२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यफ्रन्टलाइनर बहिनी डा. नीराका नाममा

फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा


प्रिय बहिनी डा. नीरा

तिम्रा बारेमा सेतोपाटीमा छापिएको त्यो लेख मैले पूरा पढ्न सकिनँ । मलाई माफ गर । तिमीलाई मैले चिनेको लगभग दस वर्ष भइसकेछ । मेरो विवाहको एकदिन अगाडि बुटवलको त्यो कसैले पनि कल्पना नगरेको घटनामा तिम्रो दिदी भिनाजुको आफ्नै पसलमा गोली हानिएर मृत्यु भएको पनि दश वर्ष भएछ । उनैका ती अबोध छोराहरू हुर्काएर फेरी तिम्रै छोरीको पनि रेखदेख गर्नुभएका तिम्रा बाबाआमालाई पनि नमन गर्छु । आज यो कोरोनाको कहरमा तिमी सम्बन्धी लेख पढ्दा यिनै घटना फेरी मष्तिस्कमा आए ।

तिम्रा र मेरा पारिवारीक र व्यवसायिक पृष्ठभूमी एउटै छ । एमडी अध्ययन गर्दैगर्दा एक बच्चाको आमाको पनि जिम्मेवारी लिनुपरेको बेलामा हाम्रा समस्या कति मिल्थे । म त नवलपरासीमा जन्मिएपनि यही भरतपुरमै हुर्किएँ । मेरा बाबा चार पटक भरतपुर अस्पतालको प्रमुख भएर काम गर्दा मैले एम्बीबीएस र एमडी यही पढेँ । पहिलो छोरा आरभराज नेपालको अन्नप्रासनपछि मात्र भरतपुरको आवास छोडेर बाहिर बसेका थियौं हामी । यस्तो हुर्केको, चिनेको जानेको ठाउँमै खटाइएर यही भरतपुरको कोरोना विशेष अस्पतालमा काम गर्न त मलाई यति गाह्रो भयो भने छोरी टाढा माइतीमा राखेर रोगको बीचमा खटिन पर्दा तिमीलाई कस्तो भएको होला !

स्वाब संकलन गर्दै डा. नीरा

अस्पतालका सबै डराएर तालिम लिन जान नमानेपछि तिमी गएकी रहिछौ । आफै पीपीई लगाउँदै फिल्डमा दिनहुँ दुई सयभन्दा धेरै स्वाब निकाल्दै परीक्षणका लागि काठमाडौं पठाउने काम पनि सामान्य होइन । विस्तारै वीरगंजको नारायणी अस्पतालमा परीक्षणको सेवा सुरु गरेपछि त स्वाब निकाल्ने मात्र नभएर त्यसलाई प्रोसेसिङ गर्ने, परीक्षण पनि गर्ने र नतिजा दिने काम झन् कति चुनौतीपूर्ण थियो तिमीलाई । एक्लै यो काम सम्हालेकी तिमीलाई जति धन्यवाद दिएपनि कम हुन्छ । रोगको प्रकृतिअनुसार त एउटा टोलीले काम गरेपछि दुई हप्ता क्वारेन्टाइनमा बस्दै अर्को टोलीले काम गर्ने हो तर सिमित जनशक्तिमा यो नियम धेरै कम ठाउँमा मात्र पालना भएको देखिन्छ ।

डरकै कारणले र जिम्मेवारीबोध नभएर कयौँ जनशक्ति त देखिँदैनन् पनि । खै त तिमीले क्वारेन्टाइन भनेर विश्राम लिँदै छोरीसँग कुरा गर्न पाएकी ? यस्तै अवस्था हाम्रोमा पनि छ । हाम्रै ल्याबका चीनकाजी महर्जन दाइ जस्ता अन्य कर्मचारी पनि स्वाब निकालेर कहिले परीक्षणका लागि हेटौंडा कहिले टेकु दौडिन परेको थियो । प्रयोगशालाको स्थापना यही भरतपुरमै भएपछि पनि दिनरात त्यही बिताएका प्रदिप हमाललगायतका सहकर्मीले कति गुन लगाउनुभयो । अहिले पनि तिमीजस्तै दिनमा १६ १७ घण्टा प्रयोगशालामै खटिने कयौं साथीहरू नेपालभरी छन् ।

मलाई त यहाँ सहयोग गर्ने हातहरू धेरै छन् । माथि नै भने आफ्नै माइतीघर, आफ्नै ठाउँ छ । बाबाआमा र बहिनीहरूको साथ सँगै छ । छोराछोरीसँग खेल्न नपाएपनि हेर्न पाउँछु । अस्पतालको गेटबाट छिर्दै गर्दाबाट नै सहयोग गर्ने सुरक्षाकर्मी अमर कुँवरजी र उहाँको टिम छ । राति राति एक्लै नहिड्नु बरु हामीलाई बोलाउनु भनेर उहाँहरूले गाली गर्दाको आफ्नोपन लेखेर शब्दमा आउँदैन । गार्ड दिदीहरू सोनी, सविता र सफाइ कर्मचारी दिदीहरूले आफ्नो घरभन्दा बढी अस्पताललाई माया गर्नुहुन्छ । सामान बोक्ने सुमन दाइ र दिपेन्द्र दाइको सद्भाव छ । यति हुँदापनि भीटीएम र पंखा अनि पानी र बिरामीका लागि खाना खाजाको व्यवस्थापनमै मलाई भएका तनाव सम्झिँदा तिमीसँग प्रत्यक्ष भेटघाट नभएपनि तिम्रो याद आइरहन्छ ।

काम गर्ने क्रममा आत्तिन हुँदैन रहेछ । यो कालो बादल छिट्टै फाट्ने छ । तिमीजस्ता ल्याबका सहकर्मी साथीहरूले पत्ता लगाएका संक्रमितलाई उपचार गरेर घर पठाउन पाउँदा यस्तो आनन्दको अनुभूति भयो । नानीहरूले पुण्य हुने काम गर्नुभएको छ, हामी तपाईंलाई आशीर्वाद दिन्छौं भन्दै उहाँहरु हाँस्दै घर जाँदा यी सबै तनाव बिर्सियो । अहिले त हाम्रो अस्पतालका सबै क्वारेन्टाइनमा छौं । अस्पताल दूषणरहित बनाउने, त्यहाँका औजार उपकरण निर्मलीकरण गर्ने र प्राविधिक तथा पूर्वाधारका समस्या समाधान गर्ने कार्य हुँदैछ । क्वारेन्टाइनको अवधिपछि फेरी अस्पतालमै खटिन हामी तयारै छौं ।

स्वास्थ्यकर्मीको सेवा सुविधा बढाउने भन्दै गरिएका चर्का भाषण दिनहुँ सुन्नपरेको छ । हौसला दिने र भत्ता दिनेजस्ता गफ पनि सुनेकै हो । फेरी जो बिरामीको नजिक एकपटक पनि परेको छैन, उसलाई नै चाहिन्छ यस्ता कुरा धेरै । अहिले त तिमी र मलाई चाहिएको सुरक्षा सामग्री हो, तनावरहित काम गर्ने वातावरण हो, अग्रजको हतोत्साही व्यवहार नभएर उहाँहरूको अभिभावकत्व र संरक्षण हो । यो रोगको शीघ्र नियन्त्रण र संक्रमित व्यक्ति रोगमुक्त भएर घर जाने वातावरण हो । परिवारसँग, छोराछोरीसँग समय बिताउने अवस्था कहिले आउला भनेर दिन गनिरहेका छौं ।

डा. शान्ति वाणगङ्गा ११ कपिलवस्तुकी हुन् । उनी अहिले भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत छन् ।

डा. नीरा पाठक वीरगञ्ज महानगरपालिकामा रहेको नारायणी अस्पतालकी प्रमुख प्याथोलोजिष्ट हुन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ