२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’

‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’


पुष्पराज खनाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार हुन् । उनी अहिले सरकारले गठन गरेको कोभिड—१९ ल्याव व्यवस्थापन समितिमा रहेर काम गरिरहेका छन् । तीन महिनाअघि पहिलो केस देखिंदा पुनः पुष्टीका लागि हङकङ पठाउनुपर्ने बाध्यताकाबीच अहिले देशभर १५ वटा आरटी पीसीआर ल्याब सञ्चालनमा आएका छन् । ल्याब सन्चालनमा र व्यवस्थापनमा देशभर सक्रिय रहेका खनालसँग हेल्थआवाजले गरेको कुराकानीः

अहिलेसम्म पीसीआर ल्याब कति वटा स्थापना भए ?
हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)गायत काठमाडौंभित्र र बाहिर गरेर १५ वटा फङसनिङ छ । १५ वटाबाट भने चाहिँ मज्जाले काम भैरहेको छ ।

काठमाडौंमा कतिवटा र काठमाडौं बाहिर भने कतिवटा ल्याब रहेका छन् ?
काठमाडौंमा जस्तै एनपीएचएल, वीर, शुक्रराज ट्रपिकल अस्पताल, पाटन र धुलिखेल गरेर ५ वटा अस्पतालहरु फङसनिङमा छन् र चलिरहेका छन् । पाइप लाइनमा त्रिवि शिक्षण अस्पतालको पनि यस प्रोसेसमा रहेको छ । काठमाडौंबाहिर पनि पहिले थोरै भोलुममा गर्ने पीसीआरहरु थिए । अहिले हामीले पीसीआरको भोलुम पनि बढाएका छौं । धरान, विराटनगर, जनकपुर, हेटौडा, चितवन, सुर्खेत, नेपालगञ्ज, भैरहवा र पोखरामा सुरु भइसकेका छन् । चाडै नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट पनि सुरु गर्ने तयारी भएका छन् । यस्तै, वीरगञ्जमा पनि साथीहरु पुगिसक्नुभएको छ । र, भैरहवाको पनि ठूलो संख्यामा हाई भोलुममा सुरु गर्न मेसिन पनि पुगिसक्यो र त्यहाँ कामहरु भइरहेको छ ।

तीन महिनाअघि नेपालमा देखिएको पहिलो केस कन्फर्म गर्न हङकङ पठाएको थियो । त्यसपछिका धेरै केस भेटिदासम्म पनि एउटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै जाँच हुँदै थियो । पछिल्ला दुई हप्तामा यतिधेरै ठाउँबाट कसरी पिसिआर परिक्षण नै सुरु भयो ?
यो खासगरी इच्छाशक्ति पनि हो । एनपीएचएलले त्यहि काम गरिरहनुभयो । पहिले केस देखिएर अन्य केस लामो समयसम्म नदेखिंदा सबैजना त्यही नै केन्द्रीकृत भएर काम भएको थियो । सबै सोच र मेहनत र श्रम एनपीएचएल मात्र भयो । केस बढ्दै जाँदा नेपाल सरकारको नीति तथा सम्मानीय स्वास्थ्यमन्त्रीको सोच र निर्देशनअनुसार, अब नेपालको अन्य ठाउँमा पनि बढाउनुपर्छ भनेर एनपीएचएललाई हामीले गएर अनुरोध गर्‍यौ र उहाँहरुले स्वीकार पनि गर्नुभयो । स्वीकार गरेको चार घण्टामा हामी ५० जना भाइरोलोजिष्ट अर्थात् कोभिडजस्तै अन्य भाइरसहरु सम्बन्धि काम गरेको एक्सपर्टहरु जुटाएर छलफल गर्‍यौ । त्यो छलफलबाट आवश्यक वस्तुहरुको लिष्ट बनाएर काम गर्न सकिने कुरा पेश गर्‍यौ । मुख्य कुरा भनेको रियल टाइम पीसीआर र बायोसेफ्टी ल्याव हो । यो दुईटा कुरा भयो भने हामीले पढेको विषय हो काम गर्न सकिन्छ भन्ने निष्कर्ष आयो ।

त्यसपछि हामीले रियल टाइम पीसीआर (आरटी पीसीआर) मेसिन कहाँ कहाँ छ भन्ने कुरा खोज्यौ । खोज्दै जाँदा झण्डै तीन दर्जन नै रहेछन् । विशेष गरी रिसर्च, भेटनरी, वर्डफ्लु तथा अन्य कामको लागि यहाँ पहिलेनै यस्ता मेसिन ल्याइएको रहेछ । ती नेपालमा भएका मेसिनहरु कहाँ–कहाँ छन् भनेर हामीले पत्ता लगायौ । यसपछि यो मेसिनलाई यो सेटअपमा काम गर्न मिल्छ भनेर हामी पूर्वदेखि पश्चिमसम्म छुट्टिएर हामी टिम–टिममा दगुर्‍यौ । काममा लागेपछि साथीहरुको यति मेहनत भयो कि रातदिनको मेहनतले भएको ठाउँलाई अझै ‘वेल–इक्वीप्ट’ गरेर मेसिनका लागि आवश्यक अरु चीजहरु हामीले जम्मा ग¥यौ । र, यो काम गर्नलाई नेपाल सरकारले पूर्ण सहयोग पनि ग¥यो । नेपाल सरकारको सबै पदाधिकारीहरुले तपाईहरुलाई के चाहिन्छ हामी सहयोग गर्छाै भन्ने कुरा गर्नुभयो । संघबाट केन्द्रको हकमा, प्रदेशमा प्रदेश सरकार र स्थानीयमा स्थानीय सरकारमार्फत पनि सहयोग भयो । हामीले आवश्यक परेका भनिएका सामाग्रीहरु १ घण्टाभित्र नै उपलब्ध गराइदिनुभयो । हामीले पनि युद्धस्तरमा गएर सेफ्टी प्रिकसनहरु अपनाएर टेस्ट सञ्चालन गर्न सक्षम बनायौ । त्यसबीचमा हाम्रो के छलफल रह्यो भने अब दायरा र संख्या पनि बढाउनुपर्छ । तसर्थ, हामी इन्टर एक्सपर्टहरुको सरसल्लाहबाट दायरा बढाउनेतर्फ हामी लागिरहेका छौ र धेरै ठाउँमा हामी सफल पनि भएका छौ । र, यो सबै गर्नका निम्ति स्वास्थ्य मन्त्रालयले १० जनाको ‘कोभिड–सल्लाहकार समिति’ बनाएको छ म त्यसको सदस्य पनि हुँ । त्यस समितिले अन्य विज्ञहरुसँग पनि सल्लाह गरेर पनि यो सम्भव भयो ।

पीसीआर ल्याब अहिलेको अवस्थामा अति आवश्यक भएर संचालनमा ल्यायौ । कोभिड—१९ संक्रमण सकिएपछि के केका लागि प्रयोग हुन सक्छन् ?
तत्कालको लागि अहिले हामीले एक्सपर्ट्सहरु भोलिन्टेयरमा बाहिरबाट संलग्न भयौ, सबै एक्सपर्टहरुलाई अनुरोध गरेर उहाँहरुलाई लग्यौ । एक्सपर्टहहरु स्थायी कर्मचारीलाई केही समय तालिम दिन, सिकाउन तथा अहिलेको क्राइसिस मेनेज गर्नको लागि हो । तर, यसको निरन्तरता हुनुपर्छ भन्ने ध्येयले हामीले, नेपाल सरकार स्वास्थ्य मन्त्रालयको योग्य जनशक्तिलाई सबै ठाउँमा खोजेर उहाँहरुलाई युटिलाइज ग¥यौं । यो मेसिन हो यसमा कोभिडको टेस्ट गर्‍यौ भने यो कोभिड टेस्टको भयो र एचआईभीको गर्‍यौ भने एचआईभीको, हेपाटाइटिसको ग¥यौ भने हेपाटाइटिसको भयो । यी लगायत अन्य विभिन्न टेस्टहरु गर्न सकिन्छ । तसर्थ, यो एकदम राम्रो पक्ष पनि भएको छ । यदि यसका कमजोरीहरु भए अब यसलाई अझ राम्रो बनाउन पनि सकिन्छ । यसले एचआईभी, वर्डफ्लु, हैजा तथा अन्य ब्याक्टेरियल भाइरल रोगहरुको परीक्षण गर्न सकिन्छ । अर्थात् भाइरल डिजिज (जुनसुकै भाइरसबाट देखा पर्ने) रोग तथा अन्य रोग परीक्षण यसबाट गर्न सक्छौ । त्यसका साथै राज्यले नै यसलाई अब रिसर्च सेन्टरको रुपमा हाई लेभलमा स्थापना गरेर अगाडि बढाउन सकिन्छ ।

नेपाल सरकारले भोलिका दिनमा अब कति केससम्म एकै पटकमा पत्ता लगाउन सक्छौ?
तपाईले पनि देख्न सक्नुहुन्छ, भन्नमा त सबैले यति गर्नुपर्छ भनेर सबै जना विज्ञ बनेर बोलिरहनु भएको छ । तर, यथार्थमा अहिले हामीले फुल फ्लेजेट्मा गर्‍यौ । उक्त मेसिन र दक्षशक्तिको क्षमता हेर्ने हो भने अहिले हामी ३ हजार हाराहारीमा रियल टाइम पीसीआर गर्न सक्छौ । र, आरडिटी त जति पनि गर्न सक्छौ । आरडिटीको सम्बन्धमा हामीले के राम्रो भयो भने प्रत्येक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको मापन गरेर जनशक्तिलाई ठाउँ–ठाउँमा तालिम प्रदान भएको छ । आरडिटी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुले पनि गर्न सक्ने भएकाले भटाभट यो सम्भव भइरहेको छ ।

तपाईले भन्नु भएजस्तै तत्कालको आवश्यकता टार्न हामीले यसको प्रयोग गर्‍यौ । तर, अब यसलाई दिगो बनाउन भने हामीले के गर्नुपर्छ?
त्यो सजिलै गरी हुन्थ्यो भने अहिलेसम्म धेरै ठाउँ बनिसक्थे होला । प्रथम कुरा यो राज्यले त्यसको सञ्चालन गर्नुपर्छ । राज्यले भर्खरै मात्र स्वास्थ्य भन्ने कुरा कत्तिको महत्वपूर्ण रहेछ भनेर बुझेको छ । तसर्थ यसमा काम गर्ने धेरैभन्दा धेरै जनशक्ति चाहिन्छ । त्यसमा पनि तालिमप्राप्त जनशिक्तबाट विशिष्टीकरण गरेर विश्वव्यापी रुपमा सबैलाई मान्य हुनेगरी राज्यले मज्जाले गर्न सक्छ । सबै ठाउँमा नाफा भन्ने मात्र चीज मात्रै हुँदैन । सेवा भन्ने पनि हुन्छ र यो स्वास्थ्य क्षेत्रको अनिवार्यता पनि हो ।

यति चाडो एनपीएचएल बाहिर यति धेरै ठाउँबाट परिक्षण कसरी सम्भव भयो ?
यस्तो भयावह स्थितिमा सर्वप्रथम त हामी घरमा बस्यौ । हाम्रो आफ्नै एउटा सर्कल पनि छ । अहिले जुन र्‍यापिड एन्टिबडी टेस्ट भनिन्छ । हामीले बीचमा साथी सर्कलमा सल्लाह गर्‍यौ । होइन यसरी हुँदैन ल्याब बढाउनु पर्छ भन्ने कुरा भएपछि बाहिरबाट सहयोग गर्न सक्ने साथीहरु मिल्यौ । अनि एनपीएचएलमा स्वास्थ्यमन्त्रीज्यू र सचिवज्यूको अघि सबै कुरा राख्यौ । उक्त सल्लाहअनुसार एनपीचएल डाइरेक्टरले पनि मनन गर्नु भएर हामी सबै मिलि काममा लागिपर्‍यौ । हामी तथा हाम्रा प्रत्येक टिमले नडराइकन निरन्तर काम गर्‍यौ । बिना फाइदा, बिना पैसा ती सबै त्यागेर आफ्नो एक्पर्टटाइज यसबेला प्रदर्शन गर्नुपर्छ भनेर हामी अहोरात्र खटेर यो सम्भव भएको हो ।

दोस्रो कुरा सरकारको सहयोग हो । सरकारले तपाईहरु यो काम गर्नुस्, हामी पूर्ण रुपमा सहयोग गर्छु भनेर उहाँहरुले दिनुभएको आँटबाट नै यो सम्भव भएको हो । र, मन्त्रीज्यूको जुन सोच रह्यो त्यो सोचको कारणले पनि यो सम्भव भएको हो । किनकी त्यति सजिलो काम भएको भए अहिलेसम्म के–के भइसक्थ्यो होला । तर, हालसम्म यहाँ कसैको ध्यान गएको थिएन । मन्त्रीज्यूको निर्देशनअनुसार हामी पनि त्यसरी नै लागिप¥यौ । हामी प्रत्येक विज्ञ साथीहरु लाग्नुभयो र उहाँहरुको अहोरात्र खटाइले नै यो सब सम्भव भयो ।
तर, बाहिर जनमानसमा त यो एनएचपीएलमा बाहेक अन्य सम्भव छैन भन्ने थियो नि त ! होइन र?

हो, जनमानसमा सबैतिर यो अन्धविश्वास रहेछ । मन्त्रालय जाँदा मैले पनि सुनेको हो । स्वास्थ्य मन्त्रालयले यससँग सम्बन्धि सबैलाई राखेर छलफल गरेकाले पनि सम्भव भएको जस्तो लाग्छ । एनपिएचएलले पनि यसरी गर्नुपर्छ भन्ने सोच राखेको भए सजिलो हुन्थ्यो होला । तर, अहिले भने हामी आवश्यकता अनुसारको बाध्य पनि भयौ र त्यसैले पनि सम्भव भयो ।

काठमाडौ बाहिरका आरटी पीसीआरमा जाँच गर्दा पोजेटिभ आएका रिपोर्टहरु पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइरहँदा तिनीहरुको विश्वास्नियतामा आशंका गरिएको हो ?

यो प्रश्न एकदम जायज छ । हामी एकदम क्लियर छौ यस सन्दर्भमा । हामी टेस्ट गर्छाै र अन्त्यमा एनपीएचएल नै ल्याउँछौ । यो हामी तथा संसारकै एक प्रक्रिया हो । र, सोही प्रक्रियाअनुसार हामी छौ । किनभने सुरुमा एनपीएचएलबाट गरेको टेस्ट पनि हङकङ तथा सिंगापुर गएर भेरिफाई ग¥यौ । किनकी, कहिलेकाहीँ म के छु? र मैले गरेको काम ठिक छ कि छैन भनेर परीक्षण गर्ने आधार त चाहियो नि ! त्यसकारण पनि हाल नेपालभरि जति नि टेस्ट भएका छन् सुरुका केहि स्याम्पलहरुलाई क्रस चेक गरौ न त भन्ने हेतुले गरिएको हो । रिपोर्ट राम्रोका लागि हो । र, यो हामी अहिले पनि गर्छाेै । यो अमेरिकालगायत जसले पनि गर्छ । जति नै पनि केश छ त्यो सम्पूर्णको सुरुका स्याम्पलहरु हामी पुनः परीक्षण गर्छौ । किनकी हामीले गरेका ती हाम्रो सेटअपहरु हतारमै निर्माण गरिएको पनि त हो नि ! र, त्यसैमा कमीकमजोरी नहोस् भन्नका लागि हामी पुनः परीक्षण ग¥यौ र हाल त्यसको एकदम सकारात्मक प्रतिफल पनि आएको छ । त्यसकारण नियमित प्रोटोकल अन्र्तगत पनि हामी सुरुका केहि १०÷१५ वटा स्याम्पलहरु हामी टेस्ट गर्छाै ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ