२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारदादुरा–रुबेला खोप अभियान किन ?

दादुरा–रुबेला खोप अभियान किन ?


राष्ट्रिय खोप कार्यक्रमका मुख्य उद्देश्यहरु खोपबाट बचाउन सकिने रोग नियन्त्रण गर्नु तथा अपाङ्ता र मृत्युलाई कम गर्नु हो । प्रत्येक बालबालिकालाई पूर्ण खोप लगाएको सुनिश्चित गर्ने तथा खोपबाट बचाउन सकिने रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्ने कार्यलाई तीब्रता दिई दिगोपन कायम राख्ने यसका थप उद्देश्य हुन् । जसअनुसार सन् २०१० देखि पोलियो शुन्य अवस्था कायम भएकोलाई निरन्तरता दिई सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने, सन् २००५ देखि नवशिशु धनुष्टंकार रोग निवारण भएको अवस्थालाई कायम राख्ने र सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य रहेको छ ।

तथ्यांकअनुसार माथि उल्लेखित राष्ट्रिय खोप कार्यक्रमका मुख्य उद्देश्यहरु पूरा गर्न समुदायस्तरदेखि राष्ट्रियस्तरसम्ममा धेरै नै चुनौती रहेको छ । चुनौतीहरुमा जस्तै खोपको अपेक्षित पहुँच हासिल नहुनु, राष्ट्रियस्तरको तुलनामा प्रदेशमा, प्रदेशको तुलनामा जिल्लामा, जिल्लाहरुको तुलनामा स्थानीय तहमा तथा स्थानीय तहहरुको तुलनामा वडास्तरमा खोपको एक रुपता नहुनु, शून्य खोप र ड्रप–आउटको संख्या बढ्दै जानु, पूर्ण खोप दिगोपना कार्यक्रम प्रभावकारी नहुनु, महामारीहरु देखा परी रहनु तथा खोप खेर जाने दर उच्च हुनु रहेको छ ।

हालसम्म ७२ जिल्ला र ७ सय ३३ वटा स्थानीय तह पूर्ण खोप घोषणा भैसकेको भएपनि नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण, २०२२ अनुसार अझै पनि ४ प्रतिशत बालबालिकाहरुले कुनै पनि खोप लगाएका छैनन् । १६ प्रतिशत बालबालिकाहरु आंशिक खोपहरु लगाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार ५२ प्रतिशत बालबालिकाहरुले मात्र पूर्ण खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रममा नियमित दादुरा–रुबेला खोपको पहुँच लक्षित जनसंख्यामा कम्तिमा ९५ प्रतिशत हुनुपर्नेमा नेपाल त्यो लक्ष्य अझै पनि हासिल गर्न सकेको छैन । नियमित दादुरा–रुबेला खोपको पहुँच पनि सबै तहमा एक रुपता नहुनु, नियमित दादुरा–रुबेला खोप अभियान २०७६/७७ पछि गरिएको सर्वेक्षणअनुसार नियमित दादुरा–रुबेला खोपको पहुँच ८४ प्रतिशत मात्र देखिनु, सन् २०१९ को अन्त्यमा कोभिड–१९ को महामारी तथा विविध कारणहरुले गर्दा नियमित दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाहरुको संख्यामा वृद्धि भई आ.व. २०७९–८० मा दादुराको महामारी देखियो । २०७९ मंसिर ३ देखि २०८० पुष १५ सम्मको तथ्यांकलाई केलाउने हो भने नेपालको १९ जिल्लामा सो अवधिमा १ हजार ३ सय ४९ जना दादुराका बिरामीहरु रहेको देखाउँछ । दादुरा देखा परेका ती जिल्लाहरु मध्ये एक तिहाइभन्दा धेरै तराईका जिल्लाहरु रहेको देखिन्छ ।

दादुरा प्रभावित जिल्लाहरुमा बाँके सबैभन्दा धेरै प्रभावित जिल्ला रहेको देखिन्छ । बाँकेमा मात्रै सो अवधिमा ३ सय २९ जना दादुराका बिरामीहरु रहेको तथ्यांकले देखाउँछ । दादुरा महामारीमा संक्रमित व्यक्तिहरुमध्ये ७४ प्रतिशत ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेको तथ्यांकले देखाउँछ । दादुरा संक्रमित व्यक्तिहरुमध्ये दादुराको खोप नलगाएका २६ प्रतिशत, दादुराको खोप एक मात्रा लगाएको २३ प्रतिशत, दुई वा सो भन्दा बढी मात्रा लगाएका २१ प्रतिशत तथा दादुरा खोप लगाए नलगाएको थाहा नभएको ३० प्रतिशत रहेको देखिन्छ ।

माथि उल्लेखित तथ्यांकहरुलाई सम्बोधन गर्न तथा सन् २०२६ सम्ममा नेपालमा दादुरा, रुबेला रोग निवारण गर्नको लागि नेपाल सरकारले उच्च जोखिम भनेर तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्ला गरी २४ जिल्लाहरु पहिचान गरेको छ । ती जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमूनिका सबै बालबालिकाहरु तथा न्यून जोखिम भनी पहिचान गरिएका बाँकी ५१ जिल्लाहरुमा ९ महिनादेखि ५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई १३ फागुनदेखि ७ चैत्रभित्र सम्पन्न हुने गरी राष्ट्रियस्तरको दादुरा–रुबेला खोप अभियान २०८०–८१ संचालन गर्दैछ । यसअघि नै जाजरकोट र रुकुम–पश्चिम भूकम्पबाट बढी प्रभावित जिल्लाहरुको रुपमा पहिचान गरी ६ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकाहरुलाई लक्षित गरी ५ पुस २०८० देखि १४ पुस २०८० सम्म नेपाल सरकारले दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

त्यसैले आजै आफ्नो नजिकैको स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सम्पर्क राखे तपाईंको ठाउँमा कहिले दादुरा–रुबेला खोप अभियान संचालन हुँदैछ जानकारी लिई समयमै दादुरा, रुबेलाको खोप आफ्ना बालबालिकाहरुलाई नजिकैको खोप केन्द्रमा गई लगाऔं । आफ्नो वरिपरीका छरछिमेकीहरुलाई पनि लगाउनलाई खबर गरौं किनभने यो खोप विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट प्रमाणित धेरै सुरक्षित तथा प्रभावकारी छ । यसले तपाईंका बालबालिकाहरुलाई दादुरा र रुबेला रोग लाग्नबाट बचाउँछ, जुन रोग सामान्यतयाः ५ वर्षमुनिका बालबालिकाहरुलाई धेरै हुने गरेको छ ।

दादुरा संक्रमण भएमा छिट्टै फैलिएर महामारी हुन सक्छ । समयमा उपचार नपाएमा गम्भीर प्रकारका जटिलताहरु गराउनुका साथैं बिरामीको ज्यानसमेत जान सक्छ । रुबेला रोगको असरहरु दादुराभन्दा सामान्य प्रकारको भएपनि यो रोग गर्भावस्थामा लागेमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मने तथा गम्भीर प्रकारको जन्मजात विकलांगहरु देखा पर्न सक्छ ।

(चौधरी सहरी स्वास्थ्य केन्द्र २ नेपालगंज बाँकेका  जनस्वास्थ्य निरिक्षक तथा स्वास्थ्य संस्था प्रमुख हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ