिकित्सक, नर्स स्वास्थ्यकर्मी कसैले पनि यो अवस्था भोग्नु नपरोस् भन्ने चाहना हो । साथै, सरकारले यस्तो समयका लागि पूर्व तयारी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सुरक्षाका लागि पनि बेलैमा सचेत हुनुपर्छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ