२०८२ साउन १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यजर्मनीको स्वास्थ्य सेवा क्षेत्रमा भएको ठगीले २०२४ मा जर्मन बिमा कम्पनी केकेएचलाई ५.४ मिलियन युरोको रेकर्ड नोक्सानी

जर्मनीको स्वास्थ्य सेवा क्षेत्रमा भएको ठगीले २०२४ मा जर्मन बिमा कम्पनी केकेएचलाई ५.४ मिलियन युरोको रेकर्ड नोक्सानी


बर्लिन—जर्मनीको स्वास्थ्य सेवा क्षेत्रमा भएको ठगीका कारण देशव्यापी स्वास्थ्य बीमा प्रदायक Kaufmännische Krankenkasse (केकेएच)ले २०२४ मा ५.४ मिलियन युरो (अन्दाजी ६.३ मिलियन डलर) को रेकर्ड क्षति व्यहोर्नुपरेको छ । बुधबार कम्पनीले सो जानकारी दिएको हो।

यो रकम २०२३ को करिब ३.५ मिलियन युरोको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो । बिमा कम्पनीका अनुसार सबैभन्दा ठूलो नोक्सानी आउटपेसन्ट (बाह्य) सेवा प्रदायकहरूबाट भएको हो, जसले मात्रै ४.१ मिलियन युरोभन्दा बढीको ठगी दाबी गरेका थिए।

केकेएचले २०२४ मा ४७९ नयाँ शंकास्पद ठगीको रिपोर्ट पाएको जनाएको छ, जसमा २७० घरमै हेरचाह सेवा, ६२ फिजियोथेरापी अभ्यास र २१ डाक्टरका क्लिनिकसँग सम्बन्धित थिए।

सामान्य ठगीका तरिकाहरूमा कहिल्यै नदिइएका सेवाहरूको बिलिङ, अयोग्य कर्मचारी नियुक्ति र कानुनी अनुमति बिना सेवा सञ्चालन गरिनु समावेश छन्।

‘यी गैरकानुनी रूपमा प्राप्त रकमहरू बिमित व्यक्तिहरूको हेरचाह र उपचारमा खर्चिनुपर्ने थिए र यसले स्वास्थ्य बीमा प्रिमियमलाई समेत असर गर्न सक्छ,’ केकेएचका प्रमुख अनुसन्धानकर्ता एमिल पेन्कोवले भने। उनले अप्रशिक्षित कर्मचारीहरूद्वारा संवेदनशील बिरामीको हेरचाहजस्ता जीवन जोखिमयुक्त घटनाहरू पनि देखा परेको चेतावनी दिए।

फार्मेसीसँग सम्बन्धित ठगीले केकेएचलाई करिब ५ लाख युरोको नोक्सानी पुर्‍यायो भने अस्पतालहरूबाट आएको क्षति करिब ३६५,००० युरो थियो। बीमा कम्पनीले आधा मिलियन युरोभन्दा बढी रकम फिर्ता लिन सफल भएको थियो।

ठगी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन पेन्कोवले जर्मनीभर विशेष अनुसन्धान युनिटहरू स्थापना गर्न र बिमा कम्पनीहरूको बिलिङ डाटामा शंकास्पद ढाँचाहरू पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्न आह्वान गरेको छ ।

-जर्मन न्यूज सर्विसबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ